कलाकारको कपालमा कैंची

कलाकारको कपालमा कैंची
तस्बिर सौंजन्य : जुरी ठाकुर

१९ वर्षदेखि नयाँ बानेश्वरको खरीबोटमा कपाल काट्न सुरु गरेका जुरी ठाकुरलाई अहिले नेपालका चर्चित सेलिबे्रटीको कपाल काट्न भ्याइ नभ्याइ छ।

नयाँ बानेश्वरको ठूलो खरिबोटसँगै जुरी युनिसेक्स पार्लर खोलेर बसेका जुरीले नेपालका अधिकांश चर्चामा आएका सेलिब्रेटीको कपाल काट्दै आइरहेका छन्।

पुर्खाको पेसामा रमाइरहेका जुरीले १० वर्षदेखि अभिनेता रमित ढुङ्गाना, सुनिल थापा, जयकिशन बस्नेतलगायत सेलिब्रेटीका कपाल काट्दै आएका छन्।

त्यस्तै पछिल्लो पुस्ताका पल शाह, प्रदीप खड्का, ज्योती मगरदेखि अहिले चर्चामा रहेकी गायिका रचना रिमालसम्मको कपाल काट्दै आएका छन्।

जुरी भन्छन्,‘ छोरी मान्छेको कपाल लामो र हाँगा पलाएका छन् भने मिलाउने र कसैको कर्ली बनाउने, स्टेट गर्ने काम गर्छु। पहिला कपाल मात्रै काट्दै आएको थिएँ। अहिले भने कलाकारलाई मेकअप गरिदिने कामसमेत गर्न थाल्या छु।’

सुरुको समयमा १,२ जना कलाकारको कपाल काट्ने गरेका जुरीकोमा पछिल्लो समय कलाकार तथा पत्रकार पार्लरमा कपाल काट्न पुग्ने गरेका छन्।

जुरीले भने, ‘पहिला पहिला त  एक दुईजना कलाकार आउनुहुन्थ्यो। अहिले त नेपालका राजेश हमाललगायत केही कलाकारबाहेक सबै जसो कलाकार मेरोमा कपाल काट्न आउनु हुन्छ। सायद मैले काटेको हेयर स्टाइल तथा गर्ने व्यवहार राम्रो भएर पनि होला।’
म्युजिक भिडियोका कलाकारले भिडियोको गीत सुहाउँदो बनाउन लगाउने जुरीले बताए। यही डिजाइनको भन्ने छैन।

समयअनुसार कपालको डिजाइन चेन्ज गरिरहनुपर्छ। ‘चलचित्रमा अभिनय गर्नेहरुका लागि त्यहीअनुसारको डिजाइन बनाउनुपर्ने हुन्छ। कहिले कपाल कर्ली बनाउने त कहिले सिल्की, कहिले आर्मी कट बनाउनु पर्ने हुन्छ, त्यो पनि कपालअनुसारको। त्यस कारण कस्तो कपाल कस्तो डिजाइनको भन्न नसकिने अवस्था आउँछ।’

सेलिब्रेटीको कपाल काटेर सेलिब्रेटी बनेका जुरी ठाकुर आफूलाई यसरी कलाकारको कपाल काट्न पाउनु आफूलाई माग्यमानी ठान्छन्।  उनले १० वर्षदेखि कपाल काट्दै आएका केही कलाकारको हेयर डिजाइनका बारेमा बेलिविस्तार लगाएका छन्।

को–को कलाकार आउँछन्  

जुरीसँग अभिनेता रमित ढुङ्गानाले १० वर्षदेखि कपाल काट्दै आएका छन्। उनको कपाल काट्ने कला मन परेका कारण रमित कपाल काट्न अरूकहाँ जाँदैनन्। रमित आफ्नो कपाल र दाह्री मिलाउन महिनामा एक चोटी पुग्ने गरेका छन्।


रमित उनकोमा लामो भएको कपाल मिलाउन आउने गरेका छन्। उनलाई कुनै खास किसिमको कपालको डिजाइन गर्नुपर्दैन। साधारण प्रकारको कपाल कटाई रमितलाई मन पर्ने जुरीको भनाइ छ।

 

नेपाली चलचित्रमा खलनायक पात्रको रूपमा अभिनय गर्दै आएका सुनिल थापाले पनि जुरीकोमा कपाल काट्न थालेको लामै समय भइसकेको छ। जुरीका अनुसार सुनिलले १० वर्षदेखि उनको हातबाट कपाल काट्दै आएका छन्। उनलाई पनि कपालको कुनै डिजाइन चाहिँदैन। प्रायः उनले काट्ने कपाल भनेको आर्मी कट हो।

‘उहाँको त कपाल कटाइ भनेको साधारण नै हो। छोटो कपाल राख्न रुचाउने कलाकार हुनुहुन्छ। उहाँलाई सुहाउने कपाल काटिदिने गरेको छु,’ जुरीले भने।  

पछिल्लो अभिनेता

प्रायः हेयर डिजाइन गरिरहने अभिनेता हुन्, पल शाह। उनलाई कपालको डिजाइन बेला–बेलामा परिवर्तन गरिरहनुपर्छ। म्युजिक भिडियोमा मोडलिङ गर्नुपर्ने भएकाले कपाललाई समय समयमा चेन्ज गर्नुपर्ने हुन्छ। तर, पुरै काट्ने भन्ने होइन। म्युजिक भिडियोमा बढी अभिनय गर्नु पर्ने भएकाले गीतअनुसारको कपालको डिजाइन चाहिन्छ।

जुरी भन्छन्, ‘अलिक धेरै कपालको डिजाइन चेन्च गर्ने भनेको पल दादाले हो। उहाँको सुटिङअनुसार चेन्स गर्नुपर्ने भएकोले कहिलेकाहीँ सुटिङ स्पोर्टमै पुगेर मैले गीतअनुसारको कपाल मिलाइ दिने गरेको छु।’

नेपाली चलचित्रमा सबैभन्दा धेरै पारिश्रमिक  डिमाण्ड गर्ने अभिनेता प्रदीप खड्का । उनी पनि फिल्मको पात्रअनुसार  हेयर डिजाइनमा परिवर्तन गर्न लगाउँछन्। काम नपर्दा भने उनी कपाल मिलाउने, छेउछाउमा हल्का छोट्याउने काम गराउँछन्।

प्रदीपले जुरीसँग कपाल कटाउन थालेको एक वर्ष जति मात्रै भएको छ। ‘लकडाउनको समयमा मैले प्रदीप खड्काको घरमै गएर कपाल काटिदिएको हँु। त्यो समयमा हल्का मिलाइदिए, अरू बेला भने उनको फिल्ममा हुने गेटअपका कारण परिवर्तन गरिदिने गरेको छु,’ जुरीले भने।

मोडल तथा हट गायिका ज्योति मगरको पनि उनैले हेयर डिजाइन तथा कपाल मिलाइदिने, काटिदिने गरेका छन्। पछिल्लो समय ज्योतिले जुरीको हातबाट कपाल मिलाउने तथा हेयर डिजाइन गर्ने गरेकी छन्। यति मात्र होइन। त्यस्तै ज्योतिले मेकअप राम्रो गर्नुपरेको खण्डमा जुरीलाई नै लगाउन थालेकी छन्।

ज्योतिको हेयर हिजाइन धेरै जसो कर्ली हुनुपर्छ। उनलाई कर्ली कपाल मन पर्ने जुरी बताउँछन्। जुरी भन्छन्,‘ ज्योतिलाई कर्ली कपाल नै सुहाउँछ। उनको गेटअपअनुसारको कपालको डिजाइन बनाइदिने गरेको छु। सिल्की भन्दा पनि कर्ली उहाँको रोजाइ हो।
 
उनले रमित, सुनिल, प्रदीप र पलका अलावा दिलीप रायमाझी,  विराज भट्ट, बुद्धि तामाङ, जय किसन बस्नेत, सोभित बस्नेत, अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) सागर लम्साल (बले), यम बराल, एलिना रायमाझी, प्रताव दास, रचना रिमाललगायत अधिकांश कलाकारको कपाल काटेर चिटिक्क पारिदिने गरेका छन्।


उनकोमा कलाकार मात्र होइन पत्रकार, प्रहरीदेखि लिएर पब्लिकहरु पनि कपाल काट्न जाने गरेका छन्।

मिहिनेतअनुसारको पैसा दिन्छन्

कलाकारहरुले अरुले जस्तै कपाल काटेपछि पैसा राम्रै दिने गरेका छन्। पैसाको मामिलाका कलाकार तथा पत्रकारहरुले नाइनास्ती गरेका छैनन्। कपाल काटेपछि कलाकारले सय पचास बढी नै दिने गरेको जुरी बताउँछन्।

उनी भन्छन्, ‘मलाई कलाकारहरुको कपाल काट्न एकदमै रमाइलो लाग्छ। उहाँहरुलाई कपाल काट्ने सेवा दिनु न भन्ने गर्छु। एकपटक कपाल काटेपछि उहाँहरुले मलाई सम्झिनुहुन्छ।

कसैले घरमै कपाल काट्न बोलाउनुहुन्छ। उहाँहरुले  बोलाएपछि घरमै गएर पनि कपाल काटिदिने गरेको छु । नत्र पार्लरमै  आउनुहुन्छ।’

अहिलेसम्म जुरी ठाकुरले नेपालका ८० प्रतिशत सेलिब्रेटीका कपाल काटिसकेको बताउँछन्। कतिपयले नाम सुनेर कल गर्दै कपाल काट्न आउँछन् भने कतिपयलाई उनी आफँैले सेवा गर्ने मौका दिन अनुरोध गर्दछन्।

उनी भन्छन्, ‘मैले अहिलेसम्म नेपालका ८० प्रतिशत जति कलाकारको कपाल काटिसकेको छु। केही कलाकारसँग त फोटो पनि खिचेको छु, सबैसँग भने खिचेको छैन ।’

पछिल्लो समय पार्लरमा काम गर्ने मान्छेसमेत राखेका छन् उनले। उनको पार्लरमा ५ जना केटा र ३ जना केटीले काम गर्दै आएका छन्। केहीले यहीँबाट सीप सिकेर अहिले विदेशमा पैसा कमाइरहेका छन्।

 

मंसिर ६, २०७७ शनिबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।