अझै बाँकी छ स्वर्ग आइपुग्न

अझै बाँकी छ स्वर्ग आइपुग्न

केही हतार छैन ।

नबजार्नू त्यसरी पाइताला,
धर्तीको छाती चर्किने गरी।

आँखै फुटाउला झैँ गरी
निकालेर नजरको तीर
नहान्नू त्यसरी क्षितिजको डोब बिग्रने गरी।

घोक्रो  नै चुटाउला झैँ गरी
बढाएर सास नचिच्याउनू
यस्तरी छालको सङ्गीत भत्किने गरी ।

शरीरमा भएको
अलिकति नातागत शक्ति बँचाइ राख्नू
किनकी अझै बाँकी छ स्वर्ग आइपुग्न ।

अहिले
बिसाएको छ; तिमीलाई माथिमाथि उडाउने हवाइजहाज
सुतेको छ; तिमीलाई समुन्द्रितट पु¥याउने पानीजहाज
थाकेका छन्; तिमीलाई पुतलीझैँ नचाउँदै–नचाउँदै
डुलाउने बस, गाडी ।

अब तिमी पनि बिसाऊ
केहीक्षण आफैँलाई जोगाएर
किनकी स्वर्ग आइपुग्न अझैँ बाँकी छ ।

यतिबेला पृथ्वीले
आफूलाई मर्मत सम्हार गरिरहेको छ ।

खालीठाउँ नभएपछि
यहाँ एकै क्षणको लागि
तिमी हामीलाई आराम गर्न लगाएको हो
स्वर्गले ।

तिम्रो हाम्रो खातिरदारिले गर्दा मात्रै
सुसाइ रहेको हो हावा
बगिरहेको हो पानी
उदाइरहेको हो सूर्य
तमाम कृतिमतालाई रोकेर ।

मंसिर ६, २०७७ शनिबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।