कामदार अभावमा ईटा उत्पादन अनिश्चित : विकास निर्माण प्रभावित हुने
विराटनगर : मजदुर अभावका कारण उद्योगले नयाँ इटा उत्पादन थालेको छैन।
ईटा उत्पादन गर्ने सिजन सुरू भइसके पनि भारतीय मजदुर नेपाल आउने अवस्था नभए पछि यहाँका ईटा उद्योग मजदुर अभावकै कारण सञ्चालन गर्न समस्या भएको इटा व्यवसायीहरूले बताएका छन्।
कोरोनाका कारण नेपाल –भारत अन्तराष्ट्रिय सीमा नाका बन्द छ। दुवै देशमा कोरोना संक्रमण बढिरहेका कारण भारतका मजदुर सहजै काममा आउने स्थिति पनि छैन।
भारतीय मजदुरमा निर्भर यहाँका इटा उद्योग भारतबाट मजदुर आउने अवस्था नभए पछि सञ्चालन गर्न गाह्रो भएको हो। नेपालका इट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत भन्दा बढी मजदुर भारतबाट आउने गरेका छन्।
मजदुर अभावका कारण इट्टा उत्पादनमा समस्या भएको कोसी इट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले बताए। मजदुर अभावकै कारण यो वर्ष पूर्वमा इट्टा उत्पादन हुने संभावना नरहेको साहले बताए।
इटा उद्योगले हिउँदको सिजनमा मात्रै इट्टा बनाउने गर्दछन्। इटा उद्योगमा दक्ष र अदक्ष दुबै किसिमका मजदुर भारतको पश्चिमबंगालको कुचबिहार जिल्लाबाट आउने गरेका छन्।
इटा उद्योगीले पहिले नै एक सिजनको रकमभुक्तानी गरेपछि उनीहरु स–परिवार आवासिय रुपमा उद्योगमा काम गर्न आउँछन्।
विगत वर्षमा भदौ अन्तिमदेखि असोज भित्रमा उनीहरु उद्योगमा आई काम गर्ने र वैशाखमा घर फर्कने गर्दथ्ये।
तर, यो बर्ष भारतीय मजदुर उद्योगमा काम गर्न मंसिर सम्म पनि आएका छैनन्। इटा भट्टामा काम गर्ने मजदुर ल्याउन स्थानीय प्रशासनसँग माग गरेपनि प्रशासनले अनुमति नदिएको व्यवसायीको गुनासो छ।
अम्वे इटाका सञ्चालक दिनेश अग्रवालका अनुसार भारतबाट कामदार ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिए पनि कार्यालयले अनुमति नदिएको गुनासो गरे। ‘भारतबाट मजदुर ल्याउन जिल्ला प्रशासन कार्यालयले मोरङले अनुमति दिएन’ उनले भने,‘जिल्ला प्रशासन कार्यालय आफ्नो अधिकार क्षेत्र हैन भन्दै पन्छिने गरेको छ।’
इटा उत्पादन रोकिंदा विकास निर्माणका काम प्रभावितहुने निर्माण व्यवसायी संघ मोरङका कोषाध्यक्ष दाताराम पौडेल बताउछन्। कामदार अभावले इटा उत्पादन हुने अवस्था नभएको र व्यवसायीहरूले मूल्यसमेत बढाउन थालेको पौडेलले बताए। हालसालै इटाको मुल्यमासमेत बृद्धि भएकोले अघिल्लो वर्ष सम्झौता भएका कामसमेत प्रभावित भएको उनले बताए।
उनले भने,‘इटा उत्पादन नहुँदा बजारमा अभाव भई अझै थप मूल्य बृद्धि हुने स्थिति रहेको छ। ’प्रदेश १ का ८५ इटा उद्योगले वार्षिक ३ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको कारोवार गर्दछन्। औसत प्रति इटा १५ रुपैयाका हिसावले प्रदेश १ मा वार्षिक २२ करोड भन्दा बढी इटा हुने गरेको देखिन्छ।
गत वर्ष उत्पादीत इटा प्रयोगमा आइरहेकोले तत्काल समस्या देखिएको छैन । तर, यो सिजनमा इटा उत्पादन हुन नसकेको अवस्थामा विकास निर्माणमा असर गर्ने देखिन्छ।
प्रदेश १ का उद्योगमा २२ हजार बढी भारतीय मजदुरले कामगर्ने गरेको इटा व्यवसायी संघले जनाएको छ। संघले उद्योग मन्त्रीलाई ईट्टाउद्योग संचालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए पनि भारतबाट सहज रुपमा मजदुर आउने अवस्था देखिंदैन। इट्टा उत्पादन नभए व्यक्तिगत आवास र विकास निर्माणसमेत प्रभावित हुने व्यवसायीहरू बताउँछन्।
मंसिर ७, २०७७ आइतबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।