कक्षा १२ को रोकिएको परीक्षा भोलिदेखि
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा भोलिदेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि सुरु हुने परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा नै गराउने योजना अनुसार परीक्षा केन्द्र, स्वास्थ्य सुरक्षा लगायतका तयारी पूरा गरिएको छ।
बोर्डका निर्देशक जंगबहादुर अर्यालले देशभरका ४ हजार १०५ परीक्षा केन्द्रबाट ४ लाख ३३ हजार १८० परीक्षार्थीले सहभागिता हुने जानकारी दिए। ‘लामो समयको तयारीपछि वैशाखमा हुनुपर्नेे परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी पूरा भएको छ।’ निर्देशक अर्यालले भने, ‘परीक्षामा हात धुने, सेनिटाइज गर्ने र भौतिक दूरी कायम गर्ने कुरालाई कडाइ गरिएको छ।’
कोरोना संक्रमणबीच परीक्षा गर्ने जनाए पनि उपत्यकामा हजारभन्दा बढी परीक्षा रहेका केही परीक्षा केन्द्र भने रहने बोर्डले जनाएको छ। कुन विद्यालयमा हजारभन्दा बढी परीक्षार्थी रहन्छन् भन्नेबारे भने केही जनाइएको छैन। यसैगरी पाँच सयभन्दा बढी विद्यार्थी भएका परीक्षा केन्द्रको संख्या १३३ छ। यसमा सयभन्दा कम परीक्षार्थी सहभागी हुने परीक्षा केन्द्रको संख्या भने २ हजार ४ छ। तीमध्ये प्रदेश १ मा ७१८ केन्द्र, प्रदेश २ मा ४६६, बाग्मती प्रदेशमा १ हजार ३२, गण्डकी प्रदेशमा ५३५ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ। यसैगरी, लुम्बिनीमा ६४७, कर्णालीमा २८१ र सुदूरपश्चिम प्रदेशमा ४२६ निर्धारण गरिएको छ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। छोटो समयमा परीक्षाको तयारी गरेका कारण सबै विद्यालयमा प्रश्नपत्र नपुगेको भए पनि अनलाइनमार्फत पठाउने योजना बनाएको बोर्डले जनाएको छ।
दुई हप्ताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो। कोरोना संक्रमणपछि भएका परीक्षामध्ये सबैभन्दा बढी विद्यार्थी सहभागी भएको यो नै पहिलो परीक्षा हो।
बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर दाँया–बाँया र अघि–पछि दुई मिटरको दूरी राखेर परीक्षा सञ्चालन गर्ने जनाएको छ।
परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको भएपनि केही जिल्लामा भने सबै प्रश्नपत्र पुग्न सकेको छैन । यी जिल्लामा अनलाइनबाट प्रश्न पठाइनेछ। कक्षा १२ को परीक्षालाई भौतिक रूपमा उपस्थिति भएर दिएकोमा ४०, कक्षा ११ को मूल्यांकन ४० र विद्यालयको आन्तरिक मूल्यांकनमा २० गरी १०० अंक मानिने छ।
मंसिर ८, २०७७ सोमबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।