पर्वमा देखिने मनको ‘भुइँचालो’

पर्वमा देखिने मनको ‘भुइँचालो’
सांकेतिक तस्बिर।

तीन वर्षअघि ३३ वर्षको उमेरमा उनै सावित्री मनोविद् करुणा कुँवरकहाँ मनोपरामर्शका लागि पुगिन्। मनोविद् कुँवरले लक्षणको आधारमा थाहा पाइन्, ‘सावित्रीलाई डिसोसिएटिव डिसअर्डर मानसिक समस्या भएको रहेछ।’ 

मनोविद् करुणा कुँवर

मनोपरामर्शपछि सावित्रीले तनाव व्यवस्थापनका उपाय थाहा पाइन्। त्यसपछि उनले आफूलाई ‘माता’का रूपमा प्रस्तुत गर्न छाडिन्। कुवँरकहाँ यस्तो मानसिक समस्या लिएर बिरामीहरू पुगिरहन्छन्। 

०००

३५ वर्षीय रमिला श्रेष्ठ (नाम परिवर्तन) लाई डर लाग्ने, बोलेको बेलै गर्ने, निद्रा नलाग्ने, मर्छु होला भनिरहने, टाउको दुख्ने, बालपनजस्तो व्यवहार देखाउने लक्षण थिए। एक छोराकी आमा उनी भाइटीकाको भोलिपल्ट श्रीमानसँग मनोपरामर्शका लागि मनोविद् गोपाल ढकालकहाँ पुगिन्।

मनोविद् गोपाल ढकाल

ढकालले ३५ वर्षीय रमिलाको लक्षणको आधारमा खुट्याए, ‘ती महिलामा डिसोसिएटिव डिसअर्डर मानसिक समस्या भएको रहेछ।’ 

ती महिलामा बच्चा जन्मिएपछि, हर्नियाको शल्यक्रिया गरेपछि र यस पटक गरि तीन पटक यस्तो मानसिक समस्याको लक्षण देखिएको रहेछ। यतिसम्म की, महिलाले यो वर्षको तिहारमा रजस्वला नभए पनि आफूलाई रजस्वला भएको भन्दै भाइटीका नै लगाइनन्। 

लकडाउनअघि नेपाल फर्किएका उनका श्रीमान पुनः विदेश जान तयार रहे पनि श्रीमतीमा यस्तो समस्या देखिएपछि विदेश नजाने निर्णय गरेछन्। ढकालले भने, ‘ती महिलामा श्रीमान विदेश गएपछि आफूलाई श्रीमानले परपुरुषसँग सम्बन्ध गाँस्छे भनेर शंका गर्छन् भन्ने डर लागिरहदोे रहेछ।’ 

यस्तो मानसिक समस्या भएका महिलाले आफ्नो श्रीमानसँगै रहेर आफूलाई माया गरुन भन्ने चाहना हुने ढकाल बताउँछन्। ती महिलामा पनि यो चाहना थियो। मनोपरामर्शपछि ३५ वर्षीय रमिला र उनका श्रीमान घर फर्किए।
मनोविद् कुँवर र ढकालकहाँ यस्ता मानसिक समस्या लिएर पुग्ने व्यक्तिको संख्या चाडपर्वको समयमा बढी हुन्छ। 

०००

काम्दै बक्ने जस्ता मानसिक समस्यालाई मनोचिकित्सकीय भाषामा पहिले–पहिले हिस्टेरिया भनिन्थ्यो। आजकल भने यस्तो समस्यालाई ‘डिसोसिएटिव डिसअर्डर’ भनिने गरेको त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझा बताउँछन्। यो समस्यालाई ‘कन्भर्जन’समेत भनिन्छ। 

मनोचिकित्सक डा. सरोजप्रसाद वझा

मनोविश्लेषकका अनुसार यो तनावका कारण उत्पन्न हुने समस्या हो। मनोचिकित्सक डा. वझा भन्छन्, ‘यस्तो समस्या भएका व्यक्ति एक्कासि काम्दै बक्छन्।’

यस्तो समस्यालाई मनोसामाजिक समस्याका रूपमा लिन्छन् मनोविद् ढकाल। तर, यो कडा मानसिक रोग भने नभएको मनोविश्लेषकको मत छ। 

पर्वमा मनको ‘भुइँचालो’

व्यक्तिको शारीरिक तथा मानसिक अवस्थालाई वातावरण, भूगोल, धर्म–संस्कृति, चाडपर्व, समाज, राजनीति, ग्रहको अवस्था लगायतका कारणले प्रभाव पार्छ। त्यसैले कतिपय मानसिक समस्यालाई पनि चाडपर्वले प्रभाव पार्ने मनोविद् ढकालको विश्लेषण छ। ‘डिसोसिएटिव डिसअर्डर’ पनि चाडपर्वमा बढी सताउने मानसिक समस्या हो। 

मनोविद् ढकाल यो मानसिक समस्यालाई पर्वमा देखिने मनको ‘भुइँचालो’का रूपमा लिन्छन् । 

‘डिसोसिएटिव डिसअर्डर’को लक्षणका रूपमा व्यक्ति काम्दै बक्छन्। ढकालले भने, ‘व्यक्तिमा तनाव बढ्दै गएको अवस्थामा तनावको प्रतिक्रिया स्वरूप काम्दै बक्ने जस्ता लक्षण देखिन्छन्।’ 

मनोचिकित्सकका अनुसार प्रतिकूल परिस्थितिको सामना गर्न नसकेको अवस्थामा शरीरले प्रतिक्रिया जनाउँदा यस्ता लक्षण देखिन्छन्।

‘डिसोसिएटिव डिसअर्डर’को समस्या भएका व्यक्तिमा टाउको हल्लाउने, शरीर काप्ने, बेहोस हुने, टाउको दुख्ने, शरीरका अंग नै चल्न सकेन भन्ने जस्ता लक्षण देखिने मनोविद् कुँवर बताउँछिन्। 

यस्तो समस्या भएका व्यक्तिमा आफूलाई ‘माता’ उत्रिएको भन्दै मृत्यु भएका व्यक्तिको जस्तै आवाज निकालेर समेत बक्ने लक्षण देखिने ढकाल बताउँछन्। 

ढकालले भने, ‘तर, यस्तो मानसिक समस्यामा परेका व्यक्तिले मृत्यु भएका व्यक्तिको स्वर सुनेको अवस्थामा मात्रै मृतकको आवाजजस्तै आफ्नो आवाज निकाल्न सक्छन्।’

मनोचिकित्सकका अनुसार ‘डिसोसिएटिव डिसअर्डर’ जस्तो मानसिक समस्या भएका व्यक्तिमा कापेको समयमा आगोले पोल्दा पनि थाहा नपाउने, लामो श्वास लिँदै छोड्ने जस्ता लक्षण देखिन्छन्। यस्तो समस्या भएको व्यक्तिले मुटु तथा छाती पोलेको अनुभूति गर्छ। तर, वास्तविकरूपमा त्यस्तो समस्या नहुने मनोचिकित्सक बताउँछन्। 

ढकालले भने, ‘बोली नै नआउने, हातखुट्टा लगायतका शारीरिक अंग नचल्ने, रुने, आफैलाई आफैले फहर्याउने तथा नंग्राले चिथोर्ने जस्ता लक्षण देखिन्छन्।’ 

पटक–पटक यस्ता लक्षण दोहोर्याउनुलाई ढकाल कन्भर्जन डिसअर्डरको अवस्थाका रूपमा लिन्छन्। यस्तो समस्यामा परेका व्यक्ति कन्भर्जनको अवस्थामा पुगेको खण्डमा शरीरका अंगमा पोले पनि नदुख्ने भएकाले उफ्रँदै आगोमा समेत टेक्न सक्ने मनोविद् ढकाल बताउँछन्। 

मनोचिकित्सकका अनुसार ‘डिसोसिएटिव डिसअर्डर’ जस्तो मानसिक समस्या भएका व्यक्तिको सम्झन सक्ने क्षमतामा गडबडी हुन सक्छ। अर्धचेतमा हुने भएकाले काम्दै आफूले बोलेका (बकेका) कुरा काप्न छाडिसकेपछि सामान्यतः उसलाई थाहा नहुन सक्छ। 

‘डिसोसिएटिव डिसअर्डर’ मानसिक समस्यामा परेका व्यक्तिले काम्ने तथा बक्ने जस्ता लक्षण देखाउने हुनाले यस्ता व्यक्तिलाई समाजले माता उत्रिएको, धामी उत्रिएको जस्ता रूपमा व्याख्या गरेको समेत पाइन्छ। 

मनोविद् कुँवर पनि विशेषगरी नेपालको सन्दर्भमा ‘डिसोसिएटिव डिसअर्डर’ को लक्षण देखिने समस्यालाई बोक्सी लागेको तथा ‘माता’ चढेको जस्ता उपमा दिइने गरेको सुनाउँछिन्। 

मनोचिकित्सक यस्तो समस्यामा परेका व्यक्तिको अर्धचेत अवस्थाले परिवार तथा समाजमा जे कुरामा बढी विश्वास गरिन्छ, त्यही अनुसारको शारीरिक लक्षण देखिने बताउँछन्। कुँवरले भनिन्, ‘देवीदेवता मान्ने ठाउँमा देवी देवता चढेको लक्षण देखिन्छन्।’ यस्ता मानसिक समस्या भएका व्यक्ति गुरु, माता (भनिने), धामी (भनिने)का अगाडि समेत काप्ने भएकाले यस्ता व्यक्तिलाई समाजले माता तथा धामीको पगरी भिराइदिन्छ। त्यसपछि यस्ता व्यक्ति आफूलाई विस्तारै माता तथा धामीका रूपमा समेत प्रस्तुत गर्नसक्ने मनोविश्लेषकको तर्क छ। आफूलाई माता भन्दा सुरक्षित महसुस हुने भएकाले पनि यस्तो समस्यामा भएका व्यक्तिले आफूलाई माताका रूपमा प्रस्तुत गर्ने गरेको मनोविश्लेषकको मत छ। 

विकसित मुलुकको तुलनामा नेपाल, भारत जस्ता मुलुकमा यो समस्या बढी भएको डा.वझा बताउँछन्। अशिक्षा, देवी, देवता मान्ने जस्ता चलनका कारण नेपाल, भारत जस्ता मुलुकमा यस्तो मनोसमस्या बढी देखिने गरेको उनी बताउँछन्। 

पुरुषभन्दा महिलामा तनाव

पुरुषको तुलनामा काम्दै बक्ने लगायतका लक्षण देखिने यो मानसिक समस्या महिलामा नै बढि देखिने गरेको मनोचिकित्सक बताउँछन्। मनोचिकित्सक डा. वझाले भने, ‘विशेषगरी ३०/३५ वर्षका महिलामा यो समस्या बढी हुन्छ।’ 

त्यसो त मनोविद् ढकाल पनि पुरुषको तुलनामा दस गुणाभन्दा बढी महिलामा यस्तो समस्या देखिने बताउँछन्। उनका अनुसार किशोरावस्थादेखि करिव ३५ वर्षसम्मको तनावपूर्ण उमेर भएकाले यो उमेर समूहमा यस्तो समस्या बढी देखिने गरेको छ। 

पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक रूपमा महिलाप्रति गरिने व्यवहारका कारण महिलामा ‘डिसोसिएटिव डिसअर्डर’को समस्या बढी देखिने मनोविद् कुँवरको तर्क छ। यो समस्या समूहमा पनि हुने भएकाले स्कुलका विद्यार्थीहरू पनि काम्ने तथा बेहोस हुनसक्ने मनोविश्लेषक बताउँछन्। 

मनोविद्का अनुसार पुरुषले तनाव तथा मनका कुण्ठा व्यक्तिसँग भेटघाट तथा गफ गरेर पोख्न सक्छन्, जसले तनाव कम हुनुका साथै व्यवस्थापन हुन्छ। तर, नेपालजस्तो मुलुकमा विशेषगरी महिलाहरू सामाजिक कार्यमा कमै सक्रिय भएको देखिन्छ। महिलाहरू पारिवारिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक जस्ता कारणले सहजै आफ्नो मनको बह पोख्न पाउँदैनन्, जसले मनमा कुण्ठा बढ्दै जाँदा यस्तो मानसिक समस्या निम्तन सक्छ।

त्यसो त महिलामा कुनै घटनाले छिटो प्रभाव पार्ने भएकाले पनि महिलामा चाँडै तनाव उत्पन्न हुने मनोविद् ढकाल बताउँछन्। 

आफन्त देख्दा प्रस्फुटन

आफूलाई सहयोग गर्ने तथा माया गर्ने व्यक्तिका अगाडि नै यो समस्याका भएका व्यक्तिका लक्षण देखिने मनोचिकित्सक बताउँछन्। यस्तो समस्या भएका व्यक्तिले चाहेर नभई स्वतःस्फूर्त रूपमा नै यस्तो लक्षण देखाउँछन्। चाडपर्वमा आफन्तसँग भेट्न नपाउँदा समेत यस्तो लक्षण देखिने मनोचिकित्सक बताउँछन्। मनोविद् कुँवर पनि चाडपर्वमा विशेषगरी महिलामा कामको बोझ जस्ता तनावका कारण चाडपर्वमा नै यस्ता लक्षण बढी देखिने बताउँछिन्। 

सामान्यतः एक्लै भएको समयमा ‘डिसोसिएटिव डिसअर्डर’को लक्षण देखिँदैन । त्यसैले यस्तो मानिसक समस्यालाई ध्यान आकर्षित गर्ने मानसिक समस्याका रूपमा समेत चिनिन्छ। यस्तो मानसिक समस्या भएको व्यक्तिले आफन्तको माया पाउन खोज्छ। 

डा. वझाले भने, ‘पर्व, कसैसँग झगडा भएको अवस्थामा यस्तो लक्षण बढी देखिन्छ।’ 

समस्या सामान्य, उपचार नगरे जटिलता

मनोचिकित्सकहरू यो समस्या सामान्यतः आफै ठिक हुने बताउँछन्। मनोचिकित्सक डा. वझाले भने, ‘औषधि खानु पर्दैन। मनोसामाजिक काउन्सेलिङको विधिबाट पनि ठिक हुन्छ।’

यस्तो समस्यामा परेका व्यक्तिले करिव एक घण्टासम्म पनि काप्ने मनोचिकित्सक बताउँछन्। लक्षण तुरुन्तै बढ्ने र तुरुन्तै कम हुने भए पनि दुई दिनसम्म पनि यस्ता लक्षण देखिन सक्ने ढकाल बताउँछन्। उनका अनुसार त्यसपछि काप्ने लगायतका लक्षण विस्तारै कम हुँदै जान्छन्, लक्षण हराएपछि भने व्यक्ति सामान्य अवस्थामा नै फर्कन्छ। 

‘डिसोसिएटिव डिसअर्डर’ को समस्या बढ्दै गएको अवस्थामा भने दैनिक कार्यमा असर पुग्न सक्छ, जसले समस्या बढ्दै जाने जोखिम हुन्छ। समस्या बढ्दै जाँदा डर, चिन्ता, निराशा, आत्मविश्वासको कमी, डिप्रेसनजस्ता मानसिक समस्या तथा रोगको जोखिम हुनसक्नेतर्फ ढकाल सजग गराउँछन्। त्यसैले बेलैमा परामर्श तथा उपचार गर्नु पर्ने मनोचिकित्सक सुझाउँछन्। 

घरपरिवार तथा समाजले पनि यस्तो मानसिक समस्यामा परेका व्यक्तिको समस्या सुनेर समस्या हल गर्न पहल गर्न मनोचिकित्सकको सुझाव छ।

मंसिर ४, २०७७ बिहीबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।