३० लाखको लगानीमा ड्रागन खेती

३० लाखको लगानीमा ड्रागन खेती

लगानीकर्तामध्ये ७ जनाले फर्ममा रोजगारीसमेत पाएका छन्। बिहानदेखि बिरुवाको स्याहार एवं रेखदेखमा खटिने उनीहरू बेलुका ५ बजेसम्म काममै सक्रिय हुन्छन्। 

‘परम्रागत खेतीमा आम्दानी कम र खर्च बढी हुन थालेपछि विकल्पमा ड्रागन खेती गरिरहेका छौं,’ लगानीकर्तामध्येका एक उमेश महतोले भने, ‘अहिले २६ कठ्ठा जमिनमा खेती भइरहेको छ। पहिलो चरणको खेती सफल भएपछि विस्तार गर्ने योजना छ।’ 

कसरी रोजे ड्रागन खेती ?

दुई वर्षपहिले गाउँमा रोजगारी विषयमा छलफल भइरहेको थियो। छलफलका क्रममा स्थानीय अमरेश सिंहले सामूहिकरूपमा ड्रागन खेती गर्न प्रस्ताव गरे। 

त्यतिबेला सिंहले ड्रागन खेतीको प्रस्ताव गर्दा धेरैले कुरा काटे। तर, उनी विचलित भएनन्। बरु आफ्नो योजना सफल बनाउन उनले सामूहिकरूपमा ड्रागन खेती गर्न चाहने युवाहरूलाई लिएर काभ्रे र दाङको ड्रागन खेतीको अवलोकन गराए। र, करिब एक दर्जन युवालाई ड्रागन खेतीसम्बन्धी तालिममा सहभागी गराए। 

ड्रागन खेतीको महत्त्व र आम्दानीबारे जानकारी पाएपछि ९ जना युवाहरू खेती गर्न तयार भए। र, ती युवाहरूले कुश एग्रो इन्टरप्राइजेजले फर्म दर्ता गरे। मिथिला नगरपालिकामा २६ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर २०७६ मंसिरदेखि ड्रागन खेती सुरुवात गरे। 

२०७७ वैशाखमा भारतबाट ३ हजार ड्रागनको बिरुवा मगाए। अहिले ड्रागनको बिरुवा ६ फिटदेखि ८ फिटसम्म बढेको छ। ड्रागनको बिरुवा रोपेको १८ महिनापछि फल दिने गरेको छ। 

सरकारको सहयोग 

ड्रागन खेतीको सुरुवात गर्दा मिथिला नगरपालिकाले ७५ प्रतिशत अनुदानमा सिँचाइ गरेको थियो। खेतीका लागि कृषि ज्ञान केन्द्र, धनुषाले ७५ प्रतिशत अनुदानमा बीउ उत्पादनका लागि दुई सेट हाइटेक नर्सरी निर्माण गरिदिएको लगानीकर्ता संजयकुमार महतोले जानकारी दिए। 

लगानीकर्तामध्ये अर्का उमेशकुमार महतो र संजयकुमार महतो मिथिला नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक (विएसी एजी ) गरेका छन्। अन्य लगानीकर्ता स्नातकमा अध्ययनरत छन्। 

दुई प्रकारको ड्रागन फल हुने गरेको भन्दै यसमा रातो फलभित्र पहेँलो फल भएका ४० वटा बिरुवा भियतनामबाट मगाइएको छ। रातो फल १२ सय रूपैयाँ र सेतो फल ८ सय रूपैयाँ प्रतिकिलोग्राम बिक्री हुने गरेको छ। 

उखु खेती छाडेर ड्रागनतिर

सिंह परम्परागत शैलीमा उखु खेती गरिरहेका थिए। तर, त्यसमा लगानी बढी र आम्दानी कम हुन थालेपछि आफूले उखु खेती छाडेको उनी बताउँछन्। त्यही जमिनमा ड्रागन खेती सुरु गरिएको छ। 

ड्रागने खेतीले आर्थिक समृद्धि ल्याउने लगानीकर्ता युवाहरूमा आशा पलाएको छ। 

मंसिर ११, २०७७ बिहीबार ०५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।