चलचित्र संघका पूर्वअध्यक्षको आक्रोश– सरकारले चलचित्र क्षेत्रको अस्तित्व स्वीकार गरेन
काठमाडौं : लकडाउन खुलेको लामो समयसम्म पनि सरकारले चलचित्र हल खोल्न अनुमति नदिएको भन्दै चलचित्र संघका पूर्वअध्यक्ष एवं निर्माता प्रदीपकुमार उदयले सरकारसामु आक्रोश पोखेका छन्।
‘वर्तमान सरकारले चलचित्र क्षेत्रको अस्तित्व स्वीकार गरेन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यसैले म सुरुदेखि नै भन्दै आएको छु– यो सरकारले ‘दबाब’ र आन्दोलनको भाषा मात्रै बुझ्छ।’
अरु व्यवसायकर्मीले आन्दोलन गर्ने अल्टिमेटम दिएका कारण सरकारले व्यवसाय खोल्न अनुमति दिएको उल्लेख गर्दै उनले चलचित्रकर्मीलाई भलाद्मी नबन्न आग्रह गरेका छन्।
उनले हल खोल्ने अनुमति नदिने हो भने चलचित्र क्षेत्रसँगका सबै इजाजत पत्र खारेज गर्न सरकारलाई चुनौती दिएका छन् ‘त्यसो गरे हामी चुपचाप अर्को बाटो लाग्छौं,’ उनले भने।
सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको र चलचित्र विकास बोर्डको कुरा सरकारले नसुनेकोमा केही रहस्य रहेको आशंका व्यक्त गरे।
उनले अगाडि लेखेका छन्, ‘अन्य मुलुकबाट भिजिट भिसामा विदेशी आउन पाउने र सम्पूर्ण अन्तर्राष्ट्रिय उडान खोल्नेसमेत निर्णय भइसक्यो। तर, सञ्चार मन्त्रालयबाट खोल्न सिफारिश गइसक्दा पनि चलचित्र क्षेत्र खोल्न सरकार मौन छ र हामी चुप छौं। हामी भलाद्मी !’
उनले चलचित्रकर्मीहरूलाई एकजुट हुन अपिल गर्दै लेखेका छन्, ‘अब आफ्नो अस्तित्वको लागि लडौं। बुझौं, चलचित्र विकास बोर्ड सरकारी निकाय हो। बोर्डले गम्भीरतापूर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागे पनि सरकारले महत्त्व नदिन सक्छ। अब, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था स्वयं अग्रसर हुनुपर्छ र आफ्नो अस्तित्वका लागि लड्नपर्छ।’
उदय द्वारिका सिनेमाक्स चलचित्र हलमा सञ्चालक समेत हुन्।
मंसिर १२, २०७७ शुक्रबार १४:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।