संवेदनहरूः ‘जीवन’ नामको एउटा घटनामा छु ।

संवेदनहरूः  ‘जीवन’ नामको एउटा घटनामा छु ।

प्रिय संवेदन !

बुझ्यौ, मैले बाँचेको कुनै विशेष समयको कोष्ठकभित्र जिन्दगीबाट भागेर मृत्युको खबर बुझ्न त हिँडेथेँ, तर कयौँ पटक मृत्युले नै मलाई रोकेको छ र जिन्दगीको भीडमा मलाई बेखबर मेरै घाउहरूको खत उपहार छाडेर गएको छ।

यो भीडमा कति भाग्यहरू मेरै सामुन्नेबाट पार भए, खुसीहरू सागरको लहरसरी बेनाम किनारमा उभिएको मलाई सुस्तरी छोएर भागे।
उमङ् गहरू पनि टाढैबाट हात हल्लाउँदै लोभ्याएर हिँडे । जिन्दगी यसै हावाको झोँक्कासरह गुज्रिँदो रहेछ । फेरि पनि म मन्त्रमुग्ध छु।
 मेरो अनुभवग्रस्त शून्य स्पेसको चिन्तना–तर्कनाहरूको टकराब; जहाँ म मेरो अस्तित्वको आवाज सुनिरहेको हुन्छु।

यिनै संवेदनहरूबाट म बार–बार स्पर्शित हुन्छु, तरङ्गिन्छु, गुनगुनाउँछु; जसलाई कसैको झझल्कोमा गुन्जिरहने कुनै कविताका सुन्दर हरफहरूजसै या प्रेमीको आँखामा यसैयसै छचल्किरहने प्रेमपीडाजसै मेरो कवितामा प्रवेश गर्न कसैले रोक्नेछैन;जसलाई म आफ्नो कवितामा हरतरह स्वागत गरिरहेछु।

किनकि प्रिय, यो सीमासम्म मैले कहिल्यै दर्दबाट मुक्ति खोजेको छैन ! सायद दर्दबाट मुक्ति मिल्नु र अस्तित्व समाप्तिनु एकसाथ हुनेछन्...!!

यसरी म मेरा विसङ्गत अनुभवहरूको परिणामस्वरूप प्राप्त शून्यमा अस्तित्वरत रहेछु । यही शून्यको विराटतामा कति जीवित आत्माहरूलाई भेट्छु; जसको सम्पूर्ण उमेर युगअनुकूल सलल बाँच्न अभ्यस्त हुन्छ कि भन्ने ठान्छु र कहिले आफ्नै परिधि छिचोलेर आम आग्रहभन्दा प...र दुर्लभ एकान्तमा म आफै सित उपलब्ध हुन्छु; जतिखेर म मस्तिष्कीय आडम्बरी सञ्जालमा फस्न चाहन्नँ।
यसरी आपूm आम आग्रहमा सहृदय बाँच्न नसक्नुको नियमित ह्याङ्ओभरग्रस्त मेरो सिलसिलामा तिमी जसै प्रवेश गर्छौ; तिम्रो अस्पष्ट छायाँचित्रमा म रङ्गहीन टाङ्गिन्छु; जतिखेर हाम्रा औपचारिकताहरूले मलाई अस्वीकृत गर्नेछन्।

फेरि मलाई सौन्दर्यहीन आँखाबाट आलोचित हुनुमा कुनै गर्वबोध हुनेछैन । यद्यपि म हर रङ्गको बहिष्कार गर्न पनि सक्दिनँ । हुनसक्छ म आफू कुशल योजनाकार नहुनुले सम्पूर्ण सामाजिक योजनाहरू च्यातचुत पार्न पनि सक्दिनँ।

हो, म  आफू हुनुको निम्ति मैले केही शर्त र केही मूल्य त चुकाउनै पर्छ । जुन मूल्य र शर्तको यादमा एउटा सुन्दर कविता कोर्न सकियोस्। मानौँ, एउटा अत्यन्त निजी पीडा, मेरो जन्मसँगै मभित्र उद्घाटित एउटा लयबद्ध यातना, मीठो स्मृति; जसले सदा मलाई झक्झक्याइरहोस् र म सदा अस्तित्वको सरोकारमा रहूँ।

मेरो यो सुदूर एकान्त बहसमा भलै ईश्वरको उपस्थिति नदेखियून्, तर ईश्वरत्वको महसुस त हुन्छ नै । ल, दूबो, शीत, झरना, सूर्योदय, सूर्यास्त, हुरी, बादल, बर्सात्, विस्तारित आकाश अहँ म कहीँ पनि टिक्न सक्तिनँ र समर्पित हुन्छु दूरीको आप्mनै एकान्तमा; जहाँ तिनै पूmल, दूबो, शीत, झरना, सूर्योदय, सूर्यास्त, हुरी, बादल, बर्सात्, विस्तारित आकाश कोलाजमा रूपान्तरित भएर मेरो स्वप्न क्यानभास रङ्गिदै जान्छ ! मानौँ क्यानभासको आकाश म उभिएको जमिन खोज्दै विस्तारित हुन खोजिरहेछ।

यसमा म अथवा म उभिएको जमिन क्यानभासको कारक त जरुर हो यद्यपि त्यहाँ मेरो उपस्थिति रहन्न !! के यसलाई म मृत्यु भनूँ ! अहँ यो हुन सक्दैन ! जरुर म यतिखेर ‘जीवन’ नामको एउटा घटनामा छु, अभिव्यक्तिमा मोक्ष खोज्दै अभिव्यक्तिकै यात्रामा छु, मृत्युयात्रामा होइन....!!!
 

 

मंसिर ६, २०७७ शनिबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।