ओझेलमा जेठी–बौरानी हिमाल र भीम घट्ट

ओझेलमा जेठी–बौरानी हिमाल र भीम घट्ट

जनताले तिरेको करमा मोजमस्ती गर्दै फस्का मारिरहेका (गफ चुटिरहेका, फाइफूर्ति लगाइरहेका) नेताहरु एकातिर छन्। अस्पतालको शय्या नपाएर मृत्युशय्यामा पुगेका आफन्तहरुको बिलौना अर्कातिर छ।

फूलहरु ओइलाइसके। केही वर्षयता एकाएक वनजंगल र पाखातिर देखापरेको वनमाराको आक्रमण कोरोनाको भन्दा कम देखिँदैन् गाउँघरतिर। हप्तादिन भैसक्यो झिग्रानास्थित दीपक खड्काको रिसोर्ट घुमेर फर्किएको। तर, झन्-झन् बढ्दै गइरहेछ याद। त्यो याद झिग्रानामा बसेर खप्तडका पाटन सम्झिएको अनि विगतका यात्राहरुले आलोपालो स्मृतिपटलमा धक्का मारिरहेको प्रमाण पनि हो। 
यसपटक होटेल व्यवसायी दीपक खड्काको प्रेमपूर्ण निम्तोलाई टार्न नसके पनि जुरेन साइत परेन संयोग खप्तड जाने।

हाल म बसिरहेको ठाउँबाट डाँडाहरुको पारि हिमालहरुको वारि बीचमा रहेको सुन्दर र रमणीय ठाउँ खप्तड यहाँबाट नदेखिए पनि देखिन्छन् ती अग्ला डाँडा र हिमालहरु। हात्तीजस्तै देखिने हात्ती डाँडो उस्तै छ। सैपालका चुचुराहरु उस्तै देखिन्छन्। बिस्तारै शीतको चपेटामा परेर क्षतविक्षत भैरहेका माकुराका जालीहरु जस्ता मनका जालीहरु झुलिरहेकै छन् । राति आकाशरुपी तलाउमा उत्रिएजस्ता टिलपिलाइरहेका ताराहरु। यी सबै दृश्यहरु एकएक गरेर आँखाअगाडि आइ पुगे झिग्रानाको यसपटकको बसाइमा। 

देउसराले बिहान उठ्नेबित्तिकै हात जोडेर नमस्कार गर्दै ढोग्ने गरेका जेठी–बौरानी (जेठाजु र भाइबुहारी) र सैपाल हिमालको तस्बिर नाचिरह्यो मनमा। विगतमा देउसराजस्ता कतिपय थुप्रै महिला पुरुषहरुले बिहान उठ्नेबित्तिकै हिमाललाई अनि घाम झुल्किने बित्तिकै सूर्यलाई नमस्कार गर्थे। साँझमा पुनः अस्ताउन थालेको सूर्यलाई नमस्कार गर्थे। टाढाबाट देखिने त्यो दृश्य प्रायजसो दिनहुँ गरिरहेकै हुन्छु दृष्टिपान। सम्झिरहन्छु आमाले भनेको एउटा वाक्य– ‘प्रभात (बिहान) को उदाएको सूर्य र साँझको अस्ताउन लागेको सूर्यलाई ढोग्द जनबिसरेइ (नबिर्सनू)।’

तर, मैले कहिल्यै गरिनँ आमाले भनेझैँ साँझ बिहानको सूर्यलाई नमस्कार। अचेल मनन् गरिरहन्छु– आमाका लागि सूर्य भगवान् थिए। जो कुरा मैले मानिनँ। भगवान् नमाने पनि ढोग्नु पर्ने रहेछ सूर्यलाई मनले मात्रै भए पनि। सूर्य जीवनको असली पाठ सिकाउने आदर्श पनि त रहेछन्। बिहान उठाउँदा शान्त शालिन मुद्रामा कलिला किरण बोकेर देखा पर्ने सूर्य साँझमा पनि उस्तै शान्त र शालीन ढंगले बिदा हुन्छन् पुनः भोलिपल्ट फर्किने वाचा गरेर। अहंकारविहीन मुस्कानपूर्ण चमकदार त्यो दृश्य हेर्न लालायित भैरहेकै छ मान्छे। आफू उदाउँदा र अस्ताउँदा सुन्दर तुल्याइदिन्छन् हिमाल पहाडहरुलाई पनि।

तिनै हिमालहरु हाम्रो अस्तित्वका पहिचान हुन् अनि हुन् स्वाभिमानका विश्वविद्यालय पनि। तिनै हिमालहरुले बचाएका छन् हाम्रो संस्कृति सभ्यता र जनजीवन। तिनै हिमालतिर नै त देखिन्छ सूर्यको पहिलो झुल्को पनि।  जेठी बौरानी हिमालको नाम सुन्दा सम्झनामा आइदिन्छ विगतमा सुनेको जेठीबौरानीसम्बन्धी मिथ। मिथमा भनिएको ठाउँ खप्तडका पाटनतिरै कतै छेउमा भेटिन्छ। दुनियाँमा थुप्रै मिथहरु चर्चामा छन्। तर, हाम्रा कतिपय मिथहरु ओझेलमै छन्। कतिपय बिलाएर गैसके पुराना बुढापाकाहरुसँगै। हामीले सकेनौँ ती मिथहरुको बारेमा सोच्नसम्म पनि। 

आदिमकालदेखि नै मान्छे जिन्दगी जिउने क्रममा धर्म संस्कृति चालचलन रीतिरिवाज सबैले बेरिएको छ। अनि बोकेको छ प्रतीकका रुपमा बग्दै गरेको लोक तथा पौराणिक कथाको भारी। पूर्वजका पालाका तिनै कथालाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै पनि गएको छ। लामो समयदेखि सुनिँदै आएका यिनै कथा, कहानी, वीर गाथाहरु, चरित्र चित्रणहरुलाई नै हामी मिथ भन्छौँ। तर इतिहासका सत्यतथ्य पाटाहरु मिथ हुन सक्दैनन्। त्यसभित्र समेटिएका कथा व्यथाहरु भने मिथका रुपमा देखापर्न सक्छन्। 

कथा भन्छ– सदियौंपहिले जेठी र बौरानी अर्थात् जेठाजु र भाइबुहारीका बीचमा प्रेम हुन गयो। गाउँ समाजमा जुन कुरा अहिले पनि पाच्य छैन त्यो कुरा सदियौंअघि हुन गयो। त्यो समयमा समाजले चाल पायो भने उसले छोएको पानी नचलाउनेदेखि गाउँबाट निष्कासित गर्नसमेत बेर लाग्दैनथ्यो। अहिलेको जसरी गाउँसमाज छोडेर बाहिर गई गुजारा चलाउन पनि सजिलो थिएन। तर, प्रेममा मान्छे अन्धो हुन्छ भनेझैँ माया प्रेम झाँगिदै गएपछि अरु कसैले चाल नपाउने सुरक्षित स्थान रोज्ने क्रममा दुवै खप्तडका पाटनबाट पनि दुईघण्टा टाढाको स्थानमा पुगी छेउमै रहेको निकै ठूलो ढुङ्गामा अडेस लगाई बसेछन्। दुवैले गफगाफ गर्दै अंकमाल गर्ने क्रममा चट्टानको टुप्पामा बसेको काग त्यो दृश्य देखेर कराएछ। कागले श्राप दिएछ– ‘खप्तडको यो पवित्र भूमिमा आई जेठी बौरानीको पवित्र सम्बन्धको समेत ख्याल नगरी यस्तो कार्य गर्ने तिमीहरुलाई कतै बाटो नमिलोस्।’

रिसको झोकमा ती दुईले पनि कागलाई सराप्दै भनेछन्– ‘कसैैले चाल नपाओस् भनेर यति टाढा यो सुनसान ठाउँमा त हामी पुगेका थियौँ। यहाँ पनि तैले पिछा गर्न छोडिनस्, अब तैले पनि गति नपाएस्।’

यसरी एक अर्काको श्रापले गर्दा ती दुईजना जेठाजु, बुहारी र काग गरी तीनैले त्यसै ठाउँमा प्राण त्याग गरे छन्। हाल पनि टाउको निहुराएर विपरीत दिशातिर फर्किएका महिला र पुरुषको आकृति बोकेको बडेमानको ढुङ्गोको शिरमा झुण्डिएको कागको आकृति समेत देख्न सकिन्छ। तर, खप्तड घुम्न जाने अघिकांश पर्यटकहरुलाई थाहा छैन यो ठाउँको बारेमा। हामीले चिनाउन सकेका छैनौ उक्त ठाउँलाई। जेठी बौरानी भन्नेबित्तिकै हिमाललाई मात्र सम्झिन्छन् सबैले। खप्तडबाट नजिक देखिए पनि टाढा नै रहेको यो हिमालको नाम कसरी जेठी बौरानी रहन गयो। त्यो पनि खुलाउन सकेका छैनौँ हामीले।

खप्तडमा भीम घट्ट भन्ने ठाउँ छ। महाभारत कालमा भीमले यहाँ घट्ट जोतेर अनाज पिसेको मिथ सुन्नमा आउँछ। बग्दै गरेको पानी नजिक पुगेर गहिरिएर कान थापी सुन्ने हो भने घट्ट घुमेको आवाज अहिले पनि प्रष्टसँग सुन्न सकिने कुरा सुनाउँछन् बझाङ्ग छान्ना निवासी प्रयागराज पाध्याय। त्यो ठाउँ डोटीबाट जादा जहाँ सुरुको पाटन देखिन्छ त्यही पाटनबाट बझाङ जाने बाटोमा जम्मा दस मिनेटको दूरीमा पर्छ भन्ने सुन्नमा आएको छ। थुप्रै छन् खप्तडमा घुम्नुपर्ने ठाउँहरु, जसमध्ये कोही गुमनाम छन्। कसैको बारेमा पुराना बुढापाकाहरुको मुखारबिन्दुबाट सुनिए पनि खोजी हुन सकेको छैन।

कुनै समयमा खप्तड कुबेरको राजधानी पनि थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ। महाभारतकालमा पाण्डवहरू खप्तडकै बाटो भएर कुरुक्षेत्र पुगेका थिए। युद्धपश्चात् मृतात्माहरूको आत्माको शान्तिका लागि यही खप्तडको त्रिवेणीमा आई तर्पण गरेका थिए भन्ने मिथकहरू सुन्नमा आउँछन्। 

धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले निकै नै महत्त्व राख्ने क्षेत्र हो खप्तड। त्रिवेणीधाम, सहस्रलिङ्ग, केदार ढुङगे बाबाको आश्रम, खप्तड दह, नागढुङ्गा, घोडा दाउनी पाटनजस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउँछन् यात्रीहरूको मन। 

विभिन्न किसिमका फूलहरू फुल्दा बुट्टेदार गलैँचाजस्तो देखिने सुन्दर पाटनहरू भएको खप्तड एउटै ढुङ्गामा अवस्थित छ। धेरै जसो पत्रपत्रिकामा २२ पाटन भनिए तापनि ५२ पाटन २२ दह भएको क्षेत्रको रुपमा खप्तड चिनिँदै आएको छ। जहाँ २२ वटा ठुला पाटनहरू छन् भने अन्य अरु स–साना पाटनहरू छन्। तालमा पनि खप्तड दह, बुकि दह लगायत ३/४ वटा मात्रै बाँकी छन् अरु सबैजसो पुरिएर गए। विश्व बजारमा मूल्यवान् ठानिएको गुचिच्याउदेखि सुनजाइ, सेतो जाइ, इन्द्रकमल, रातकी रानीलगायत विभिन्न प्रकारका फूल र वनस्पतिहरू पाइन्छन् यहाँ।

खप्तड बाबाको आश्रम नजिक राखिएको अग्रखले प्रष्ट पार्छ कि यो ठाउँमा अग्रख खानी छ भनेर। जुनकुरा बझाङी राजा रामजङ सिंहले राजा महेन्द्रलाई उत्खननका लागि बिन्ती बिसाएको इतिहासले पनि पुष्टि गर्दछ। राजा महेन्द्रको अनुमतिअनुरुप भारतबाट उत्खननका निम्ति केही जनशक्ति झिकाइएको थियो पछि किन हो केन्द्रबाटै रोक लगाइएछ।

खप्तडबाट बगेर आएको पानी केही तल आएपछि जब झर्छ भीरबाट तब रुप लिन्छ सुन्दर झरनाको। भेल्छडाको झरनाको नामले चिनिने उक्त झरना छेउसम्म पुग्न झिग्रानाबाट काटिँदैछ सडक। दीपक खड्काका अनुसार यो वर्ष ट्रयाक खुल्ने सम्भावना बढी देखिन्छ। बिहानको सूर्यका किरणसँगै सोचिरहेँ– जिन्दगी जसको पूर्ण परिभाषा नै छैन, आंशिक रुपले भन्नु पर्दा पनि एक प्रकारको झरना नै त हो। जहाँ कतै योजनाका झरना बग्छन् त कतै आशा र प्रतिक्षाका। कतै अशोक चन्द, परमानन्द भण्डारीहरुका जस्ता यात्रारुपी झरना बनिदिन्छन्। कतै विरह वेदनाले निम्त्याएका आँसु नै झरना बनिदिन्छन्। 

पछिल्लो समय कालागाढ नजिकको आफ्नो बगौंचाबाट अधिकांश समय जिल्लाको सदरमुकाम मास्तिरका डाँडातिर दृष्टि पु¥याउँदै गरेका पर्यटनकर्मी अमर शाहीका नयाँ योजना तथा परिकल्पनाका धर्साहरु पनि जिन्दगीका झरना नै त हुन्।  भरत खड्काले सम्झाएको शब्द फस्का जस्तै बग्ने पनि त हुन्छन् कसैका जिन्दगीका झरनाहरु। आखिर जे जसरी बगे पनि दीपक खड्काको रिसोर्ट छेउको पाइपबाट पानी बगे जस्तै अनवरत रुपले बगि नै रहन्छन् जिन्दगीका झरनाहरु। 

कार्तिक २२ गते बिहान हुलका हुल मान्छे कोही घाम तापिरहेका थिए त कोही खप्तडका पाटन भेट्न उक्लिरहेका थिए। सोचिरहेँकै थिएँ म यस्तै के–के कुराहरु। जीवनको उत्तरार्धसम्म कुनै न कुनै मोडमा पर्वतीय सौन्दर्य र प्राचीन संस्कृतिको स्मृतिबाट जो कोही पनि तरङ्गीत र मूर्ध भइरहेकै हुन्छ। साँस्कृतिक सौन्दर्य र आफ्नोपनले हामीलाई गर्भित तुल्याइरहेकै हुन्छ। हामीले सुदूरपश्चिमेली संस्कृति, सभ्यता, पर्यटकीय क्षेत्र एवं ऐतिहासिक र पुरातात्त्विक सम्पदा माथि गर्व गर्ने कारक धेरै छन्। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले समृद्ध छन् यहाँका अधिकांश स्थानहरु।

तर, प्रशस्तै सम्भावना हुँदाहुँदै पनि उचित प्रचार, ब्रान्डिङ, मार्केटिङ र भौतिक पूर्वाधार विकासको कमीका कारणले अझै पर्दापछाडि नै रहेका छन्। त्यहाँ न पर्यटन फस्टाउन सकेको छ न त सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको महत्त्व नै दर्शाउन सकिएको छ। केन्द्र अर्थात् काठमाडौंलाई सुदूरपश्चिमेलीहरुले हिजोका दिनमा नैपाल भन्ने गरेका थिए। कुनै अर्कै देश जस्तो थियो काठमाडौं सुदूरपश्चिम वासीहरुका लागि। आज पनि उस्तै नै त छ। त्यो काठमाडौंलाई जस्तै छुट्टै देश ठान्नु नपरोस् पहाडका जनताले आउँदा दिनमा प्रदेशको राजधानीलाई पनि।

मंसिर १३, २०७७ शनिबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।