डिजिटल एडिक्सनको डर

डिजिटल एडिक्सनको डर

काठमाडौं : २५ वर्षका हिमाल भण्डारी र २८ वर्षीय बिमल भण्डारी (नाम परिवर्तन) दाजुभाई अधिकांश समय इन्टरनेटमा बिताउँथे।

दाजुभाई नै विवाहित हुन्। २८ वर्षीय बिमल त छोराको बुबा समेत हुन्। उनीहरू कम्प्युटरमा राति १० बजेदेखि भोलिपल्ट बिहान उज्यालो हुँदासम्म पनि खेल्थे। उनीहरू पब्जीको लतमा यति धेरै फसिसकेका थिए की ‘पब्जी नखेली बस्नै सक्दैन थिए।’ नखेली चित्तै बुझ्दैन थियो। खेलमा नै रमाउन थालेका उनीहरूले निन्द्रा र काम बिर्सिन्थे। 

कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु हुनुअघिको कुरा हो। हिमाल र बिमलका बुबा दुई छोराहरूलाई लिएर मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ पुगे। 

डा. कपिलदेव उपाध्याय

खेलको यस्तो लतबाट छुट्कारा पाउने उपाय खोज्दै उनीहरू डा. उपाध्यायकहाँ पुगेका हुन्। डा. उपाध्यायले डिजिटल एडिक्सनबाट छुटकारा पाउने उपचार (औषधि) तथा परामर्श दिएपछि दुई छोरालाई लिएर हिमाल र बिमलका बुबा फर्किए। एक पटक फलोअपका लागि डा. उपाध्यायकहाँ पुगेका उनीहरूले लत कम हुँदै गएको बताएका थिए। त्यसपछि पुगेनन्। 

०००

डा. उपाध्याय अर्को केस पनि सम्झन्छन्। करिव १७ वर्षका रमेश कार्की (नाम परिवर्तन) लाई लिएर उनका बुबा मनोपरामर्शका लागि डा. उपाध्यायकहाँ पुगेका थिए। कक्षा ११ मा पढ्ने रमेश कलेज नै जान छोडेर अधिकांश समय इन्टरनेट चलाएर बिताउँथे। खानपानमा पनि वास्ता गर्दैनथे। राति अबेरसम्म खेलेर बिहानपख सुत्ने रमेश मध्याह्न १२ बजेसम्म सुत्थे। 

रमेशमा झर्किने, रिसाउने, भनेको नमान्ने जस्ता व्यवहार तथा लक्षण थिए। ती युवाको व्यवहार तथा लक्षणको आधारमा डा. उपाध्यायले उनको समस्या पहिचान गरे, ‘रमेश डिजिटल एडिक्सनमा फसिसकेका रहेछन्।’ 

डा. उपाध्यायले यो लतबाट छुटकारा पाउने उपायबारे परामर्श दिए। तर, रमेशलाई उपाध्याले परामर्श दिइरहँदा चिटचिटाहट भयो। रमेशले कुरा सुन्नै चाहेनन्। समस्या स्वीकार पनि गरेनन्। दुई पटकसम्म बुबाले  रमेशलाई परामर्शका लागि डा. उपाध्यायकहाँ लगे पनि त्यसपछि सम्पर्कमा नभएको उपाध्यायले बताए। डा. उपाध्यायले भने, ‘यस्तो समस्यामा परेका व्यक्ति परामर्श लिन पनि इरिटेट मान्छन्।’

०००

कक्षा ११ मा पढ्ने १८ वर्षका श्याम राई (नाम परिवर्तन) अधिकांश समय कम्प्युटरमा खेल खेलेरै बिताउँथे। सुत्ने निश्चित समय थिएन। समयमा नखाने, खानपानमा ध्यान जाँदैनथ्यो, जसले गर्दा श्यामको शरीर नै कमजोर भइसकेको थियो। पढाइ त डामाडोल भयो नै। साथीभाइको संगत नै हुन छाड्यो। चुरोट सेवन गर्थे। कुरा गर्दा पनि झर्कने तथा रिसाउन थाले। त्यसपछि श्यामकी आमाले त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझाकहाँ पुर्याइन्। त्यो एक वर्षअघिको कुरा हो। डा. वझाले पत्ता लगाए, ‘श्यामलाई डिजिटल एडिक्सनको समस्या भएको रहेछ।’

बुबा विदेशमा भएकाले आमाले भनेको समेत नमान्ने श्यामलाई डा. वझाले मनोपरामर्श दिए। श्याम पनि दुईपटक फलोअपमा पुगे। त्यसपछि पुगेनन्। 

०००

कक्षा १० मा पढ्ने १५ वर्षीय हरि पाण्डे (नाम परिवर्तन) डिजिटल एडिक्सनमा फसे। त्यसपछि मनोविद् गोपाल ढकालकहाँ एक वर्षअघि उनका बुबा–आमाले मनोपरामर्शका लागि लिएर पुगे। हरि कोठाबाट बाहिरै ननिस्कने, खाना पनि कोठामै लगिदिनुपर्ने, अधिकांश समय मोबाइल चलाएर बस्ने जस्ता लक्षण थिए। उनी विद्यालय नगएकै ६ महिना भइसकेको थियो। ढकालको परामर्शपछि हरि र उनका बुबा–आमा फर्किए। दोस्रोपटक हरिले फलोअपमा जान भने मानेनन्। त्यसैले हरिको घरमै पुगेर ढकालले परामर्श दिए। त्यसपछि अहिले हरिको अवस्था सामान्य हुँदै गइरहेको ढकालले सुनाए। 

०००

मनोचिकित्सक डा. उपाध्याय, डा. वझा र मनोविद् ढकालकहाँ डिजिटल एडिक्सनको समस्या भएर पुगेका व्यक्तिले परामर्श लिनै नचाहेको उनीहरूले अनुभव सुनाए। मनोचिकित्सकका अनुसार यस्ता समस्या भएका व्यक्तिले परामर्श लिनै चाहँदैनन्। त्यसैले अरुले परामर्श दिन र परामर्शका लागि मनोचिकित्सककहाँ लान आवश्यक हुन्छ। 

एडिक्सनका लक्षण

कम्प्युटर, मोबाइल, टिभीजस्ता प्रविधिका लतमा व्यक्ति फस्ने मनोचिकित्सक बताउँछन्। डिजिटल एडिक्सनमा पनि धूमपान तथा मद्यपान जस्तै लत हुने मनोविद् ढकाल बताउँछन्। कामको सिलसिलामा मोबाइल तथा कम्प्युटरको प्रयोग गर्नु ठिक भए पनि अनावश्यक रूपमा प्रयोगको लत लाग्दा समस्या उत्पन्न हुने उनी बताउँछन्। डा. वझाको विश्लेषणमा दैनिक आनावश्यक रूपमा मोबाइल तथा कम्प्युटरमा झुम्मिनु, यस्ता साधन चलाउन नपाउँदा छटपटी हुनुजस्ता लक्षण डिजिटल एडिक्सन हुन्। 

डा. वझाले भने, ‘लतमा फस्दा आफ्नो महत्त्वपूर्णको कामको वास्तासमेत नगर्दा समस्या निम्तन्छ।’ 

फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्रामजस्ता विद्युतीय सामाजिक सञ्जालमा पोटो, भिडियोजस्ता सामग्री पोस्ट गरिन्छ। तर, पोस्ट गरेका सामग्रीको लाइक तथा कमेन्ट कम आउँदा मानसिक तनावमा परी परामर्शका लागि मनोचिकित्सक तथा मनोपरामर्शदाताकहाँ पुग्नेको संख्या बढिरहेको मनोचिकित्सकको अनुभव छ। 

मनोविद् ढकाल दैनिक पाँच वटाभन्दा बढी सेल्फी खिच्नु र पाँच पटकभन्दा बढी फोटो अनावश्यक रूपमा खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुलाई लतको संज्ञा दिन्छन्। 

यस्तो लतमा परेका व्यक्ति झर्कने, ननिदाउने, रिसाउने, तनाव भयो भन्दै धूमपान तथा मद्यपान सेवन गर्ने लक्षण देखाउने उनी बताउँछन्। मोबाइल तथा कम्प्युटरजस्ता प्रविधिमा खेल खेल्ने, युट्युब हेर्ने, फेसबुक चलाउने जस्ता डिजिटल एडिक्सन हुन्छन्। लकडाउनको समयमा अझ बढी यस्तो समस्या बढेको ढकाल बताउँछन्। 

यस्तो छ जोखिम

मोबाइल तथा कम्प्युटरको लतमा फस्दा व्यक्तिगत (शारीरिक तथा मानसिक), पारिवारिक, सामाजिक जीवनमा नकारात्मक असर पार्नेतर्फ मनोचिकित्सक सजग गराउँछन्। डा. वझाले भने, ‘डिजिटल एडिक्सनमा परेका व्यक्ति समयमा नखाने र समयमा नसुत्ने हुँदा शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ।’

मनोचिकित्सक डा. उपाध्यायले कम्प्युटर तथा मोबाइलमा गेम (खेल) खेल्दा विशेषगरी युवाहरूमा यस्तो समस्या बढी देखिने गरेको बताए। पब्जी जस्तो गनफायर गरी एट्याक गर्ने एडिक्सनले हार्न मन लाग्दैन। 

प्रविधिको लतमा परेका व्यक्ति एकछिन् पनि मोबाइल तथा कम्प्युटरजस्ता साधन प्रयोग गर्न नपाउँदा तनावमा पर्छन्। तनाव बढ्दै जाँदा विभिन्न किसिमका मानसिक समस्याको जोखिम हुनेतर्फ मनोचिकित्सक सजग गराउँछन्। 

भेट्यो की सुट गरिहाल्ने किसिमका खेलको लत लागेका व्यक्तिको मस्तिष्कमा भेट्यो की हानिहाल्ने तथा मारिहाल्ने नेटवर्क बन्छ। डा. उपाध्यायले भने, ‘मर्ने र मार्ने किसिमका खेलको लत बस्दा वास्तविक जीवनमा पनि त्यस्तै मनोविज्ञान बन्छ।’ 

त्यसैले प्रविधिको यस्तो लतमा परेका व्यक्ति रिस सहन सक्दैनन्, जसले व्यावहारिक जीवनमा पनि व्यक्तिले हत्या तथा अपराधिक क्रियाकलाप गर्ने जोखिम हुनेतर्फ ढकाल सजग गराउँछन्। 

खेल हार्दा तनाव उत्पन्न हुनेतर्फ डा. उपाध्यायको भनाइ छ। ‘डिजिटल एडिक्सनमा परी दैनिक काम र निद्रामा नोक्सान हुन्छ,’ डा. उपाध्यायले भने, ‘काम नगरेपछिको र ननिदाएपछिको साइड इफेक्ट समस्या हो।’ 

मनोविद् ढकाल प्रविधिको लतको तनावका कारण सेरोटोनिन, डोपामिन जस्ता हार्मोनको सक्रियतामा कमी हुने बताउँछन्। त्यसैगरी तनाव निम्तिने कोर्टिसोलजस्तो हार्मोनको सक्रियता हुँदा डिप्रेसनको जोखिम हुन्छ। त्यति मात्रै हैन, प्रविधिको विकिरणका कारण अन्य स्वास्थ्य समस्या पनि निम्तनेतर्फ चिकित्सक सजग गराउँछन्। 

त्यसैगरी युट्युबमा अश्लील भिडियो (पोर्न भिडियो) हेर्दा पनि समस्या निम्तने गरेको मनोचिकित्सक बताउँछन्। डा. उपाध्यायले भने, ‘युवाहरूले यौनसँग सम्बन्धित भिडियो हेरेर यौनजन्य अभ्यास गरेको पाइन्छ।’ 

यसरी ‘पोर्न साइट’ हेर्ने लत परेका व्यक्तिले व्यावहारिक रूपमा पनि अस्वभाविक यौन क्रियाकलाप गर्ने जोखिम बढिरहेको मनोचिकित्सक बताउँछन्। ढकाल पनि पोर्न भिडियो हेर्दा व्यावहारिक रूपमा पनि व्यक्तिले अस्वभाविक यौन क्रियाकलाप गर्ने तथा बलात्कारजस्तो अपराधिक क्रियाकलापमा संलग्नताको जोखिम हुने बताउँछन्। 

खटपटले तनाव

सामाजिक सञ्जालमा दैनिक ३÷४ घण्टाभन्दा बढी समय बिताउँदा डिजिटल एडिक्सनको समस्या देखिने गरेको मनोचिकित्सक बताउँछन्। राति अबेर तथा एउटै समयमा नसुत्दा मस्तिष्क उत्तेजित भइ तुरुन्त निद्रा नलाग्नेसमेत समस्या हुन्छ। व्यक्तिको भविष्य नै अन्धकार हुन्छ। त्यसैले कामको सिलसिलामाबाहेक व्यक्तिले मोबाइल तथा कम्प्युटरजस्ता प्रविधि दुई घण्टाभन्दा कम चलाउन डा. वझाको सुझाव छ। 

डिजिटलको दुनियामा रमाउने लत पर्दा काल्पनिक संसारमा डुबी पारिवारिक सम्बन्धमा खटपट हुने समस्या लिएर परामर्शका लागि मनोपरामर्शतादाकहाँ पुग्नेको संख्या पनि बढिरहेको ढकाल बताउँछन्।

घरमा बस्दा पनि कम्प्युटर तथा मोबाइलमा बढी रमाउँदा परिवारमा कुराकानी कम हुन्छ। यसले एउटै परिवारभित्र पनि कुराकानी कम हुँदा एक अर्काको भावना तथा समस्या साटासाट हुँदैन, जसले परिवारभित्र पनि कलह तथा पारिवारिक सम्बन्धमा समस्या बढिरहेकोतर्फ मनोविद् ढकाल सजग गराउँछन्। यसले भाषा, संस्कारमा समेत असर पर्छ। त्यसैले घरमा बस्दा परिवारका सदस्यसँग कुरा गर्न मनोचिकित्सकको सुझाव छ। 

एडिक्सन नहुँदै सचेत

मनोचिकित्सकका अनुसार डिजिटल एडिक्सनबाट छुटकारा पाउने विशेष औषधि छैन। ‘विशेष गरी यही औषधि खाएर एडिक्सन छुट्छ भन्ने छैन,’ डा. उपाध्यायले भने, ‘एडिक्ट भएकोे बानी छुटाउने हो। तुरुन्त बानी छुट्न मुस्किल पर्छ।’ 

विस्तारै लतमा परेका व्यक्ति आफै छोड्ने मोटिभ हुनुपर्छ। डा.उपाध्यायका अनुसार केही सहयोगी (सपोर्टिभ) औषधि तथा थेरापीका माध्यमबाट भने विस्तारै डिजिटल एडिक्सनबाट छुटकारा पाउन सकिन्छ। डा. उपाध्यायले भने, ‘औषधि र परामर्शभन्दा पनि लतमा परेकाहरूलाई मोटिभेसन हुनुपर्छ।’

त्यसैले डिजिटल एडिक्सनमा नफस्नु नै सबैभन्दा बुद्धिमता हुने मनोचिकित्सक बताउँछन्। युवा अवस्थाका व्यक्ति नै डिजिटल एडिक्सनको बढी सिकार हुने गरेको मनोचिकित्सकको अनुभव छ। यो उमेरमा लत पर्दा लतबाट छुटकारा पाउन पनि कठिन हुन्छ।

त्यसैले अभिभावक तथा विद्यालयहरूले आफ्ना बालबालिकालाई निगरानी गर्न चिकित्सकको सुझाव छ। डा. वझा परिवारमा सँगै बसेर खाने तथा गफगाफ गर्नु उचित हुने सुझाउँछन्। ढकाल पनि यस्ता प्रविधि कम चलाउँदै जाँदा लत कम हुने बताउँछन्। 

मंसिर ८, २०७७ सोमबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।