भित्ते क्यानभासमा रमाएको मन
काठमाडौं : जटा परेको कपाल, झुस्स दाह्री र हँसिलो अनुहारका सुमन वाग्लेको रंगसँगको चिनजान पुरानो हो।
तर चार वर्ष अघि सम्म उनी सेनामामात्र जागिर खाने सपना देख्थे। खाली भितामा आकर्षक चित्र बनाउने सुमनले चित्रकलालाई पेशाकोरुपमा विकास गर्छु भन्ने कहिलेै सोचेका थिएनन्।
किशोराअवस्थामा सेनामा भर्ना हुन काठमाडौं वनस्थलीबाट शंखमुल मार्चपास गर्दथे सुमन। त्यसैगरी सामान्य ज्ञान रटान लगाउँथे। तर सोचेजस्तो भएन। उनी सेनाको छनोटमा पहिलो चरणबाटै बाहिरिए। त्यसपछि भने उनको जीवनले नयाँ मोड लियो। बन्दुक बोक्न खोज्ने हातहरुले कुँची समाए। भित्ताहरुमा कला भर्नेे काममा आजकाल उनी तल्लिन छन्।
‘नसोचेको जे हुन्छ नी, त्यँही हो जीन्दगी’ सुमन भन्छन् ‘मैले कहिल्यै भित्तेकला गरेर जीविकोपार्जन गर्छु भनेर सोचेको थिइन, तर यही नै मेरो पेशा बन्यो’ उनले भने। भित्तेकलालाई आफ्नो पेशा हो भन्न पाउँदा उनलाइ निकै आत्मसन्तुष्टी हुन्छ।
सुमनको बाल मनोविज्ञानमा परिवारका दुईजना अभिभावकको व्यत्तित्वको प्रभाव परेको उनी बताउँछन्। एउटा ठूलो बुबा जो सेनामा जागिरे थिए। ‘मेरो ठुल्बा आर्मीमा हुनु हुन्थ्यो, मलाइ उहाँको ज्यान र उहाँले लगाउने पोशाक खुबै मन पर्दथ्यो। अर्कोपट्टी बाबाको कुची चलाएर जीविकोपार्जन गर्ने पेशाले पनि प्रभाव पारिरहेको थियो।‘
मलाई यो क्षेत्रमा लाग्न मेरो बाबाको सपोर्ट भयो। उहाँ आफै आर्टिक्ट हुनु भएकाले बेलाबेलामा सिकिराख भन्नुहुन्थ्यो। सिक्ने माहोल सानै देखि भयो’ सुमन थप्छन् ‘बाबाको सपोर्ट थियो तर बैकल्पिक सीपको रुपमामात्र भित्तेकलालाई लिए हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो।’
‘मेरो बाबा नम्बर प्लेट, ब्यानर बनाउने काम गर्नुहुन्थ्यो। सशस्त्र द्वन्द्व र प्रविधिको बिकासका कारण उहाँको ब्यानर बनाउने सीप प्रयोगबिहिन भयो’ सुमन भन्छन्, ‘‘आर्ट, पार्ट टाईम एक्स्ट्रा कमाई गर्न काम लाग्छ भन्ने मात्र थियो। आर्मी हुने संभावना नै रहेन, त्यसपछी बैकमा जागीर खान परिवारबाट दवाब पनि आयो।’ जागीरको तयारीमा उनी जुटे पनि। त्यतीन्जेल सुमन ब्याचलर पढ्दै थिए।
त्यसैबीच सामाजिक संजालमा चर्चित फेसबुक ग्रुप दाह्री ग्याङमा वीर अस्पतालका भितामा आकर्षक कलाकारीता गर्ने मान्छेको खाचो परेको पोस्ट सुमनले देखें। उनी आफै पनि त्यो ग्याङका सदस्य थिए। धुर्मुस सुन्तलीको त्यस सरसफाइ र मर्मत अभियानमा उनले भौगोलीक मौलीकता बोकेका आस्था र प्रतीकका चित्रहरु भितामा उतारे। स्कुलले जीवनबाटै चित्रकलामा तारिफ कमाउँदै आएका सुमनका लागि वीर अस्पतालका भित्रामा कुँची चलाउन असहज भएन।
‘वीरका पर्खालमा कोरोका चित्र सबैले मन पराएं, आर्टिक्ट भनेर मान, सम्मान दिएँ’ सुमन भन्छन् ‘पकेट खर्चको लागि भित्तेआर्ट र मुहार चित्रहरु बनाउने काम स्कुुल लाईफबाटै गरिरहेको थिएँ। अलिअलि कमाइ भएपनि घरपरिवार सबैको जागीरमा नै जोड थियो ।
ब्यबस्थापन पढेको मान्छे ।’ उनी थप्छ्न ‘सबैले बैंकमा जागीर खानुपर्छ भन्नथाले, त्यसपछी कृषि बिकास बैंकमा इन्टनसिप गर्न थालेँ। त्यै बेला वीरमा चित्र बनाउने मौका मिल्यो। कृषि विकास बैंकको चार महिने जागीर सुमनले त्यत्तिकै छोडिदिए।
‘मलाई आफ्नो कला मान्छेले मन पराउँदा निकै खुसि मिल्यो’ सुमन भन्छन् ‘वीरमा चित्र बनाउन जाने पक्का भएपछि बैंकको सोधपुछ कक्षमा आफ्नो निशानी होस भनेर नेपालको मौलिकता झल्किने भितेचित्र बनाएँ। सुमन थप्छ्न् ‘ वीर अस्पतालका रंगिन भित्ता मेरो लागि टर्निङ पोइन्ट बन्यो। अहिलेसम्म कम्तिमा १२० भन्दा बढी भितामा मैले आर्ट गरि सकेँ। यहि पेशाले मेरो आवश्यकता पुरा भएका छन्, म रमाइरहेको छु।’
प्रकृतिलाई आफ्नो गुरुमान्ने २५ वर्षीय सुमन भौगोलिक परिदृश्य, प्राकृतिक सौन्दर्य, मुहार चित्र, थ्री डी भित्तेचित्रका साथै देविदेउता लगायतका विभिन्न बस्तु तथा प्रतिकको चित्र भित्तामा उतार्ने गर्छन। आफ्ना ग्राहाकको इच्छा र सोचाईलाई रंगहरुले जीवन भर्ने सुमन भन्छन्, ‘दर्जनौं रेस्टुरेन्टका भित्ता रङ्याइयो। दर्जनौ स्कुलका भिता पनि रंग्याइयो। सार्वजनिक स्थानका पुराना फोहोर भित्ताहरुमा पनि चेतनामुलक धेरै आर्टहरु बनाईयो।’
सुमनलाई भित्तेकला हरेक ठाउमा होस भन्ने लाग्छ। ‘भित्तेकलाले ठूलो समुहमा आफ्नो प्रभाव एकै पटक प्रवाह गर्न सक्छ। सोच बदल्न सक्छ ’ उनी भन्छन् ‘भित्तेकलामा नयाँ पुस्ताको रुची बढ्दै गएको छ। व्यवसायिकताको अभ्यास सुरु भएको छ,म आशावादी छु।
धुर्मुस सुन्तली र दाह्री ग्याङप्रति आभारी सुमन भन्छन् ‘दाह्री ग्याङ र धुर्मुससुन्तली फाउन्डेशनले त्यो एक अवसर दिएको थियो अहिले म भित्तेकलालाई पेशा मान्न सक्ने अवस्थामा छु।’ कलाक्षेत्रमा तत्काल प्रतिफल खोजेर अत्तालिन नहुने सुझाव दिदैं सुमन भन्छन् ‘साधना गरिरह्यो भने कसैले न कसैले हामीलाइ हेरिरहेकै हुन्छ ।
आफ्नो लक्ष्यबाट भाग्नु भएन, एक समयमा सपोर्ट गदिने मान्छे भेटिन्छ, भेटिन्छ। अवसर आउँछ आउँछ।’ व्यवस्थापनमा मास्टर पढिरहेका सुमनलाई आजकल यस्तै लाग्छ।
जिग्री र पाण्डेको डिल्लिबजारस्थित इचिवान रेस्टुरेन्टमा भित्तेकला बनाउने अवसर पाएका सुमनको त्यसपछी भने चर्चा एक्कासी ह्वात्तै बढेको अनुभव गरेका छन्। ‘मेरो काम मन परेर पाण्डे, जिग्रीले बोलाउनुभयो। त्यो मेरो करियरको सेकेन्ड टर्निङ पोइन्ट बन्यो।’ सबैले भिता चित्र बनाउने केटो भनेर चिन्दा सेना वा बैंकर नबनेर सही गरेछु झै लाग्छ सुमनलाइ।
‘कामको अभावले खाली बस्नु पर्ने अवस्था छैन। यो महामारीमा पनि काम गरिरहेको छु’ सुमन भन्छन् ‘कलालाई चिन्न सके नामदाम कमाउन गाह्रो हुदैन रहेछ भनेर बुझ्दै छु।’
‘म पढाइमा पनि राम्रो थिए, सबैकुरा राम्रौ थियो तर पनि त्यति खुसी थिइन। मलाइ चित्र बनाउँदा परमआदन्द आउँछ’ सुमन भन्छन् ‘अलिअली कमाइ पनि भईरहेकै छ भनेर सुरुमा पेशामा आएँ, तर भगवानले चित्रकलाको लागि मलाइ बच्चै देखि तयार गरिरहनु भएको रहेछ। तीन वर्षमा कमाएको लोप्रियताले अझ धेरै रचनात्मक चित्र बनाउन उक्साईरहको अनुभव उनी सुनाउँछन्।
कलाले मौलिकता बोक्नु पर्छ भन्ने मान्यता राख्ने सुमन पर्यटनको विकास भएमात्र नेपाली चित्रकलाको बजार बढ्ने बताउँछन्। हाम्रो देशका प्राकृतिक सुन्दरता र संस्कतिलाई क्यानभासमा उतार्न सकिने बताउँछन उनी।
‘अझ भितेचित्रकलाको क्यानभास अन्य चित्रकलाको भन्दा ठुलो हुने भएका कारण धेरै कुरा देखाउन सकिन्छ।’ समाजमा सकारात्मक सन्देश प्रभाव गर्नु कलाकारको जिम्बेवारी हो’ सुमन भन्छन, ‘विभिन्न स्थानमा मैले कोरोका रंगहरु छ्न्, मेरा सृजनाहरु छन्, तिनले समाजमा सकारात्मक प्रभाव पारेको छ जस्तो लाग्छ।’
मंसिर ७, २०७७ आइतबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।