प्रदेश २ मा महिला हिंसाको भयावह रुप

प्रदेश २ मा महिला हिंसाको भयावह रुप
हिंसा पीडित देवकी साहनी हातमा लागेको चोट देखाउँदै।

जनकपुरधाम : सिराहाको कर्जन्हा नगरपालिका–३ का रामऔतारको श्रीमती मनिषाको खुट्टामा घाउ भयो। 
स्थानीय स्वास्थ्य चौकीमा उपचार गराए। तर, संचो भएन्। मनिषाकी ७५ वर्षीया सासु सुदामादेवी साह झार्की (धामी) छिन्। 
 

रामऔतारले श्रीमतीको खुट्टामा घाउ भएको र उपचार गर्दा पनि निको नभएको भन्दै झारफुक गर्दिन आफ्नै आमासंग अनुनय गरे।

छोराले दिने माया नपाएकी सुदामाले बुहारीलाई झारफुक गर्न अस्वीकार गरिन्।

सुदामाले झारफुक गर्न अस्वीकार गरेपछि गाउँका केही व्यक्ति र मनिषाकी आमाले सुदामा बोक्सी रहेको आरोप लगाउँदै रामऔतारलाई उकास्नथाले। 

रामऔतारले पुनः झारफुक गर्दिन आग्रह गरे। तर, सुदामाले मानिन्। आफ्नो आग्रह आमाले नमाने पछि रामऔतारले आमामाथि कुटपिट गरे।

छोराको कुटपिटबाट घाइते भएकी सुदामाको स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा कार्तिक १५ गते उनको मृत्यु भयो। 

‘दुई दाजुभाइकै मिलेमतोमा आमालाई दिसा खुवाउने तयारी भइरहँदा वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेकाले दिसा खुवाउन भने पाएनन्’ छोरी जानकीले भनिन्,‘प्लास्टिकमा घोलेर ल्याइएको दिसा खुवाउने तयारी हुँदै गर्दा प्रहरी पुगेको थियो।’

आमालाई कुटपिट गरेकै कारण मृत्यु भएको जानकीले बताइन्। रामऔतारलाई घटनाकै दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

दाइजो सामु प्रेम निरीह

लहान नगरपालिका–२२ सिसवनी बर्छवाका २१ वर्षीय रामबाबु मण्डल गाउँकै एक २१ वर्षीया युवतीको प्रेममा परे। 

अभिभावकले गत भदौ ३ गते उनीहरूको प्रेमबारे थाहापाए। गाउँमा पञ्चायत बस्यो। पञ्चायतले उनीहरूको बिहे गराइदिने निर्णय गर्यो। 

युवकका बुवाले दाइजो मागेपछि कुरा बिग्रियो। युवतीका बुवाले दाइजो दिन नसक्ने बताए। त्यसपछि पञ्चायतले प्रहरीमा जाने भनेर भदौ १२ गते निर्णय गर्यो। 

युवती पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दामा जाहेरी दिए। दाइजो सामु निरीह बनेका पे्रमी गाउँ छोडेर फरार भए। 

छोरी जन्मिँदा निरन्तर यातना

आठ वर्षअघि सप्तकोसी नगरपालिका–४ बलारदहका नारायण झा र २८ वर्षीया रञ्जनदेवी झा विवाह बन्धनमा बाँधिए। 

विवाहको डेढ वर्षपछि रञ्जनाले छोरी जन्माइन्। छोरा जन्माउने आशमा उनले तीन छोरीलाई जन्म दिइसकेकी छिन्। तर, छोरी जन्माएकै कारण श्रीमान् नारायण र सासू बिदोतमादेवीबाट पटक–पटक यातना खेप्नु परेको छ।

छोरी मात्र जन्माएको भन्दै असोज १९ गते श्रीमानले निर्घात कुटपिट गरेपछि उनी न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय पुगिन्। 

प्रहरीको अगाडि उनले आफूले भोग्नु परेको हिंसाबारे सुनाइन्। प्रहरीले न्यायका लागि पहल गर्नुको साटो उल्टै कोरोनाको बहाना बनाएर रञ्नालाई घर फर्काइ दियो।

रञ्जनको पहिलो गर्भ खेर गएको थियो। गर्भमा छोरी रहेको थाहा भएपछि श्रीमानले धकेल्दा लडेर गर्भ तुहिएको उनले सुनाइन्।

त्यसपछि उनले ३ छोरीलाई जन्म दिइन्। ‘मेरो गर्भबाट छोरी नै जन्मिए, यसमा मेरो के दोष ?’ रञ्जनाले भनिन्,‘तेस्रो छोरी जन्मिँदा बन्चरोले हानेर श्रीमान र सासूले मार्ने प्रयास गरे।’ 

असोज २२ गते रञ्जनाले सप्तरी जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी छिन्।

जनप्रतिनिधि नै अन्धविश्वासमा 

असोज ३ गते सिराहाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाले पञ्चायत डाके। 

स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिन पञ्चायत बसिएको थियो। 

त्यसअघि सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय महिला मूर्तिदेवीलाई बोक्सी भएको ठहर गरिसकेका थिए।

उनलाई सजाय दिन र गाउँमा सुख र शान्ति स्थापना गर्न भन्दै पञ्चायती डाकिएको थियो।

मूर्तिदेवीका श्रीमान रामनारायण यादवलाई गाउँका दुईजना आएर उठाएर पञ्चायतीमा लिएर गए। 

उनलाई मूर्तिदेवी बोक्सी रहेको ठहर गर्दै जर्वजस्ती बयान दिन लगाईयो। तर, उनले मानेनन्। बोतलमा घोलेर ठिक्क पारिएको मलमूत्र अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाइयो। 

उनलाई बोक्सी भनेर कुटपिट गर्ने र मानव मलमूत्र खुवाउने पञ्चायतमा नवराजपुर–५ का वडा अध्यक्ष रामउद्गार यादव पनि थिए। 

वडाध्यक्षकै सहभागितामा महिला हिंसा भएपनि वडाध्यक्ष मुखदर्शक भएर पीडकको समर्थन गरेको पीडित परिवारले दुखेसो पोखे।

कानुन कार्यान्वयन फितालो

प्रदेश २ सरकारका न्यायधिवक्ता दिपेन्द्र झाले महिला हिंसा न्यूनिकरणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार पीडकलाई सजाई नहुँदा अपराध बढेको तर्क गर्छन्। 

हिंसाका घटनामा प्रहरीले निवेदन लिए पनि अधिकांश घटनामा छलफल गराएर पीडकले उनमूक्ति पाउँदा अपराध झन मौलाएको उनको भनाई छ।

‘हिंसाका पीडित अदालत गएपनि पीडकलाई जेल सजाय नगरी जरिवाना गरेर छाड्ने आदेश गर्ने गरिएको छ,’उनले भने,‘जसले गर्दा हिंसा पीडितले न्याय पाउँदैनन्।’

पीडितले न्याय नपाएपछि मनोवल घट्ने र थप पीडामा पर्ने सम्भावना रहेको झाको भनाई छ। यसबाट पीडकको मनोवल बढेर थप हिंसा गर्न उद्यत हुने उनले बताए।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वर्षौंदेखि जकडिएको सामाजिक विभेद र सार्वजनिक सेवामा लक्षित वर्गको सहभागिता र पहुँच प्रभावकारी हुन नसक्दा लैंगिक हिंसाजन्य अपराध हुने गरेको बताए।

वर्षौंदेखिको सामाजिक विभेद र कुसंस्कार एकैपटक हटाउन नसके पनि केही नीतिगत निर्णय गरेर आधार खडा गर्ने क्रममा रहेको उनको भनाई छ।

‘महिलालाई सरकारी सेवामा ५० प्रतिशतको आरक्षणको व्यवस्था गर्ने गरी कानुन बन्ने क्रममा छ। गत वर्षबाटै सुरक्षित बेटी अभियान, बेटी पढाऊ–बेटी बचाऊ लगायतका कार्यक्रम पनि ल्याएका छौं,’ उनले भने, ‘यसको सकारात्मक नतिजा केही वर्षभित्रै देखा पर्ने विश्वास छ ।’

अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवानले समाज, भविश्य र सहजै न्याय नपाउने डरले हिंसाको ग्राफ उकालो लागेको बताए। 

हिंसा गरिव, विपन्न र दलित मात्रै परेको उदाहरण देखाउँदै यसलाई न्यूनिकरण गर्न कडा कानुनको आवशयक रहेको उनले औल्याए।

देशभर लैङ्गिक विभेदका घटना बढ्न थालेका छन्ण्। त्यसमा पनि महिला हिंसाका घटना तुलनात्मक रुपमा प्रदेश–२ मा धेरै घट्ने गरेको पाइएको छ। 

प्रदेश प्रहरीको तथ्यांकअनुसार गत साउनदेखि कार्तिक सम्म जर्वजस्तीकरणीका १ सय ४३ घटना भएका छन्। 

जर्वजस्तीकरणी उद्योगमा पनि ४५ वटा मुद्दा दार्ता भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

गत आर्थिक वर्ष ०७६-७७ मा २ सय ८५ वटा बलात्कार र ९६ वटा जर्वजस्तीकरणी उद्योगका घटना दार्ता भएको प्रहरीको तथ्यांक छ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई जनामाथि एसीड आक्रमण र २ बालविवाह र २९ वटा बहुविवाह भएको प्रहरीको तथ्यांक छ। 

लकडाउन अवधिमा मात्रै महिला हिंसाका करिब तीन सय घटना भएका छन्। 

घरेलु हिंसालाई प्रहरी र समाजले सामान्य घटनाका रूपमा हेर्ने गरेको छ। घरेलु हिंसा बढ्दै जाँदा आत्महत्या र जघन्य अपराधको स्थिति आउने गरेको छ। 

प्रदेश २ का प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले अपराधमध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको बताए।
 

मंसिर ११, २०७७ बिहीबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।