विदेशी खेलाडी अलपत्र
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण व्यावसायिक फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडी अलपत्र परेका छन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण व्यावसायिक फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडी आर्थिक समस्यामा परेका छन्।
कोरोना महामारीका कारण खेल गतिविधि रोकिँदा पैसा नभएपछि विभिन्न क्लबबाट फुटबल खेल्दै आएका विदेशी खेलाडी अलपत्र परेका हुन्।
मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दै आएका क्यामरुनका फ्रोलोरेन्ट कोरा खेल गतिविधि ठप्प हुँदा आफूहरुसँग घर फर्कनका लागि टिकट काट्ने पैसासमेत नभएको बताए।
‘आठ महिनादेखि खेल गतिविधि ठप्प छ,’ उनी भन्छन्, ‘क्लबसँग सम्पर्क पनि छैन। अरुले दिएको चामल खाएर बस्या छौं।’
सरस्वती युवा क्लबमा अनुबन्धित एन्ड्रे इक्वुम खेल गतिविधि नभएपछि आर्थिक समस्या भोगिरहेको बताउँछन्। कोठाभाडा तिर्न नसक्दा घरधनीले दुर्व्यवहार गरेको उनले दुखेसो पोखे।
‘कमाई हुँदा भाडामा एक दिन पनि ढिला गरेनौं,’ उनी थप्छन्, ‘अहिले कमाई नै छैन। कसरी दिने पैसा ?’
घरधनीको व्यवहारबाट उनी मात्र होइन, अरु खेलाडी पनि वाक्कदिक्क छन्। मनाङका कोरा पनि पछिल्लो समय घरधनीको व्यवहार बदलिएको सुनाउँछन्। ‘घरबाहिर निस्कँदा जान लागेको ठाउँको नालिबेली घरधनीलाई भन्नुपर्छ। साँझ ७ बजेपछि गेट नै लगाइदिन्छन्,’ कोराले दुखेसो पोखे।
घरधनीले गेट लगाउँदा कति रात सडकमै बिताउनुपरेको उनको दुखेसो छ।
जावलाखेल क्लबका फुडो फोफाना कोरोना संकटका बेला कसैले सहयोग नगरेको दुखेसो पोख्छन्। यहाँ बस्दा सबैभन्दा ठूलो समस्या कोठा भाडा र भिसा नवीकरणको भएको उनको भनाइ छ। ‘भिसा नवीकरणको लागि पैसा धेरै लाग्छ। कोठाभाडा पनि निकै महिनाको तिर्नु छ,’ उनी भन्छन्।
नेपालका विदेशी खेलाडी संयोजक सुगन तण्डुकार भने विदेशका खेलाडीले आफ्नै कारणले दुःख खेप्नुपरेको बताउँछन्। ‘कोरोना संक्रमण केही दिनमा नियन्त्रण भइहाल्ला भनेर देश फर्किन मानेनन्। अहिले भिसा नवीकरण गराउने बेला भयो। र, आपतमा छन्,’ उनी भन्छन्।
सुगन तण्डुकार।
धेरैजसो विदेशी खेलाडी डिसेम्बर १५ सम्म मात्र नेपाल बस्न पाउने भएकाले भिसा नवीकरण उनीहरूको प्राथमिकता रहेको तण्डुकार बताउँछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विदेशबाट नेपालमा व्यावसायिक फुटबल खेल्न आएका २३ खेलाडीमध्ये ९ जना मात्र फर्कन बाँकी छन्।
तर, त्यसको तीन गुणा बढी विदेशी खेलाडी नेपालमा अलपत्र छन्। २८ जना विदेशी खेलाडी नेपालमा अलपत्र परेका छन्।
एन्फा महासचिव इन्द्रमान तुलाधर भने कतिपय आफूखुसी नेपाल आएकाले यहाँ रहेका खेलाडीको यकिन तथ्यांक नभएको बताउँछन्।
‘घुम्न आएकालाई खेलाडी गन्ने हो भने त धेरै होलान्। तर, हामीसँग दर्ता भएका ९ जना खेलाडी मात्रै घर फर्कन बाँकी छन्,’ एन्फाका माहासचिव इन्द्रमान तुलाधर भन्छन्।
इन्द्रमान तुलाधर।
आउँदा पर्यटक, आएपछि खेलाडी !
नेपालमा अलपत्र परेका खेलाडीमध्ये अधिकांश टुरिस्ट भिसामा आएकाहरू तण्डुकार बताउँछन्।
नेपालमा भिसा प्रक्रिया सहज भएकाले खेलाडी टुरिस्ट भिसामा आउने गरेको र अन्य विदेशी खेलाडीको सहयोगमा क्लबमा जोडिने गरेको उनको भनाइ छ।
यहाँ ‘लोकल लेभल’मा खेले पनि महिनाको एक–डेढ लाख रूपैयाँ कमाइने भएकाले खेलाडीहरू टुरिस्ट भिसामा नेपाल आउने गरेको उनले बताए। ‘पाँच हजार डलरसम्म खर्च गरेर यहाँ आउने खेलाडी भेटेको छु,’ उनी भन्छन्।
सन् २०१२ देखि विदेशी खेलाडी ल्याइरहेको उनले सुनाए। तण्डुकार भन्छन्, ‘विदेशी खेलाडी हुँदा खेलको स्तर राम्रो हुन्छ। त्यसैले हामी विदेशबाट खेलाडी ल्याउने गर्छौं।’
‘ए’ डिभिजन लिगमा क्लबले तीन विदेशी खेलाडीलाई मात्र मैदानमा उतार्न पाउँछ। लिग खेल्ने १४ क्लबमध्ये तीन विभागीय क्लबबाहेक अन्यले विदेशी खेलाडी राख्ने गरेका छन्।
नेपालमा खेल्ने विदेशी खेलाडीमध्ये अफ्रिकी मुलुकका बढी छन्। उनीहरू मासिक एक लाखदेखि दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाउँछन्।
बेरोजगारीका कारण त्यहाँका खेलाडी नेपाल आउने गरेको तण्डुकारको भनाइ छ।
‘त्यहाँ बेरोजगारी छ। साथै यिनीहरूलाई त्यहाँ ‘लोकल प्लेयर’ भनेर खासै महत्त्व दिइँदैन,’ तण्डुकारले अफ्रिकन खेलाडी नेपाल आउनुको कारण खुलाए।
नेपालमा इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट नलिइ आउने खेलाडीले लिग खेल्न नपाउने र त्यस्ता खेलाडी नै समस्यामा परेको उनको भनाइ छ।
ट्रान्सफर सर्टिफिकेट र एन्फामा दर्ता नभएका खेलाडीलाई भिसा थप्दै बसेकाले उनीहरू कोरोनाका कारण आर्थिक समस्यामा परेको तण्डुकार बताउँछन्।
‘खेल्न पाएको भए यिनीहरूलाई हाईसुख थियो। खेल्न पाएनन्,’ उनी भन्छन्, ‘पैसा कमाउँदा कतिले घर पठाएँ, कतिले यही सके। अहिले उनीहरूसँग फर्कनका लागि पैसा छैन।
तण्डुकारले समस्यामा परेका खेलाडीलाई सहयोग गरिदिनसमेत आग्रह गर्छन्।
मनाङका कोरा पैसा कमाउन विदेशी खेलाडी नेपाल आउने गरेको स्वीकार्छन्। ‘धेरैजसो खेलाडीहरू नेपालमा खेल्न नपाए भारतमा खेल्ने सोचका साथ आउँछन्,’ उनी थप्छन्, ‘नआऊ भन्दा नराम्रो मान्छन्।’
विदेशी खेलाडीले आफूलाई क्लब मिलाइदिनका लागि अनुरोध गर्ने गरेको कोरा सुनाउँछन्। उनलाई नेपाली भाषा बोल्न आउँछ।
उनी कोरोना महामारीको असहज परिस्थितिमा विदेशी खेलाडीलाई घर पठाउन सबैको सहयोगको खाँचो रहेको बताउँछन्।
के भन्छ एन्फा ?
‘विदेशी खेलाडीलाई हामीले सहयोग गरेका छौं,’ एन्फाका महासचिव तुलाधर भन्छन्।
घर पठाउन खोज्दा दर्ता भएका विदेशी खेलाडीले यही बस्ने भनेको तुलाधर बताउँछन्। ‘त्यसपछि एन्फाले उनीहरूलाई आफ्नै सुरले बस्न छाडिदिएको हो,’ तुलाधर सुनाउँछन्।
व्यावसायिक फुटबल खेल्न यहाँ आउने विदेशी खेलाडीले नेपाल खेलकुद परिषद्, गृह मन्त्रालय र एन्फामा नाम दर्ता गराउनुपर्ने हुन्छ।
‘इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट लिएर ‘ए’ डिभिजन लिग खेल्न आउनेको नाम दर्ता हुन्छ। तिनीहरूलाई एन्फाले क्लबसँग कुरा गरेर घर पठाउन पहल गर्दैछ,’ तुलाधर थप्छन्।
खेल सकिनेबित्तिकै सबैजसो क्लबले बिदेशी खेलाडी फिर्ता गराउने गरेको उनी बताउँछन्। ‘लिग सकिएपछि पनि लोकल लेभलका प्रतियोगिता खेल्न केही खेलाडी बस्ने गर्छन्,’ तुलाधर भन्छन्, ‘उनीहरू आफ्नै सुरले बस्छु भन्छन्, त्यसमा हामीले जबरजस्ती गर्ने कुरा भएन। भिसा भएसम्म बस्न पाउनु उनीहरूको अधिकारको कुरा हो।’
विदेशी खेलाडीबारे मिडियामा आएजस्तो समस्या आफूले नदेखेको तुलाधर बताउँछन्।
‘मिडियामा आएजस्तो समस्याबारे हामीलाई कसैले खबर गरेको छैन। दर्ता भएका खेलाडीलाई घर फर्काउन पहल हुँदैछ। अब दर्ता नभएका कोही छन् भने त हामीले पनि के गर्न सक्छौ ?’ उनी थप्छन्, ‘पर्यटक भिसामा नेपाल आएर बस्नेलाई हामीले खेलाडी मान्न पनि सक्दैनौं नि। तर, मानवताका आधारमा हामीले सबै खेलाडीलाई एकमुष्ट पठाउँछौं भन्दा उनीहरूले जान मानेनन्। अब एन्फामा दर्ता भएका विदेशी खेलाडीलाई घर फर्कन सहज वातावरण बनाउँदैछौं।’
‘पर्यटकको जिम्मा लिन सकिँदैन’
नेपाल फुटबल एजेन्सीका अध्यक्षसमेत रहेका तण्डुकार नेपालमा लिग खेल्न आएकामध्ये यही रहेकालाई कोठाभाडाको समस्या रहेको स्वीकार्छन्।
पैसा कमाउनका लागि घुम्न आएकाको जिम्मा राज्य वा क्लबले लिएन भन्नु ठिक नभएको उनको भनाई छ। ‘अब एन्फाले पठाउन सक्ने अवस्था छैन। क्लबको पनि छैन,’ उनले भने।
एन्फाले पीडित खेलाडीलाई राहतस्वरूप सबै जिल्ला र क्लबलाई ७५ हजार रूपैयाँ वितरण गरिसकेको छ।
तण्डुकार एन्फा, खेलकुद परिषद् र गृह मन्त्रालयमा सूचीकृत खेलाडीलाई चाडै देश फर्काउन पहल भइरहेको उनी बताउँछन्। ‘आफ्नै सुरले आएकाहरूको त हामीलाई पनि के थाहा हुन्छ ? र पनि मानवताको हिसाबले हामीले दाल–चामल दिएका छौं। विभिन्न दाताहरूले दिइरहनुभएको छ। बाँकी खर्च त आफ्नै सुरले बसेपछि आफैले म्यानेज गर्नु पर्यो नि होइन र ?’ तण्डुकार भन्छन्।
‘आर्थिक सहयोग सक्दैनौं’
‘विदेशी खेलाडीहरू कहिले नेपाल त कहिले भारत गरिरहेका हुन्छन्। कोरोनाकालमा उनीहरू नेपालमा थुनिए,’ जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन्, ‘उनीहरूलाई हामीले रिलिज गराइसकेका छौं।’
रिलिज गरिसकेको खेलाडीको आर्थिक भार नेपालको कुनै पनि क्लबले उठाउन सक्ने अवस्था नरहेको उनी सुनाउँछन्।
क्षेत्री भन्छन्, ‘यस्तो समयमा अनुबन्धित नभएका खेलाडीको सबै जिम्मा क्लबले लिन सके राम्रो हुन्थ्यो। तर, त्यो अवस्था नेपालको कुनै पनि क्लबको छैन।’
अध्यक्ष क्षेत्री विभागीय क्लबहरूबाहेक अन्यको आर्थिक अवस्था राम्रो नभएको बताउँछन्। ‘क्लबहरूले विदेशी खेलाडीलाई समस्या भयो भनेर सकेको आर्थिक तथा रासनमा सहयोग गरिरहेकै छ,’ क्षेत्री थप्छन्, ‘कति खेलाडीलाई डबल पैसासम्म दिएका छौं।’
त्यस्तै, सरस्वतीका अध्यक्ष शिखित पराजुली विदेशी खेलाडी लिग खेल्न पाइने आशले नेपालमा बसेको बताउँछन्। ‘उनीहरू दुई–चार महिनामा कोरोना नियन्त्रण भइहाल्छ सोचेर आफ्नो देश गएनन्। अब लिग हुने सम्भावना नभएकाले छटपटाइरहेका छन्,’ उनी थप्छन्, ‘हामीले गर्न सक्ने सहयोग गरेकै छौं। बाहिर पठाउन अहिले टिकट महँगो छ।’
भिसा नवीकरण गर्न नपाएकाले दैनिक ८ डलर जरिवाना लाग्ने गरेको छ।
राज्यले भिसा नवीकरण जरिवाना मात्र कम गराइदिए पनि जसोतसो विदेशी खेलाडीलाई देश फर्किन सहज हुन्थ्यो भन्ने पराजुलीको बुझाइ छ।
‘उनीहरू नेपाल र भारतमा फुटबल खेल्छन्, देश फर्किन सकेसम्म चाहँदैनन्,’ पराजुली भन्छन्, ‘लिग खेल्न आएका खेलाडीलाई समस्या छ। तर, अब क्लबले उनीहरूलाई दिने हिसाबकिताव दिइसकेको छ। सम्झौता सकिसकेको छ। हाम्रो नैतिक समर्थन छ। तर, अरु सहयोग गर्न सक्ने नेपाली क्लबहरूको स्थिति छैन।’
‘दाताको सहयोगले घर फर्काउन सकिन्छ’
फुटबल व्यवसायी, फुटबलप्रेमी तथा दाताहरूको सहयोगले मात्र नेपालमा खेलिरहेका विदेशी खेलाडीहरू फर्कन सम्भव रहेको तण्डुकार बताउँछन्। ‘विचल्लीमा परेकाहरूमध्ये धेरै ट्रान्सफर सर्टिफिकेट नभएका र पैसाको लोभमा आफ्नै सुरले आएका धेरै छन्,’ तण्डुकार भन्छन्, ‘कानुनीरूपमा खेल्न नआएकाको जिम्मा राज्यले किन लिन्छ ? अब उनीहरूको विकल्प भनेको दाता नै हुन्।’
एन्फा महासचिव तुलाधर एन्फामा दर्ता भएका बाहेकका विदेशी खेलाडी भनिएकाहरूको पक्षमा एन्फाले केही गर्न नसक्ने बताउँछन्। ‘अब हामीले कानुनीरूपमा हेर्ने हो। विदेशबाट खेल्नकै लागि आएकालाई क्लबसँग समन्वय गरेर फकाउँछौं,’ तुलाधर भन्छन्।
यो अवस्थामा हाम्रो भूमिका निभाउन चुनौती रहेको उनको भनाइ छ। ‘हामीले गर्नु पर्नेलाई सहयोग गर्छौं। तर, दर्ता नै नभएकालाई हामीले कसरी खेलाडी मान्ने ?’ उनी प्रश्न गर्छन्।
मंसिर ९, २०७७ मंगलबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।