रामेछापको डब्खामा नमुना बस्ती 

रामेछापको डब्खामा नमुना बस्ती 

काठमाडौं : रामेछापको खाँडादेवी गाउँपालिका—३, भिरपानीस्थित डब्खाको माझीगाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिएको छ।

प्रदेश सरकारको कृषि, पर्यटन कार्यक्रमअन्तर्गत कृषि, पशुपालन र पर्यटन विकासका लागि बस्ती निर्माण भएको हो। माझी गाउँमा तरकारी उत्पादनसँगै बाख्रापालन र माछापालन हुने गरेको छ। 

बस्तीमा होमस्टे पनि निर्माण गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए। उनले भने, ‘माझीहरूको जीवनस्तर उकास्नका लागि बस्ती निर्माण गरिएको हो।’

बागमती प्रदेश सरकार दुई करोड २५ लाख  र खाँडादेवी गाउँपालिकाको ७५ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। 

गाउँपालिका र प्रदेश सरकारले माझीहरूलाई बस्ती हस्तान्तरण गरेपछि उनीहरूकै समन्वयमा बस्ती सञ्चालन गर्ने छ। 

बस्तीमा ४२ घर निर्माण गरिएका छन्। घरको साइज र रङ पनि समान छ। घरघरमा शौचालय निर्माण गरिएको छ। 

पक्की घर निर्माण भएसँगै माझी गाउँका बासिन्दा उत्साहित भएका छन्। 

महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि लकडाउनको कारण काम केही प्रभावित हुँदा निर्माणको समय लम्बिएको थियो। 

घर निर्माणपछि माझीहरूको जीवनस्तरमा आर्थिक उन्नति हुने विश्वास गाउँपालिकाले लिएको छ। 

एकीकृत नमुना बस्तीको भौतिक काम लगभग सकिसकेको र केही दिनमा डब्खाको माझीहरूलाई हस्तान्तरण गरिने अध्यक्ष तामाङले बताए। 

यही मंसिर १५ गते बस्ती उद्घाटन गर्ने कार्यक्रम थियो। तर, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामालाई कोरोना पोजेटिभ भएकाले केही समय ढिला हुने उनको भनाइ छ।  

बस्तीभित्र पर्यटकको लागि टावर, सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण भएको छ। 

दुरागाउँमा पनि निर्माण हुँदै 

जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१, दरागाउँमा पनि एकीकृत नमुना बस्ती निर्माण गरिँदैछ। उक्त बस्तीको भौतिक प्रगति ८५ प्रतिशत छ। 

२०७२ सालको भूकम्पबाट विस्थापित भएका २३ घरधुरीलाई उक्त बस्तीमा स्थानान्तरण गर्न लागिएको हो। 

राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको अनुदानमा निर्माण भइरहेको बस्तीमा भूकम्प प्रतिरोधात्मक दुई कोठे घर बन्न लागेका छन्। 

प्रत्येक घर धुरीलाई ६ आनाको दरले ८ रोपनी क्षेत्रफलमा २३ घर धुरीको एकीकृत बस्ती निमार्ण गरिएको हो। भुम्कप र पहिरोको उच्च जोखिम भएका कारणले गर्दा बस्ती स्थानतरण गरिएको दरागाउँको वडा अध्यक्ष निङमार तामाङ बताए। 

थापा डाँडाका २९ घरधुरीमध्ये २३ लाई एकीकृत बस्तीमा स्थानान्तरण गरिनेछ। बाँकी ६ घरधुरीले भने आफै घर निर्माण गरेर बसोबास गरिसकेका उनले बताए। 

यही वर्षभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना साथ काम अघि बढेको छ,’ उनले भने। 

 

मंसिर १२, २०७७ शुक्रबार ०६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।