सेयर बजारमा उत्साह, नेप्से चार वर्षयताकै उच्च विन्दुमा

सेयर बजारमा उत्साह, नेप्से चार वर्षयताकै उच्च विन्दुमा

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण अर्थतन्त्रका अरु पक्षमा नराम्रो असर परे पनि सेयर बजारमा भने उत्साह देखिएको छ। 

सेयर बजार चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बजार सूचक नेप्से बिहीबार १७७८.१२ विन्दुमा पुगेको छ।
 यो २०७३ कात्तिक ८ यताको सबैभन्दा उच्च विन्दु हो । त्यसअघि सोही सालको साउन १२ मा सेयर बजारले हालसम्मकै उच्च विन्दु १८८१ लाई छोएको थियो।

नेप्सेको वृद्धिसँगै पछिल्लो समय सेयर बजारले निरन्तर नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। साताको अन्तिम दिन बिहीबार बजारले हालसम्मकै ठूलो दैनिक कारोबार रकमको रेकर्ड बनाएको छ।

बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर किनबेच भएको छ। एकै दिनमा यति धेरै रकमको कारोबार भएको नेपालको सेयर बजारको इतिहासमै पहिलो पटक हो। यसअघि दैनिक कारोबार रकमको रेकर्ड चार अर्ब ८४ करोडको थियो।

पछिल्ला दिनमा कारोबार रकम मात्र नभएर कारोबार भएका सेयर कित्ता र कारोबार संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार ५६ हजार तीन सय ४१ कारोबारबाट एक सय ९८ कम्पनीका एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता सेयर खरिदबिक्री भएका छन्।

कारोबार रकममा अघिल्लो सातादेखि नै वृद्धि देखिन थालेको थियो। गत कात्तिक १९ मा एक अर्ब ७५ करोडको कारोबार भएकोमा त्यसपछिका दिनमा निरन्तर उकालो लागेर बुधबार चार अर्ब ७९ करोडको सेयर कारोबार भएको थियो।

नेप्से उकालो लागेसँगै बजार पुँजीकरणमा पनि सुधार देखिएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण २३ खर्ब ८२ अर्ब ७१ करोड पुगेको छ।

पछिल्ला दिनमा नेप्सेको वृद्धिमा जलविद्युत्, व्यापार, उत्पादनमूलक र अन्य समूहले टेवा पुर्याएका छन्। बुधबार र बिहीबार भने जीवन बिमा तथा निर्जीवन बिमा समूहका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखियो। ती दुई समूहको सूचकमा वृद्धि हुँदा त्यसले समग्र नेप्सेको वृद्धिमा टेवा पुग्यो।

कोरोना त्रासका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदा सेयर बजारमा लगानी बढ्दा नेप्सेमा वृद्धि देखिएको विश्लेषकहरु बताउँछन्। बैंकबाट सस्तो ब्याजदरमा पाइएको कर्जाले पनि सेयर बजार बढाउन मद्दत गरेको छ। एक वर्षअघि कर्जामा १३–१४ प्रतिशतसम्म ब्याज थियो।

लगानीयोग्य रकम थुप्रिएपछि बैंकले अहिले ८-९ प्रतिशतमै कर्जा प्रवाह गरेका छन्। यसबीचमा अर्थमन्त्रीको परिवर्तनले पनि बजारमा उत्साह थपिन पुग्यो। सेयर बजारप्रति निरन्तर नकारात्मक बनेका युवराज खतिवडा अर्थ मन्त्रालयबाट बिदा भएर उनको स्थानमा विष्णु पौडेल आएपछि सेयर लगानीकर्तामा आत्मविश्वास बढ्न पुग्यो।  

नेप्से निरन्तर उकालो लागे पनि सेयर बजारको सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य भने खासै बढ्न सकेको छैन । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा झन्डै ७० प्रतिशत छ। बजारको दुईतिहाइभन्दा बढी हिस्सा ओगटेको क्षेत्रको सेयर मूल्यमा खासै वृद्धि हुन नसकेबाट बजारको वृद्धि टिकाउ हुनेमा ढुक्क हुन सकिन्न।

कोरोना संकटका कारण पुरानो कर्जाको ब्याज तथा किस्ता उठ्न नसक्दा र नयाँ कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको नाफा चार प्रतिशतभन्दा बढीले घटेको छ। जबकि अघिल्ला आर्थिक वर्षहरुमा उनीहरुको मुनाफा १० देखि १५ प्रतिशतसम्मले वृद्धि हुने गरेको थियो।

बैंक तथा वित्तीय संस्थाको मुनाफा घट्दो क्रममा रहेकाले यस क्षेत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको छ, जसका कारण यो समूहको सेयर मूल्यमा वृद्धि हुन नसकेको हो। विश्लेषकहरु बजारको ठूलो हिस्साका रुपमा रहेको बैंक तथा वित्त समूहको सूचक वृद्धि नहुँदासम्म नेप्सेको वृद्धिप्रति विश्वस्त हुन नसकिने बताउँछन्।

 

मंसिर ५, २०७७ शुक्रबार ०६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।