१०औं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव मंसिर १० देखि

१०औं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव  मंसिर १० देखि

काठमाडौं : नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सवको १०औं संस्करण मंसिर १० देखि १३ गते सम्म आयोजना हुने भएको छ।

नेपाली लोकवाजा संग्राहलयका संस्थापक रामप्रसाद कंडेलका अनुसार ‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ भन्ने नाराका साथ नेपाली लोक बाजा संग्रहालयले हरेक वर्ष मंसिर महिनामा अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आयोजना गर्दै आएको छ।

१०औं लोक संगीत चलचित्र महोत्सवमा विश्वका २४ वटा देशका २८ वटा चलचित्र  प्रदर्शन हुनेछ। हाम्रा अमूल्य अमूर्त सम्पदाहरु लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृती लोकपरम्परा र लोक जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक संगीत फिल्म महोत्सवको मुख्य उद्देश्य रहेको कंडेलले बताए। 

संस्थापक कंडेलका अनुसार विश्वका विभिन्न राष्ट्रहरुले आ–आफ्ना मौलिक लोक संस्कतीको अध्ययन अनुसन्धान र संरक्षणको लागि के–कस्ता कार्यहरु गरिरहेका छन्, मौलिक संस्कृती संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तराष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अभौतिक साँगितीक सम्पदाहरुलाई कसरी व्यवहारिक रुपमा संरक्षण, सम्वर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको उद्देश्य हो। 

यस वर्षको अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव कोभिड १९ को महामारीमा दिवंगत हुनु भएका सम्पूर्ण ज्ञात तथा अज्ञात संगीतकर्मीहरुको लोक संगीत प्रेम र जीवनभरको योगदानको सम्मान स्वरुप वहाँहरुको नाममा सर्मपण गरिएको छ।

मंसिर १० गतेको दिन साँझ त्रिपुरेश्वर महादेव मन्दिर, त्रिपुरेश्वरमा १०८ वटा दियो प्रज्वलन गरेर दिवंगत आत्माहरुको सम्मान गरिनेछ ।
 

मंसिर ८, २०७७ सोमबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।