आलुको मूल्य पोहोरभन्दा दोब्बर 

आलुको मूल्य पोहोरभन्दा दोब्बर 

काठमाडौं : उत्पादन सिजन सुरु भए पनि आलुको मूल्य दोब्बरले बढेको छ। कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार अघिल्लो वर्षको तुलनामा सेतो आलुको मूल्य दोब्बरले बढेको हो।   

समितिका अनुसार आज रातो आलु प्रतिकेजी ७२, रातो आलु (भारतीय) प्रतिकेजी ७५ र सेतो आलु प्रतिकेजी ७० रूपैयाँ छ। गत वर्ष आजकै दिन (मंसिर ८ गते) रातो आलु प्रतिकेजी ४५, रातो आलु (भारतीय) प्रतिकेजी ३२ र सेतो आलु प्रतिकेजी ३५ रूपैयाँ थियो। 

आलुको खुद्रा मूल्य भन अझै बढी छ। समितिका अनुसार रातो आलु (भारतीय)को खुद्रा मूल्य प्रतिकेजी सयदेखि ११० रूपैयाँसम्म छ। यस्तै, नेपाली रातो र सेतो आलुको खुद्रा मूल्य प्रतिकेजी ९० देखि सय रूपैयाँसम्ममा बिक्री भइरहेको छ। 

स्वदेशमा पर्याप्त आलु उत्पादन हुन नसक्दा भाउ नघटेकोे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए। 

हिमाली र उच्च पहाडी भेगमा आलु उत्पादनको मौसम सकिए पनि काठमाडौं, काभ्रेसहित तराईका विभिन्न जिल्लामा नयाँ आलु उत्पादन सुरु भएको छ। तर, माग अनुसार उत्पादन हुन नसकेको व्यवसायी बताउँछन्। 

माग धान्न भारतबाट आलु आयात गर्नुपरेको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनका अनुसार गत साउन र भदौमा स्वदेशमा खपत भएको आलुको ८० प्रतिशतसम्म भारतबाट आयात भएको थियो। कात्तिकयता भने त्यो दर ६० प्रतिशत मात्रै छ। 

अहिले भारतमा पनि आलुको भाउ उच्च रहेको उनले बताए। उनले भने, ‘जबसम्म भारतमा आलुको भाउ घट्दैन तबसम्म नेपालमा पनि मूल्य घट्ला जस्तो देखिँदैन।’ 

नेपालमा मौसम आलु उत्पादनमा गिरावट आएकोले मूल्य वृद्धि भएको हो। उत्पादन घट्नु र लकडाउनका बेला बढी खपत हुन मूल्य वृद्धिको मुख्य करण भएको आलु व्यावसायीहरूको भनाई छ। 

अघिल्लो महिनाभन्दा सस्तो 

आलुको भाउ अघिल्लो महिनाभन्दा सस्तो भएको छ। एक महिनाअघि प्रतिकेजी ११५ रूपैयाँसम्म पुगेको आलुको मूल्य अहिले ७५ रूपैयाँमा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। कात्तिक ८ गते रातो आलु प्रतिकेजी ११५, रातो आलु (भारतीय) ६६ र सेतो आलु प्रतिकेजी ९५ रूपैयाँ रहेको थियो। 

नेपालमा नयाँ आलु उत्पादन हुन थालेपछि अघिल्लो महिनाभन्दा केही आलुको मूल्यमा गिरावट आएको प्रवक्ता श्रेष्ठले बताए। अबको केही दिनमा आलुको मूल्य घट्दै जाने उनको भनाई छ। अहिले नयाँ आलु उत्पादन हुने मौसम हो। उनले भने, ‘काठमाडौंको साँखु तथा काभ्रेको नाला, पनौती, पाँचखाल लगायतका क्षेत्रबाट नयाँ आलु आएपछि अघिल्लो महिनाभन्दा आलुको मूल्य केही मात्र सस्तिएको हो।’

वार्षिक ३१ लाख मेट्रिक टन उत्पादन 

नेपालमा वार्षिक करिव एक लाख ९३ हजार ९९७ क्षेत्रफलमा ३१ लाख १२ हजार ७४७ मेट्रिक टन आलु उत्पादन हुने गरेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओखलढुंगा, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौं, बाग्लुङ, दैलेख, बझाङ, अछाम, काभ्रे र डडेलधुरामा आलुका जोन तथा सुपरजोनहरू घोषणा गरिएको छ। 

नेपालमा वार्षिक आलु करिब तीन लाख मेट्रिक टन आलु आयात हुने गरेकोमा पाँच सय मेट्रिक टन मात्र निर्यात हुने गरेको सरकारी तथ्यांक छ।  
 

मंसिर ८, २०७७ सोमबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।