कोरोना कहरले बढायो आयुर्वेदप्रति विश्वास
नयाँ भवन र डाक्टर तथा अत्याधुनिक उपकरण आएपछि प्रदेश अस्पतालमा दैनिक एक हजारसम्म विरामी आउने गर्दथे।
तर अस्पतालको परिसरमै रहेको आयुर्वेद औषधालयको अवस्था भने ठीक उल्टो थियो।
त्यहाँ दैनिक बढीमा ५० जनासम्म विरामी आउने गर्दथे। आयुर्वेदप्रति खासै कसैको चासो र रुचीसमेत हुँदैनथ्यो।
तर कोरोना कहरले भने आयुर्वेदप्रति विश्वास जगाइदिएको छ। प्रदेश आयुर्वेद औषधालयमा हिजोआज दैनिक सयभन्दा बढि विरामी आउने गरेका छन्।
रोग प्रतिरोधात्मक क्षमताको लागि गुर्जो, अमला, हर्रोबर्राेलगायतका जडिबुटीबाट बनेको औषधि लिनका लागि आयुर्वेद औषधालय आउनकोे संख्या बढेको छ।
विगतको तुलनामा अहिले आयुर्वेदिक उपचार पद्धति र कोरोनाका कारण जडिबुटी मिश्रित औषधिका कारणले विरामी आउनेको संख्या बढेको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ।
औषधालय विकास समितिका अध्यक्ष बिनोद ढकालले गुर्जोका कारण आयुर्वेदप्रति चासो र विश्वास बढाएको बताए।
आयुर्वेदिक औषधिमात्र होइन, अहिले औषधालयको स्तरोन्नति पनि भएको छ। अस्पतालले सेवासुविधा पनि बढाएको छ।
असोज ६ गतेदेखि औषधालयमा निःशुल्क ल्याव सेवा पनि सुरु गरिएको छ। पहिले दिसापिसाव, रगतको ल्यावको रिपोर्ट आउन एक घन्टा लाग्ने गरेकामा अब १० मिनेटमै आउने भएको छ।
असोज ७ गतेबाट भिडियो एक्सरे सेवा पनि संचालन गरिएको छ। आधारभूत चिकित्सकीय सेवा दिन थालेपछि आयुर्वेदमा विश्वास बढेको र विरामीहरु पनि आउन थालेको अध्यक्ष ढकालले जनाए। उनले भने ‘पहिले पायल्स, फिस्टुला, महिनावारी गडबडी सम्बन्धी मात्रै विरामीहरु आउने गर्दथे अहिले कोरोनाका कारण सबैभन्दा धेरै गुर्जो लिन आउनेको संख्या धेरै छ।’
कोरोना सङ्क्रमण बढेसँगै सुर्खेतमा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ। रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो।
कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको वीरेन्द्रनगर १० का खड्ग विश्वकर्माले बताए।
उनले कोरोना जोखिम नदेखिदाँसम्म गुर्जोको वास्ता नभएपनि आजकाल परिवारले नै नियमित सेवन गर्ने गरेको बताए।
उनले भने‘गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जो सेवन गर्न थालेको छाँ।’
औषधालयका चिकित्सक डा.शंकर रिजालले अघिल्लो वर्षभन्दा यो वर्ष ६ हजार भन्दा बढिले आयुर्वेदको सेवा लिएको जानकारी दिए।उनका अनुसार २०७४-०७५ मा २० हजार पाँचसय, २०७५-०७६ मा २२ हजार ९० र २०७६-०७७ मा २८ हजार तीनसय ५५ जनाले आयुर्वेद सेवा लगेका छन्।
कोरोना संक्रमण सुरु भएपछि औषधालय कसैको सहयोगविना आफै जडिबुटी मिसाएर कोरोना संक्रमित तथा अन्यलाई निःशुल्क वितरण गरेको उनले बताए।
प्रदेश अस्पतालको आइसोलेशन, वीरेन्द्रनगर आइसोलेशन, लेकबेसीसहित अन्य स्वास्थ्यकर्मीहरुलाई गरी २८१ जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गरिएको उनको भनाई छ।
वीरेन्द्रनगर उपत्यका,पञ्चपुरी,गुर्भाकोट,भेरीगंगा नगरपालिकाका क्वारेन्टिनमा रहेका ३हजार ४७ जना नागरिकहरुलाई योगध्यान, जीवनशैली परिवर्तन, सचेतनामुलक कार्यक्रम गरेको रिजालले जनाए।
उनका अनुसार सुर्खेतमा ३ हजार किलो गुर्जो खपत भएको छ भने ७ क्विन्टल गुर्जो स्टक रहेको छ।
कोरोना संक्रमणको उपचारमा कुनै औषधि नबनेका कारण रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोलगायतका जडिबुटीले सघाउने भएकोले यसको माग अहिले बढेको छ।
मंसिर ११, २०७७ बिहीबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।