गर्भ जाँच गराउँदा उपहार !

गर्भ जाँच गराउँदा उपहार !

भैरहवा : गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्न जान प्रेरित गर्ने र मातृशिशु स्वास्थ्य प्रवर्द्धनका लागि भन्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ। 

अघिल्लो आर्थिक वर्षमा कार्यक्रम सुरु गरिएको भए पनि चालू आर्थिक वर्षमा परिमार्जनसहित निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

गर्भावस्थामा नियमित चार पल्ट सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई ‘उपहार’ दिने व्यवस्था गरिएको छ। 

उपप्रमुख जागेश्वरीदेवी चौधरीका अनुसार नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइनेछ। नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रूपमा क्याल्सियमसमेत दिनेछ।

यस्तै, गर्भवती महिलाले चा। महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाइ सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन्।

‘यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउनेछ भने यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने हाम्रो विश्वास छ,’ उपप्रमुख चौधरीले भनिन्।

गर्भावस्था विशेषावस्था भएकाले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको उनले बताइन्। कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइ मातृशिशु स्वास्थ्य प्रवर्द्धनमा टेवा मिल्ने नगरपालिकाको विश्वास छ।

‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने नगरपालिकाले जनाएको छ। सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीति अनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन्।

गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमूलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्याल्सियम चक्की, गर्भ जाँच लगायतका विषयमा रुजुसूचीको साथै गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ। यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्ने गरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ।

मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूलाई उपहार सेट प्रदान गरी कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य नै मानिसको पहिलो धन भएकाले नागरिकको स्वास्थ्य सेवा प्रवर्द्धनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

नगरभित्रका सरकारी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै उनले त्यसको लाभ उठाउन नगरबासीलाई आग्रह गरे। सरकारी स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने अनुभूति गराउने गरी काम भइरहेको उनको भनाइ छ। नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान गरिएको छ। यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाई छ।

मंसिर ९, २०७७ मंगलबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।