जसले धपक्क बलेको लुम्बिनीलाई वृत्तचित्रमा उतारे

जसले धपक्क बलेको लुम्बिनीलाई वृत्तचित्रमा उतारे

उनले नेपाली र अंग्रेजी गरी दुई भाषामा रातिमा देखिएका लुम्बिनीका विभिन्न दृश्यलाई कैद गरी बृत्तचित्र बनाएका हुन्।

पत्रकार पन्तले तयार पारेको वृत्तचित्र भैरहवामा एक कार्यक्रमबीच लुम्बिनी विकास कोषका सूचना विज्ञ नरेश केसीले सार्वजनिक गरे। वृत्तचित्र पत्रकार पन्तको युट्युब च्यानल ‘चेतना पन्त’मार्फत सार्वजनिक गरिएको हो। ‘छोटो समयको वृत्तचित्रले लुम्बिनी कस्तो छ भन्ने कुरा समेटेको छ, वास्तवमा यो निकै उत्कृष्ट, लुम्बिनीबारे जान्न र बुझ्न सकिने छ,’ केसीले वृत्तचित्र सार्वजनिक गर्दै भने, ‘अत्यन्तै मनमोहक रहेका दृश्यले अवश्य पनि लुम्बिनीको प्रचारमा थप टेवा पुर्याउने छ।’

वृत्तचित्र नेपाली भाषामा ७ मिनेट ४० सेकेण्ड र अंग्रेजी भाषामा ५ मिनेट ४८ सेकेण्डको छ। छोटो वृत्तचित्रमा लुम्बिनीका सबै दृश्य समेटिएको मात्रै छैन, रातको समयमा लुम्बिनी कति सुन्दर देखिन्छ भन्ने कुरासमेत खुट्याउन सकिन्छ। उनले वृत्तचित्रमा लुम्बिनीबारे समेत व्याख्या गरेका छन्। कोरोना भाइरस (कोभिड १९) संक्रमणले लामो समय बन्द रहेको लुम्बिनी अहिले खुलेपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। खुम्चिएको पर्यटन व्यवसाय फस्ट्याउन वृत्तचित्र कोसेढुंगा हुने पत्रकार पन्तको विश्वास छ।

वृत्तचित्रमा मायादेवी मन्दिर, शान्तिदीप, केन्द्रीय नहर, विभिन्न गुम्बाहरू, सारस चरा लगायतको दृश्य समेटिएको छ। यस्तै, लुम्बिनी सुरक्षित भन्ने सन्देश दिन सिसिटिभी क्यामेरा र सुरक्षा अवस्थाबारे पनि उल्लेख गरिएको छ। वृत्तचित्रमा रातको समयमा भिक्षुहरूले ध्यान गरेको दृश्य झनै हेर्न लायक छ। ‘लुम्बिनीमा सिसिटिभी क्यामेरा जडान गरेर सुरक्षा अवस्थालाई मजबुत गरिएको छ। यी दृश्य वृत्तचित्रमा

समेटिएकाले अब लुम्बिनी रातिमा पनि ध्यान गर्न सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको छ,’ कोषका सूचना विज्ञ केसीले भने। 

लुम्बिनी उद्यानलाई सुरक्षित गर्न भन्दै विकास कोषले केही समयअघि मात्रै थप १७५ वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो ।
वृत्तचित्र निर्माणकर्ता पत्रकार पन्तले वर्तमान समयमा कोरोना भाइरसले थलिएको पर्यटन बजारलाई सघाउन सामाजिक सञ्जालकोे भूमिका प्रभावकारी हुने भएकाले लुम्बिनीको पर्यटन बजार र विकासका लागि यो वृत्तचित्र निर्माण गरिएको बताए।

उनले भने, ‘मेरो सानो प्रयासले लुम्बिनीबारे धेरै सकारात्मक सूचना प्रवाह हुनेछ भन्ने विश्वास लिएको छु, यसले थला परेको पर्यटन बजार गुल्जार हुन सहयोग गर्नेछ।’

लुम्बिनी प्रेस क्लवका संस्थापक अध्यक्ष माधव ढुंगानाले ढल्किँदो उमेरामा पनि पत्रकार पन्तले लुम्बिनीको प्रचारमा निरन्तर लागेर सबैलाई राम्रो सन्देश प्रवाह गरेको बताए। उनले भने, ‘उहाँले लुम्बिनीबारे ठूलो योगदान दिनुभएको छ। तर, विडम्बना वास्तविक कार्य गर्ने मान्छेको कदर हुनु पर्ने हो, त्यो आजसम्म हुनसकेको छैन। अब पत्रकार पन्तको कदर हुनपर्छ।’

लुम्बिनीको प्रचारप्रसारमा लामो समयदेखि केन्द्रित रहेर काम गर्दै आएका पन्तले अहिलेसम्म आफ्नै लगानीमा करिब डेढ दर्जन नेपाली र अंग्रेजी भाषामा वृत्तचित्र बनाइसकेका छन्। उनले लुम्बिनीसँग सम्बन्धित रहेर बनाएका वृत्तचित्र युट्युब र अन्य सामाजिक सञ्जालमासमेत खुबै रुचाएर हेरिएका छन्। यस्तै उनले लामो सदयदेखि देशविदेशमासमेत लुम्बिनीको फोटो प्रदर्शनीसमेत गर्दै आएका छन्।

मंसिर १३, २०७७ शनिबार ०६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।