भारतीय मरेका माछा बजारमा : नेपालका माछा पोखरीमा

भारतीय मरेका माछा बजारमा  :  नेपालका माछा पोखरीमा
सडक किनारामा माछा बिक्री गरिदैं

भैरहवा : नेपाल–भारतको खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट मरेका माछा नेपाल भित्र्याइ बिक्री गरिँदा नेपालका माछा पालक कृषक मारमा परेका छन्।

बजारमा मरेका भारतीय माछा न्यून मूल्यमा पाइने हुँदा नेपाली कृषकले उत्पादन गरेका माछाले बजार पाउनै समस्या भएको छ । जसले गर्दा किसान निकै मर्कामा पर्ने गरेका छन्।
रुपन्देही माछामा आत्मनिर्भर छ। जिल्लाका सबैजसो स्थानीय तहमा माछापालन हुँदै आएको छ । जिल्लाको विभिन्न ठाउँमा जिउँदो माछा पसलहरु खुलेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा सुपरजोन लागू छ। यसले माछापालनमा कृषकहरुलाई प्रोत्साहन गरिरहेको छ । जसले गर्दा कैयौं किसान माछापालनमा लागिरहेका छन्।

तर खुल्ला सीमाको फाइदा उठाउँदै व्यापारीले भारतबाट मरेको माछा नेपाल भित्र्याइ भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना लगायतका बजार र हाटहरुमा बिक्री गर्दै आइरहेका छन्।
भारतीय माछा नेपाली माछाभन्दा किलोमै एक सय रुपैयाँभन्दा बढी सस्तो पर्छ। सस्तो पाइने भएपछि उपभोक्ताले गुणस्तर भन्दा पनि मूल्यमा बढी महत्व दिई भारतीय माछा नै खरिद गर्छन्। जसले गर्दा रुपन्देहीका माछापालक कृषक समस्यामा पर्ने गरेको माछापालक कृषक दीपु भुसालले जानकारी दिए ।

‘सस्तो पाइने भएपछि उपभोक्ताले पनि गुणस्तर नहेरी भारतीय माछा खरिद गर्ने गरेका छन्’, भुसालले भने।
रुपन्देहीको बेलहिया नाका, मर्चवार, लुम्बिनी, धकधई लगायतका नाका हुँदै भारतबाट मरेका माछा नेपाल भित्रिन्छ।

भारतबाट ल्याइएका मरेका माछा प्रतिकिलो १८० देखि २२० रुपैयाँसम्म बजारमा साना तथा खुद्रा व्यापारीले बिक्री गर्दै आएका छन्। तर नेपाली किसानले उत्पादन गरेको जिउँदो माछा प्रतिकिलो २५० देखि ४५० सम्म पर्ने गर्छ। सस्तो मूल्यमा पाउँदा उपभोक्ता भारतीय माछाप्रति लालायित छन्। अर्कातर्फ व्यापारीले बढी नाफा कमाउने उद्देश्यले भारतबाट माछा आयात गर्दा पनि माछा पालक कृषक मर्कामा परेका हुन्।

भारतीय माछाहरु आँखा गडेको, सडेको, खुम्चिएको नेपाली बजारमा भित्रिरहेको छ । १५ दिन अघि मारेको माछामा विषादी प्रयोग गरी नेपाल ल्याइन्छ ।

क्वारेन्टाइन कार्यालयमा उपर्युक्त प्रविधिसहितको ल्याब नहुँदा सामान्य चेकजाँचकै आधारमा माछा सहजै नेपाल भित्र्याउन दिइन्छ भने लुकीछिपी भित्र्याइने माछाको त क्वारेन्टाइन जाँचै हुँदैन।

कृषि विज्ञहरुले उपभोक्ता जबसम्म सचेत हुँदैनन्, तबसम्म भारतीय माछा बिक्रीमा नियन्त्रण गर्न कठिन हुने बताउँछन्। ‘हामीकहाँ नीतिगत समस्या छ, भारतीय माछा खानाका लागि उपयुक्त छैनन् भन्ने थाहा हुँदाहुँदै पनि भन्सार पास दिइन्छ’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनका कृषि अधिकृत विष्णु खनालले भने, ‘त्यसैले उपभोक्ता आफै सचेत हुनुपर्छ, कस्तो माछा खाने र कस्तो नखाने भनेर।’
रुपन्देही माछापालनका लागि उर्वर भूमि हो। यहाँ १ हजार ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ । जिल्लामा मात्रै बार्षिक करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ भने यहाँ उत्पादित जिउँदो माछा छिमेकी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवनसहित पोखरा, काठमाडौंसम्म निर्यात हुन्छ।


भैरहवा भन्सारको तथ्यांकअनुसार यो नाका हुँदै दैनिक ४० क्विन्टल बढी भारतीय माछा नेपाल भित्रिन्छ । चोरी बाटोबाट पनि उत्तिकै हाराहारीमा भारतीय माछा व्यापारीले नेपाल भित्र्याउँछन्। पशु क्वारेन्टाइन चेक पोस्टका प्रविधिकले पनि सामान्य प्रकृया पूरा गरी भारतबाट आयतित माछा छाडिदिँदा विषादी भएको माछासमेत सहजै नेपाली बजारमा आइपुग्ने गरेको छ।

 


‘उपभोक्ता आफै सचेत भई जिउँदो र स्वस्थकर माछा खानेतर्फ ध्यान दिनुपर्छ। सस्तो पाएभन्दैमा सडेको माछासँगै हामीले खाने विषादीले हाम्रो शरीरलाई कति हानी गरिरहेको होला? एकपटक सबैले आफ्नो स्वास्थ्यबारे सोंच्नुपर्छ’, कृषि अधिकृत खनालले भने। कृषकले क्वारेन्टाइन जाँचलाई प्रभावकारी र सीमा क्षेत्रमा कडाई नगर्दासम्म नेपाली माछापालक कृषक सधैं मारमा पर्ने जनाए।

‘हामीकहाँ माछामा कति विषादी प्रयोग गरिएको छ भन्ने जाँच्ने राम्रो ल्याब पनि छैन । सरकारले कि त ल्याबको व्यवस्था गर्नुपर्यो, होइन भने जिउँदो माछा मात्रै आयात गर्ने व्यवस्था मिलाउन पर्यो’, उनले भने, ‘नेपालका जिउँदो माछा विक्री नहुने तर भारतबाट आएका सडेगलेका र विषादीयुक्त माछा विक्री हुने हुनुह

मंसिर ५, २०७७ शुक्रबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।