बिजनेस ‘हेल्थ चेकअप’ कसरी गर्ने ?

बिजनेस ‘हेल्थ चेकअप’ कसरी गर्ने ?

मानिसको स्वास्थ्य चेकजाँच स्वास्थ्यकर्मी जा चिकित्सकहरूले गर्छन्। तर, बिजनेसको स्वास्थ्य चेकजाँच कसरी गर्ने ? मानिसको स्वास्थ्य चेकजाँच त्यससम्बन्धी ज्ञान भएको स्वास्थ्यकर्मी वा चिकित्सकले गर्छन् भने बिजनेस हेल्थ चेकअपका लागि पनि बिजनेससम्बन्धी ज्ञान भएका व्यक्तिले गर्न सक्छन्। 

सामान्यतया बिजनेस हेल्थ सही छ÷छैन ? के भएको छ ? के कुरा सुधार गर्नुपर्ने छ ? भन्ने कुरा जाँच्नका लागि लक्षणका आधारमा पहिचान गर्न सकिने यसका विज्ञहरू बताउँछन्। पुराना उद्योगी व्यावसायीलाई आफ्नो बिजनेसको ‘स्वास्थ्य अवस्था’को बारेमा केही हदसम्म जानकारी हुने भए पनि नव उद्यमीका लागि भने यो त्यति सहज छैन।

यसैलाई मध्यनजर गरेर बुटवल उद्योग वाणिज्य संघ रूपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र युवा उद्यमी मञ्च रूपन्देहीको सहकार्यमा बुटवलमा ‘नव उद्यमशाला’ बिजनेस इन्कुवेसन कार्यक्रम सञ्चालन गरिएको छ। 

युवालाई लक्षित गरेर उद्यमशीलताको विकासका माध्यमबाट आर्थिक सामाजिक क्षेत्रमा योगदानका लागि तयार पार्न नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिएको बुटवल उद्योग वाणिज्य संघमा अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए ।

‘चैतबाटै सुरु गर्ने तयारी गरिए पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण सरकारले गरेको लकडाउन अन्त्य भएसँगै असारको १५ देखि यो कार्यक्रम सञ्चालन गरिएको छ। ९ महिनासम्म सञ्चालन गरिने कार्यक्रममा बिजनेस सञ्चालन गर्दा आइपर्ने समस्या, समस्या समाधान गर्ने तौरतरिका, बजारको पहिचान लगायतका विषयमा तालिम तथा कार्यशाला सञ्चालन भइरहेको छ,’ उनले भने।

कार्यक्रममा सहभागी हुनका लागि २५ जना नव उद्यमीले आवेदन गरेका थिए। तीमध्ये १३ जनालाई छनौट गरिएको थियो। 

कार्यक्रमका प्रमुख साझेदार अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल सामान्य कुरामा ध्यान नदिँदा बिजनेसमा असफल भएको धेरै देखिएको बताउँदै त्यस्तै कुराहरू सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।

‘बिजनेसको सफलतासँग फाउण्डरको भिजन तथा मिसन, फाउण्डर–फाउण्डर बीचको अन्तरसम्बन्ध, ‘रुल अफ ल’ (ऐन कानुन तथा नियम), डकुमेन्टेसन लगायतका कुराहरूको अन्तरसम्बन्ध रहन्छ,’ उनले भने। 

त्यस्तै, उपभोक्ताको आवश्यकता, उपभोक्तासँगको सम्बन्ध, सम्बन्धित विषयमा ज्ञान, उत्पादित वस्तुको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने उनले जनाए। 

‘कतिपय ठाउँमा आफूले उपभोग गर्न र बिक्री गर्नका लागि समेत फरक–फरक उत्पादन गरेको पाइन्छ,’ उनले भने, ‘बिजनेसको ‘स्वास्थ्य’लाई दिगो बनाउने हो भने यस्ता कुराहरू सुधार गर्नुपर्छ।’

सामान्य जानकारी, व्यावसायिक मोडल, आन्तरिक प्रक्रियाको व्यवस्थापन, कानुनको पालना, मानव संशाधनको व्यवस्थापन, ग्राहकसँगको सम्बन्ध, लेखा तथा वित्तीय व्यवस्थापन, बिक्री व्यवस्थापन तथा कम्पनीप्रतिको विश्वसनीयता बिजनेस हेल्थ मापनका आधार भएको उनले जानकारी गराए।

‘बिजनेस हेल्थ’ कार्यक्रमभित्रको एउटा पार्ट हो। तर, बिजनेस र त्यसको हेल्थसँग भविष्यसमेत जोडिएको कारण यसलाई महत्त्वपूर्ण पाटोको रूपमा लिइन्छ। कार्यक्रममा तालिम तथा कार्यशाला मात्रै नभएर कार्यक्रमका साझेदार नवउद्यमीहरूलाई पूर्णरूपमा गाइड गर्नेसम्मको काम गरिने उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत तथा कार्यक्रमका फोकल पर्सन केशव ढकालले बताए।

यसका लागि प्राविधिक तथा औपचारिक ज्ञान भएका १८ जना मेन्टर्ससमेत छनौट गरिएको छ। उनीहरू (मेन्टर)ले हप्तैपिच्छे कार्यक्रमका प्रमुख साझेदार नवउद्यमी (मेन्ट्रि)लाई गाइड गरिरहेका छन्। ‘उनीहरूलाई कसरी सफल बनाउने भन्ने कुरालाई ध्यान दिइन्छ। मुख्य त यो कार्यक्रमको प्रमुख लक्ष्य फेलियर हुन नदिने नै हो,’ ढकालले भने।

मंसिर १५, २०७७ सोमबार ०६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।