‘द भ्वाइस अफ नेपाल’को पहिलो संस्करणको विजेताले पाएनन् पुरस्कार
काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को पहिलो संस्करणको उपाधि विजेता सिडी विजय अधिकारीले अझै पुरस्कार पाएका छैनन्।
उपाधि जितेको पाँच वर्ष बित्दा पनि अधिकारीले अझै पुरस्कार नपाएका हुन्। पटक पटक पुरस्कार दिने मौखिक सहमति भए पनि अझै नपाएको अधिकारीको दुखेसो छ।
उनले भने, ‘उपाधि विजेतालाई २५ लाख रूपैयाँ, कार, २० लाख रूपैयाँको म्युजिक एल्बम सम्झौता र विश्व भ्रमण गराउने घोषणा गरिएको थियो। पुरस्कार रकम त बल्लतल्ल पाएँ। तर, कारको पैसा अझै पाइएको छैन। उक्त रकम कहिले पाइने हो यकिन छैन।’
कारको भ्याट कटाएर आफूले १४ लाख २५ हजार रूपैयाँ पाउनुपर्ने अधिकारीले बताए। ‘तीन महिनाअघि जापानबाट आएका भ्वाइस अफ नेपालको एमडी प्रह्लाद महतसँग एक सातामा उक्त रकम दिने सहमति भएको थियो। उहाँ लामै समय बसेर फर्किनु भयो। तर, मैले रकम पाइनँ,’ उनले भने।
भ्वाइस अफ नेपालका प्रोड्युसर सुशील नेपालका अनुसार अधिकारीले पाउनु पर्ने रकम पाउने छन्। ‘विजेतालाई पुरस्कार नदिने भन्ने हुँदैन,’ उनले भने, ‘पैसा खोज्न समय लाग्यो।’
कार्यक्रमबाट पाँच करोड रूपैयाँ घाटामा परेकाले उपाधि विजेता अधिकारीलाई पुरस्कार रकम दिन कठिन भएको नेपालले बताए। ‘केही रकम सरसापट गरेर तिरेको थिएँ,’ नेपालले भने, ‘अब थोरै रकम बाँकी छ। उक्त रकम यही साता जग्गा बेचेर तिर्नेछु।’
सन् २०१५ मा कतारको दोहास्थित एसियन टाउन ग्रान्ड मल सनैयामा भएको फिनालेमा अधिकारीले उपाधि जितेका थिए।
मंसिर ९, २०७७ मंगलबार २०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।