वीरेन्द्रनगरकाे एकीकृत विकासको पहल सुरु
सुर्खेत : कर्णाली प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकासका योजना अघि सारेको छ।
राजधानीको एकीकृत विकासका लागि चालू आर्थिक वर्षमा संघ र प्रदेश सरकारले गरी डेढ करोड बजेटसमेत विनियोजन गरिएको छ।
कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा गठित वीरेन्द्रनगरको एकीकृत विकास समितिले वीरेन्द्रनगरको विकासका लागि तत्कालका लागि मुख्य परियोजना अघि सारेको छ। परियोजनाका लागि समितिको वैठकले नीतिगत निर्णयसमेत गरेको छ।
समितिले तीन तहका सरकारको सहकार्यमा वीरेन्द्रनगरको खानेपानी, मुख्य प्राथमिकताका सडक, विमानस्थल विस्तार, पर्यटन विकासका साथै वातावरणमैत्री र हरियाली नगर बनाउने निर्णय समितिले गरेको हो। यसका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब एक करोड र संघीय सरकारले ५१ करोड बजेट विनियोजन गरिसकेको छ।
संघीय र प्रदेश सरकारको सहलगानीमा समपूरक आयोजनाको रूपमा अघि बढेको वीरेन्द्रनगरको गुरुयोजनाको क्षेत्रमा रहेका सडकहरू कालोपत्रे एक महिनाभित्र सम्पन्न गर्न व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदी र झुप्राखोलाको दोभानबाट लिफ्टिङ गर्ने र हालको वितरण प्रणालीमा पानीको आपूर्ति गराउन ठेक्का लगाउने काम प्रदेश सरकारसँगको सहकार्यमा संघीय सरकारले गर्ने व्यवस्था मिलाउने निर्णय समितिले गरेको हो।
यस्तै, नगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेका नेता चोक–आँखा अस्पताल जोड्ने सडक, मंगलगढी चोक–क्याम्पस रोड सडक र भ्याली भ्यू होटल–उत्तर पिपल चौतारी जोड्ने सडकको कालोपत्रे, नाला र फुटपाथ निर्माणको बाँकी काम नगरपालिकाले अघि बढाउने र प्रदेश सरकारले पठाउनुपर्ने रकम छिटो पठाउने निर्णय बैठकले गरेको छ।
यसैगरी, वीरेन्द्रनगरको गुरुयोजनाभित्र रहेको सरकारी कार्यालय क्षेत्रका बाँकी कालोपत्रे गर्ने सडकका भागहरूको टेण्डर प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अगाडि बढाउने निर्णय समितिले गरेको छ।
आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गणेशचोकदेखि काठको पुलसम्मको सडक कालोपत्रे गर्न टेण्डर प्रक्रिया वीरेन्द्रनगर नगरपालिकाले गर्ने, गणेशचोक काठको पुलदेखि मंगलगढी चोकसम्मको सडक कालोपत्रे गर्न टेण्डर नियमानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने र आवश्यक प्राविधिक सहयोग नगरपालिकाले व्यवस्था गर्ने निर्णय पनि गरेको जानकारी दिए।
यस्तै, मंगलगढी चोकदेखि लाटिकोइलीसम्म काँक्रेविहार पुग्ने सडक कालोपत्रे भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने, यरी चोक–पतेनी–जैपुर सडक, देउती बज्यै–चौकेढुंगा–काँक्रेविहार सडक र लाटिकोइली शिव मन्दिरदेखि पर्सेनी जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेका लागि प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा गरिने, सुर्खेत उपत्यका चक्रपथ निर्माण आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भएको हुँदा प्रदेश सरकारले उच्च प्राथमिकता दिएर अघि बढाउने, धुलियाविट–बाँगेसिमल, मुख्य बजार र गुरुयोजना क्षेत्रमा बत्ती, सिसी क्यामरा, विद्युतीय तारलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने र उपत्यकाभित्रका पर्यटकीय क्षेत्रहरू देउती बज्यै, शहीद पार्क, बुलबुले, काँक्रेविहार लगायतको विकासको लागि विषयगत मन्त्रालयको सहभागितामा आगामी दिनमा बैठक बसी पहल कदमी बढाउने निर्णय गरिएको छ।
सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा सर्वपक्षीय समिति पनि गठन गरिने भएको छ। संघ र प्रदेश सरकारबीच भएको सुर्खेत विमानस्थल विस्तारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न मुख्यमन्त्रीको नेतृत्वमा सर्वपक्षीय समिति गठन गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले जानकारी दिए।
सचिव उपाध्यायका अनुसार उक्त सर्वपक्षीय समितिले मुआब्जा वितरण लगायतका काम गर्नेछ। विमानस्थल विस्तारका लागि अधिग्रहण गरिने जग्गामा घर तथा सरकारी संरचना नबनाउन र खेती नलगाउन समेत मन्त्रालयले आग्रह गरेको छ।
विमानस्थल विस्तारकै लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड बजेट छुट्याएको छ।
मंसिर १२, २०७७ शुक्रबार १०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।