पृथ्वीमाथिको अतिक्रमणले मानवीय संकटको जोखिम 

पृथ्वीमाथिको अतिक्रमणले मानवीय संकटको जोखिम 
सांकेतिक तस्बिर।

काठमाडौं : पृथ्वीको ब्रह्माण्डीय तथा वातावरणीय चक्रमा मानवीय जीवनचक्र चलिरहेको छ। तर, जीवनशैली सहज बनाउने नाममा पृथ्वीमाथि नै अतिक्रमण गरिँदा मानवीय संकट निम्तने जोखिम छ।

विकास निर्माणका नाममा जथाभावी भइरहेको प्रकृति दोहनले नकारात्मक प्रभाव पारिरहेको छ। 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी पनि पृथ्वीको अतिक्रमणकै समस्याको परिणामरूपमा लिन्छन्, वातावरणविद् भूषण तुलाधर। तुलाधरले भने, ‘जंगली जनावरको बासस्थानमा अतिक्रमण हुँदा मानिसमा पनि भाइरस सर्ने सम्भावना हुन्छन्।’ 

प्राकृतिक संसार र मानवीय संसारबीच सन्तुलन आवश्यक हुन्छ। तर, यस्तो सन्तुलन बिग्रँदा मानव जीवनमा विभिन्न रोगव्याधिको जोखिम हुन्छ। 

वातावरणविद् तुलाधरले भने, ‘मानवीय प्रक्रियाको सन्तुलन खलबलिँदा अन्ततः मानव जातिलाई नै हानी पुर्याउँछ।’ 

मानवजातिले प्रकृतिलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अहम भावनाका कारण पनि समस्या उत्पन्न हुने वातावरणविद्को तर्क छ। 

रोगको जोखिम

पृथ्वीमा हुने अतिक्रमणका कारण शारीरिक तथा मानसिक समस्या निम्तने चिकित्सक बताउँछन्। 

मनोविद् गोपाल ढकाल व्यक्तिको मानसिक स्वास्थ्यमा वातावरण तथा भूगोल, मौसम जस्ता अवस्थाले प्रभाव पार्ने बताउँछन्। वातावरणीय प्रदूषणका कारण पनि शारीरिक मात्रै होइन, मानसिक अवस्थामा पनि प्रभाव पर्छ। 

ढकालले भने, ‘बादल लागेको तथा चिसो मौसममा व्यक्तिमा निरासा बढ्छ, जसलाई सिजनल अफेक्टिभ मुड डिसअर्डर भनिन्छ।’ 

पृथ्वीको तापक्रम बढ्दा जलवायु परिवर्तन तथा प्रदूषणका कारण व्यक्तिको मस्तिष्क उत्तेजित भई चिटचिटाहट तथा आक्रोश बढ्ने ढकाल बताउँछन्।

मनोचिकित्सकका अनुसार सामान्यतः चिसो मौसम भएको ठाउँमा बस्ने मानिसको तुलनामा धेरै गर्मी ठाउँमा बस्ने व्यक्ति बढी उत्तेजित स्वभाव हुन्छ। ‘अस्वभाविकरूपमा परिवर्तन भएको मौसमको प्रभावले व्यक्तिको मस्तिष्क रसायनमा गडबडी हुन्छ,’ ढकालले भने, ‘जसले गर्दा व्यक्तिको मुड (मन) र व्यवहारमा असन्तुलन हुन्छ। मानसिक रोगको जोखिम बढ्छ।’

त्यसैगरी, त्रिपुरेश्रस्थित नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल साधारणतः मौसमी परिवर्तनले आँखामा समस्या देखिन सक्ने बताउँछन्। ओजन तहको क्षयका कारण घामको परावैजनी किरण (अल्ट्रा भ्वाइलेट)ले गर्दा आँखामा मोतिविन्दूको समस्या देखिने विशेषज्ञ ढुंगेल बताउँछन्। त्यसैगरी आँखाको विभिन्न समस्या निम्तन्छ। 

ढुंगेलका अनुसार कात्तिक–मंसिर र चैत– वैशाखको मौसमी परिवर्तनमा आँखामा एलर्जीको समस्या बढ्छ। विशेषगरी काठमाडौं उपत्यकामा विभिन्न उद्योग, मोटर लगायतबाट हुने धुलोधुवाँका कारण आँखा चिलाउने पाक्ने, आँशु आउने जस्ता समस्या निम्तन्छन्। त्यसैले घाममा कम हिँड्न र हिँड्दा प्रोटेक्टिभ ग्लास लगाउन डा. ढुंगेलको सुझाव छ। 

वातावरणीय प्रदूषणका कारण घातक रसायन उत्सर्जन हुन्छन्, जसले गर्दा विभिन्न रोगको जोखिम हुने चिकित्सक बताउँछन्।

त्यसो त क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य वातावरणमा हुने प्रभावका कारण क्यान्सरजस्तो घातक रोगको जोखिम बढिरहेको बताउँछन्। उनी चुरोट सेवन नगरेका व्यक्तिमा समेत वातावरणीय प्रदूषणका कारण फोक्सोको क्यान्सर देखिने गरेको बताउँछन्। उनका अनुसार ओजन तहको क्षयका कारण छालाको क्यान्सरको जोखिम हुन्छ। 

पृथ्वीमा हुने अतिक्रमणका कारण विभिन्न किसिमका रोगव्याधिको जोखिम बढिरहेको चिकित्सक बताउँछन्। 

उपत्यका उत्कृष्ट उदाहरण

मानव स्वास्थ्यमा नै गम्भीर संकट गर्ने भएपछि वातावरणीय विनास नगरी विकास निर्माण सम्भव छैन त भन्ने प्रश्न उब्जन्छ। वातावरणीय विनाश नगरी पनि विकास निर्माण सम्भव भएको वातावरणविद्को तर्क छ। वातावरणविद् तुलाधरले भने, ‘विकास भनेको विनाशै हुनुपर्छ भन्ने छैन। विनाश नगरी विकास गर्न सक्ने सम्भावना प्रशस्तै छन्।’

वातावरणविद् तुलाधर यसको उदाहरणका रूपमा पुर्खाहरूले गरेको काठमाडौं उपत्यकाको डिजाइनलाई सम्झन्छन्। उनका अनुसार उपत्यकाको थुम्काहरूमा सहर र फाँटमा खेतीपाती गरिन्थ्यो। उच्च ठाउँबाट पानी रसाएर फाँटमा पानी जान्थ्यो। सहरमा ठूलो पोखरी बनाइएको थियो। त्यहाँको पानी आवश्यकता अनुसार खेतीपातीमा प्रयोग गरिन्थ्यो।

उपत्यकामा ढुंगेधारा र इनार थिए। डुँडको माध्यमबाट ढुंगेधारामा पानी झर्थ्यो। पुरानो ढुंगेधारामध्येको एउटा उदाहरण हो, पाटनस्थित मंगलबजारको ढुंगेधारा।

उपत्यकामा पानीको राम्रो व्यवस्थापन थियो। त्यो समयमा पुर्खाहरूले प्रकृतिलाई बचाउँदै विकास गरेका वातावरणविद्को विश्लेषण छ। 

तर, आजकल जथाभावीरूपमा निर्माण गरिएका बस्तीका कारण उपत्यकामा प्रदूषण बढिरहेको छ। प्रकृतिमा नै असर परेको छ। ढुंगेधारा मासिँदै गएका छन्। पुर्खाहरूले प्रकृतिको विनाश नगरी वातावरणमैत्री ढंगले विकास गरेको उदाहरण धेरै भएको तुलाधर बताउँछन्। 

इजिप्टको नाइल नदी होस् वा काठमाडौंको बाग्मतीकै कुरा किन नहोस्, पुराना सहरहरू नदी किनारबाट नै सुरु भएको देखिन्छ। 
उपत्यकामा पनि राजकुलोमार्फत नै पानी ल्याइएको वातावरणविद् बताउँछन्। 

तुलाधरले भने, ‘काठमाडौंका उपत्यकाका पुराना बस्ती सहरीकरणका उत्कृष्ट बस्ती हुन्।’ 

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन गर्न घरघरमा मल बनाउने चलन रहे पनि अहिले त्यो कम भएको वातावरणविद् बताउँछन्। तुलाधरले भने, ‘पहिले–पहिले फोहोरलाई पाल्नुपर्छ भनिन्थ्यो। तर, पछिल्लो समय फोहोरलाई फाल्नुपर्छ भन्ने मानसिकताको विकास भयो।’ 

तुलाधरका अनुसार ५० वर्षअघि काठमाडौंमा उपत्यकामा मल प्रतिटिन ५० पैसामा बिक्री हुन्थ्यो। त्यो समयमा फोहोरको मूल्य थियो।

वातावरणमैत्री संस्कृतिलाई मानिसहरूले विस्तारै भुल्दै गएको वातावरणविद्ले चिन्ता व्यक्त गरेका छन्। 

पछिल्लो समय काठमाडौं उपत्यकामा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झण्डै २० गुणा बढी वायु प्रदूषण रहेको जानकार बताउँछन्। 

पछिल्लो समय ग्रामीण क्षेत्रबाट सहरतर्फ सुविधा खोज्दै बसाईं सर्नेको संख्या बढिरहेको छ, जुन स्वभाविकै हो। तर, सहरीकणलाई पनि व्यवस्थापन गर्न वातावरणविद् तुलाधरको सुझाव छ। 

यसरी हुन्छ प्रदूषण

ओजन तहको क्षयले गर्दा सूर्यबाट आउने परावैजनी किरण सिधै पृथ्वीमा आउँछन्। जसले मानव स्वास्थ्यमा असर गर्ने नै भयो। तर, अहिले विश्व समुदाय सचेत भएकैले ओजन तहको क्षय हुने समस्या कम भएको वातावरणविद्को विश्लेषण छ।

वायुमण्डललाई प्रदूषित बनाउन क्लोरोफ्लोरो कार्वन, नाइट्रस अक्साइड, आर्गन, मिथेन लगायतका दूषित ग्यासको भूमिका हुन्छ। यस्ता विभिन्न किसिमका हानिकारक ग्यासको उत्सर्जनले गर्दा सौर्य विकिरण असन्तुलित हुँदा वायुमण्डलको तापक्रममा उत्तारचढाव हुन्छ, जसले गर्दा जलवायु परिवर्तन हुने वातावरणविद् बताउँछन्। जलवायु परिवर्तन वर्तमान अवस्थाको समस्या भएको वातावरणविद्को भनाइ छ। 

जलवायु परिवर्तनको प्रभावका कारण पृथ्वीको तापक्रम निरन्तर बढिरहेको अध्यता डा. उत्तमबाबु श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘गएको दशकमा पृथ्वीको तापक्रम बढेकाले सबैभन्दा धेरै गर्मी भएको थियो। वातावरणविद्का अनुसार २० औं शताब्दिभन्दा गत वर्ष पृथ्वीको तापक्रम औसत ०.९५ डिग्री सेल्सियस बढेको थियो। प्राप्त तथ्यांक अनुसार यो अहिलेसम्म बढेको उच्च तापक्रम भएको वातावरणविद् बताउँछन्। 

वातावरणविद् तुलाधर दुई डिग्रीभन्दा बढी तापक्रम बढ्दा वातावरणमा नकारात्मक असर पर्ने बताउँछन्। 

सन् १९७९ देखि २०१६ को तथ्यांकलाई केलाउँदा नेपालको तापमान ०.०३ डिग्री सेल्सियस प्रतिवर्ष बढेको देखिन्छ। 

कलकारखानासँगै सवारी साधन तथा कोइलाको बढ्दो प्रयोग, वनजंगल विनाशजस्ता कारणले वायुमण्डलमा प्रदूषित ग्यास बढ्छ। कार्वनडाइअक्साइड ग्यास बढ्छ। 

यस्ता ग्यासका कारण पृथ्वीमा परेको सूर्यको ताप परिवर्तित हुन सक्दैन। यसरी सूर्यको ताप परिवर्तित हुन नसक्दा हरितगृह ग्यासमा प्रभाव परी पृथ्वीको तापक्रम बढ्दै जान्छ। उद्योग, कलकारखानालगायत विभिन्न कारक तत्व हुन्छन्, हरितगृह ग्यास उत्सर्जन गर्ने। कार्वनमोनोअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्वनजस्ता जस्ता हरितगृह ग्यासको उत्सर्जन भएको पाइन्छ। प्लास्टिक जलाउँदा पनि वायुप्रदूषण हुन्छ। 

यस्ता ग्यास वायुमण्डलमा प्रवेश गर्दा जलवायु परिवर्तनको समस्या हुने वातावरणविद् बताउँछन्, जसले तापक्रम बढ्नुका साथै मानव स्वास्थ्य लगायतमा समस्या उत्पन्न हुन्छ। 

विश्वमै सवैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक चीन पहिलो नम्बरमा पर्छ भने अमेरिका र भारत क्रमशः दोस्रो र तेस्रो मुलुकमा पर्छन्। 

वातावरणविद्का अनुसार नेपालले विश्वको करिव ०.०२ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्छ। तर, धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने दुई ठूला मुलुकको छिमेकी भएकाले जलवायु परिवर्तनको मारमा नेपाल पनि परिरहेको छ। 

जलवायुजस्तो प्रकृतिमा नकारात्मक असर पर्दा बाढी, पहिरो जस्ता समस्या हुन्छ। खडेरी पर्ने, अम्लीय वर्षा हुने, माटोको उर्वराशक्ति कम हुने, वनस्पतिमा असर पर्नेजस्ता असर देखिने विश्लेषक बताउँछन्। त्यति मात्रै होइन, तापक्रम बढ्दा हिउँ पग्लिएर हिउँताल बनेर फुट्ने जोखिम त्यतिकै हुने श्रेष्ठ बताउँछन्।   

प्रकृतिको सम्मान

त्यसैले प्रकृतिसँग मिलेर पृथ्वीमा बाँच्नुपर्ने वातावरणविद् तुलाधरको तर्क छ, जुन सम्भव भएको उनी बताउँछन्। मानव जीवन जीउनका लागि आवश्यक हावा, पानी, ताप लगायत प्रकृतिबाटै प्राप्त हुने भएकाले प्रकृतिको सम्मान गरेर जीउन सिक्दा मानव जीवनमा लाभ मिल्ने वातावरणविद्को सुझाव छ। 

पुराना संस्कृतिको अध्ययन नगरी एकै पटक विकासका नयाँ मोडलहरूमा हाम फाल्दा वातावरणमा असर पर्न सक्छ। त्यसैले परम्परागत संस्कृतिको पनि अध्ययन गर्नु आवश्यक देखिन्छ। 

सहरीकरण तीव्र गतिमा बढिरहे पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको वातावरणविद्को तर्क छ। तर, वातावरणमैत्री सहरीकरणमा ध्यान दिन आवश्यक छ। यातायातको सवालमा विद्युतीय साधन (बस)को प्रयोग गर्नु उचित हुने वातावरणविद् तुलाधर बताउँछन्। 

वायुमण्डलको प्रदूषण तथा जलवायु परिवर्तन कम गर्ने सवालमा सचेत हुन श्रेष्ठको सुझाव छ। विद्युत तथा सोलार जस्ता ऊर्जाको प्रयोग गर्नाले पृथ्वीको अतिक्रमण हुनबाट केही हदसम्म भए पनि बचाउन सकिने वातावरणविद्को तर्क छ। 

वातावरण जोगाउन साइकल चलाउन सकिन्छ। वैकल्पिक साधनको प्रयोग गर्न सकिने तुलाधर बताउँछन्।

मंसिर १०, २०७७ बुधबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।