कोरोना कहर : कर्णालीका ३० प्रतिशत होटल बन्द, पाँच हजारको रोजगार गुम्यो

कोरोना कहर  : कर्णालीका ३० प्रतिशत होटल बन्द, पाँच हजारको रोजगार गुम्यो

सुर्खेत : कोरोना महामारीले गर्दा कर्णालीको पर्यटन उद्योग धरासायी बनेेको छ।

लकडाउन, निषेधाज्ञा र बढ्दो सक्रमणका कारण होटल व्यवसायी प्रत्यक्ष मारमा परेका छन्। होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले आम्दानी शून्य हुँदा अन्य व्यवसायी, रेस्टुरेन्ट सञ्चालकलाई कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्च लगायतले पिरोलेको बताए।

 


अध्यक्ष रावतका अनुसार उपत्यकामा १४ सय होटेल दर्ता भएका छन्। उनले कारोना सक्रमणले यहाँका ३० प्रतिशत व्यवसायी पलायन भएको बताए।

‘यसबीच होटेलमा काम गर्ने पाँचहजार बढी श्रमिकले रोजगार गुमाएका छन्’ रावत भन्छन् ‘यहाँका व्यवसायीको अवस्था धेरै नै गाह्रो छ।सरकारले समयमै उचित सम्बोधन नगरे रेष्टुरेन्ट व्यवसायी पलायन हुने अवस्था हुन्छ।’

पछिल्लो समय रेस्टुरेन्टमा जाने, खाने र रमाइलो गर्ने संस्कृति मौलाइरहेको थियो। रेस्टुरेन्ट व्यवसायको लगानीलाई अरूभन्दा सुरक्षित र प्रतिफलमुखी मानिएको थियो। तर, एकाएक आएको कोरोना संकटले यो व्यवसायलाई थला पारिदिएको छ।

वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेल सुर्खेतका धेरै व्यवसायीहरुले पसल विक्रीमा राखेको बताए। उनका अनुसार सुर्खेतमा करिब ६० जना होटेल व्यवसायी पलायन भईसकेका छन्। 

सुर्खेतमा धेरै व्यवसायीहरु पलायन हुने अवस्थासम्म पुग्दा पनि प्रदेश सरकारले केही गर्न नसकेको उनको गुनासो उनको छ। उनले भने ‘कमसेकम प्रदेश सरकारले व्यवसायीहरुका हितका लागि राहत प्याकेज ल्याएर दिनसक्थ्यो। तर अहिलेसम्म त्यो पनि गर्न सकेको छैन।’

कंडेलले भने‘संघीय तथा प्रदेश सरकारले ल्याएको बजेटमा हाम्रा मागहरु सम्बोद्धन हुने खालका कुनै पनि कार्यक्रमहरु नआउनुले राज्यले हामीलाई उपेक्षा गरेको महसुस गरेका छौ।’

सुनसान पर्यटकीय क्षेत्र

कोरोना भाइरसको असर पर्यटन क्षेत्रमा पनि परेको छ।कोरोना भाइरस रोकथामका लागि गत चैतदेखि सुरु भएको लकडाउन तथा विभिन्न निषेधाज्ञाले सुर्खेतको पर्यटकीय क्षेत्र नराम्ररी थला परेको छ।प्रदेश राजधानी सुर्खेतको लगायत  प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु कोरोनाको असरले सुनसान बनेका छन्।

दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको काँक्रेविहार भग्नावशेष, बुलबुले ताल, देउती बज्यै मन्दिर, मुगुको रारा ताल,डोल्पाको से फोक्सुण्डो, दैलेखको पञ्चकोशी, सल्यानको कुभिण्डे दहजस्ता प्रख्यात पर्यटकीय स्थलहरु कोरोना कहरको शिकार बनेका छन्।

विगतमा हजारौंको संख्यामा आउने स्वदेशी तथा विदेशी पर्यटक अहिले नआउँदा एकातिर पर्यटकीय स्थल सुनसान बनेका छन भने अर्कोतिर आम्दानी पनि करिव शुन्यमा झरेको छ।

जंगलको बिचमा निमार्णाधीन अवस्थामा रहेको काँक्रेविहार मन्दिर अवलोकनका साथै पिकनिक खान, घुमफिर गर्नका निम्ति विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेपनि लकडाउन निषेधाज्ञाले कोही पनि जाँदैनन्।

कांक्रेविहार बन संरक्षण समितिका कोषाध्यक्ष चन्द्रा श्रेष्ठले घुम्नमा रोक लगाइएपछि कांक्रेविहार हेर्न कोही नआएको बताइन्।

अवलोकनकर्ताहरु नै नआउने हुँदा आम्दानी पनि नभएको उनको भनाइ छ। अघिल्लो बर्ष रारा घुम्न जानका लागि आएका आगन्तुकले भरिभराउ हुने प्रदेश राजधानी वीरेन्द्रनगरका होटलहरु अहिले प्रायः बन्द अवस्थामा छन्। कोरोनाका कारण होटल बन्द हुँदा होटल व्यवसायीहरुलाई करोडौंको घाटा भएको बताइन्छ।

होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले रारा जाने पर्यटकहरुले सुर्खेतका होटल भरिभराउ हुने गरेकोमा

यसबर्ष सुख्खा भएको बताउँछन्। उनले लकडाउन र निषेधाज्ञाले होटलहरु थला परेको भन्दै व्यसायीहरु नै पलायन भइसकेको बताए। लकडाउनका कारण कर्णाली प्रदेशमा अर्ब बढीको क्षति होटल व्यवसायीहरुले भोग्नुपरेको दावी उनले गरे।  

यस्तै सुर्खेतको अर्को पर्यटकीय स्थल बुलबुलेले पनि लकडाउनको मार खेपेको छ।अहिले बुलबुलेमा कुनै पनि आगन्तुकहरु नआएको बताइन्छ। बुलबुले संरक्षण गर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले लकडाउन निषेधाज्ञाले बुलबुले बन्द रहेको बताए।

बुलबुलेमा लकडाउन अघि दैनिक चार हजारसम्म आन्तरिक पर्यटकहरु अवलोकन गर्न आउने गरको भन्दै अहिले सुनसान रहेको जानकारी दिए ।पर्यटकहरुबाट उठेको राजश्वले बुलबुलेमा १३ जना कर्मचारी व्यवस्थापन गरिएको उनको भनाई छ।

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले चैतदेखि कोरोनाका विरुद्धको लकडाउनका कारण प्रदेशमा कति पर्यटक आए भन्ने कुनै तथ्यांक राख्न नसकिएको बताए।

उनले सुर्खेतको काँक्रेविहार, बुलबुले, मुगुको राराताल र डोल्पाको शे–फोक्सुण्डो तालमा पर्यटकहरु बढी आउने गरेको तर कोरोना कहरले गर्दा यहाँ पनि पर्यटकहरु नआएको जनाए।

चैतदेखि पर्यटक आउने काम झण्डै शुन्यको अवस्थामा आएको र राजश्व पनि संकलन हुन नसकेको उनको भनाइ छ। उनका अनुसार अघिल्लो बर्ष प्रदेशका सवै जिल्लामा गरी करिव तीन लाख पर्यटक कर्णालीमा भित्रिएका थिए।

 

मंसिर ७, २०७७ आइतबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।