छठको उल्लास

छठको उल्लास
जनकपुरधाममा छठको तयारी गरिदैंः तस्बिर : कमलेस ठाकुर

जनकपुरका पवित्र सरोवरहरू गंगा सागर, धनुष सागर, अरगज्जा, दशरथ तलाउ तथा दुधमति, जलाद नदी लगायतका छठको पूजाको तयारी गरिँदै छ।  

श्रद्धा समर्पण तथा सतर्कताको पर्व हो छठ। करुण, आस्था, त्याग, भक्ति, सामाजिकता, वर्गनास, श्रद्धा तथा समरसताको प्रतिक हो छठ पर्व। पवित्रता एवं नियम निष्ठा महत्त्वपूर्ण हुन्छ यस पर्वमा । छठ पर्व गर्नाले पुत्र प्राप्ति, छाला तथा आँखासम्बन्धी रोग निवारण, धनजनको सुरक्षा, दुःख दरिद्र आदि कलेशबाट मुक्ति पति प्रेम, अटल सौभाग्य एवं मनोवांक्षित फल प्राप्त हुने जनविश्वास रहि आएको छ। 

मिथिलामा सूर्य पुजाको अटुट एवं सुदीर्घ परम्परा छ। यस सांस्कृतिक व्रत अनुष्ठानमा वैदिक सूर्य उपासना, पौराणिक षष्ठी (लोकदेवी) छठी माताको आराधना गरिन्छ। मिथिला नै एउटा यस्तो स्थान हो जहाँ अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। 

यो पर्व चार दिनसम्म मनाइन्छ। पहिलो दिन अर्थात कार्तिक शुल्क चतुर्थीको दिन स्नान गरेर खाना खानुलाई नहाय–खाय भनिन्छ। यस दिन व्रतीले खानामा माछा–मासु, लसुन, प्याज, कोदो, मसुरोको दाल आदि खाद्य पदार्थ परित्याग गर्छन्। नङ कटाएर स्नान गरि पूजापाठ गरेर यसै दिनबाट पर्वको सुरुवात गरिन्छ। नहुनेले गम्हरी धान चढाएर पनि छठको पूजा गर्छन्। 

दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि उपवास (निर्जला) गरेर साँझपख माटोको नयाँ चुल्होमा गुँड हालिएको खिर (पायस) बनाइन्छ। पूजा अर्चना गरेपछि प्रसाद वितरण गरिन्छ र व्रतीले स्वयं पनि ग्रहण गर्छन्। यसलाई खरना भनिन्छ। तेस्रो दिन षष्ठीका दिन अस्ताचलगामी सूर्यलाई अर्घ्य चढाएर परिवारका सदस्यहरू मेवा मिष्ठान, कन्दमुल लगायतका पुजन सामग्री एवं वनस्पतिलाई जलाशयमा बनाइएका घाटमा पवित्रताका साथ सजाउने गर्छन्। पुजन सामग्री राख्नु अगाडि अरिपन चित्रहरू कोरिन्छ। 

सन्ध्याकालीन अर्घ्यका लागि पानीलाई नमस्कार गर्दै कम्मर मुनिको पानीसम्म सामान्यतया रातो पहेलो साडी वा धोती लगाएका ध्यानपूर्ण मुद्रामा सूर्यलाई प्रणाम गर्दै पानीमा उभिएका व्रती (व्रतालु)हरू साक्षात देवीदेवता स्वरूप देखिन्छन्। दुवै हत्केलामा पिठार, सिन्दुर लगाएर अक्षता, फूल राखेर पछ्यौरीले छोपिएका अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरिन्छ। प्रत्येक व्रतीले पूजा स्थलमा गएर दुध चढाउने गरिन्छ । यसलाई सझुक्का अर्घ्य भनिन्छ । चोथो दिन सप्तमी तिथीका दिन प्रातः कालिन सूर्यलार्य अर्घ्य दिइन्छ। यसमा षष्ठी तिथिका सम्पूर्ण विधि विधान अनुसार उदयचलगामी सूर्यलाई पूजाअर्चना गरिन्छ। यसलाई पारन भनिन्छ। यसपछि मात्रै प्रसाद ग्रहण गर्ने परिपाटी छ। यसपछि सूर्य पुराण श्रवण गर्ने परम्परा छ। यसरी नै छठ पर्व सम्पन्न हुन्छ ।

सुख, समृद्धि, सद्भाव, आरोग्य लगायतका जीवनोपयोगी कामनासँगै मिथिलाको गाउँ शहर मात्र होइन, राजधानी काठमाडौंसमेत छठको उल्लासमा रंगिएको छ। कुनै अवोध बालबालिका वा कसैबाट यो छठको पूजा सामाग्री जुठो भयो भने अनिष्ठ हुने जनविश्वास छ। 

त्यसैले अत्यन्त कठिन, कठोर एवं निष्ठापूर्वक छठ पर्व मनाउनका लागि पवित्रता शुद्धता, श्रद्धा, समर्पण तथा सर्तकता आवश्यक हुन्छ। गल्ती गरेकाले निश्चितरूपमा सजाय भोग्नै पर्ने आमधारणा छ। त्यसैले यसलाई अत्यन्त कठोर अनुशासनकोे पर्व पनि भनिन्छ। 

सूर्यपूजनको विश्वव्यापी परम्परा

जीवनका शास्वत सत्यको अभिव्यक्ति शैलीमा विस्मयविमुग्ध हुँदै संस्कृतिविद् डा. राजेन्द्र विमलले भने– संसारको प्रायः सबै प्राचीन सभ्यतामा सूर्य पूजाको परम्परा प्रत्यक्ष वा परोक्षरूपमा रहेको पाइन्छ। अफ्रिका, एसिया, युरोप र अमेरिकाका प्राचीनतम सबै सभ्यतामा सूर्य उपासनाको पद्धति पाइन्छ। मिथिलाको महान पर्व छठ आर्यहरूको सूर्योपासनाको परम्पराको एउटा अभिन्न अंग भएको कुरा उनी अगाडि थप्छन्।

वेविलोनका निवासीहरूले सूर्यलाई मर्दुक भन्छन्। मिश्रमा एटम अथवा रे का रूपमा सूर्यलाई सम्बोधित गरिन्छ। युनानी परम्परामा सूर्यलाई अपोलोको रूपमा निकै नै महिमा गान गरिएको छ। 

रोमका प्राचीन कथा अनुसार सूर्य देव (अपोलो)लाई त्रासद प्रेमीको संज्ञा दिइन्छ। जापानी कथा अनुसार इजानागी तथा इजानामी नामक आदि पुरुष देवता तथा आदी नारी देवताबाट सूर्यको जन्म भएको जनविश्वास छ। क्यानाडामा सूर्यलाई रे्यावन भनिन्छ। यस्तै, चीनमा रहेको सूर्य देवताप्रतिको निष्ठा प्राचीन चित्रहरू र मेक्सिकोमा समेत सूर्यलाई पूजन गर्ने परम्परा रहिआएको ऐतिहासिक दस्तावेज पाइन्छ। यसरी समय, शैली र नाम जे भए पनि संसारभरि नै अगाध श्रद्धा, निष्ठा, कठोर साधना एवं आत्म संयमताका साथ पूजा गरिन्छ। 

सूर्य तथा छठ परमेश्वरीको सम्बन्ध

छठ पर्वमा मूलतःसूर्य षष्ठी अर्थात सूर्य एवं षष्ठी दुवैलाई उपासना गरिन्छ। दिनानाथ–दिनकर तथा छठ परमेश्वरी वीच के सम्बन्ध छ भन्ने विषयमा विद्वानहरूवीच एकमतेक्यता पाइँदैन। यस पर्वका गीतहरूमा दिनानाथ र छठ परमेश्वरीको महिमाको खुबै बखान गरिएको पाइन्छ। 

छठी शब्द षष्ठी शब्दका तद्भव रूप हो। यस सम्बन्धमा मैथिलीका प्राखण्ड विद्वान गोविन्द झा भन्छन्– प्रसवपश्चात केही दिन शिशुमाथि प्राण संकट रहन्छ र त्यो निर्विघ्न बितेपछि छैठौं राति शिशुलाई रक्षा गर्ने एक तान्त्रिक देवीको पुजा गरिन्छ। यसै देवीको नाम हो– षष्ठी वा षष्ठीका। 

के यी नैछठ परमेश्वरी हुन् ? 

पण्डित गोविन्द झा तर्क गर्छन्– भन्न गाह्रो छ। तर, उनी बहस गर्छन्। दुवैमा केही स्पष्ट अन्तर अवश्य छ। पहिलो शिशुलाई रक्षा गर्ने हो भने अर्की बच्चा दिने हुन्। पहिलो षष्ठी राति (छैठौ राति) को दिव्य रूपा हुन् भने अर्की षष्ठी तिथिको दिव्य रूप। पहिलो देवीको पुजा नित्य अनिवार्य हो। जसको शिशुको जन्मको छैठौं राति हुन्छ र यसलाई छठियार भनिन्छ। तर, अर्कीको पूजा काम्य (ऐच्छिक) हो। अर्थात् भाकल गरेपछि मात्रै गर्ने हो अन्यथा होइन।

सूर्य पूजामा छठ परमेश्वरीको प्रवेश यस कुरालाई संकेत गर्छ कि हाम्रा वैदिक अनुष्ठानमा तान्त्रिक (आस्र्मत) अनुष्ठान कसरी मिसिन पुग्छ। सूर्य विशुद्ध वैदिक देवता हुन् भने छठी शुद्ध तान्त्रिक। पण्डित झा ऋग्वेदका ऋचालाई उल्लेख गर्दै छठ सबैभन्दा पुरानो पर्व भएको दावी गर्छन्। यस सम्बन्धमा संस्कृतिविद् डा. राजेन्द्र विमलले छठ परमेश्वरीलाई सूर्य देवतामा निहित उनको आह्लादिका शक्ति जीवनका आदि शक्तिका रूपमा ठम्याउँछन्, जस्तो : राम–सीता, राधा–कृष्ण। 

साहित्यकार डा. रेवती रमण लालका अनुसार अस्ताउँदो सूर्यलाई जुन अघ्र्य दिइन्छ, त्यो छठ परमेश्वरी हो र उदाउँदो सूर्यलाई जुन अर्घ्य दिइन्छ त्यो नै दिनकर दिनानाथ वा सूर्यदेव हुन्। 

मैथिलीका इतिहासकार डा. प्रफुल्लकुमार सिंह मौनले एउटा गीतको उदाहरण दिँदै लोक धारणा उल्लेख गर्छन्– आदित्य मल्ल सूर्य तथा छठ परमेश्वरीको सम्बन्ध भाइ–बहिनीको हो। 

गीत यस प्रकार छ– ‘हँस्सी–हँस्सी बोलथिन हे छठि मईया, सुन हे सूरुज भैया।’ 

उक्त लोकधारणाका अनुसार लोक मातृका षष्ठीको पहिलो पूजा सूर्यले गरेका थिए यथा कोशी आफ्नो बहिनी कौशिकीको, भैरव कालीको, कोइला कमलाको तथा गोरइया बाक देवी बन्नीको पूजा गरेका थिए। यस्तै, सूर्यले पनि छठी माताको पूजा गरेका थिए। 

कतिपय विद्वानहरुको मत छ की उषा छठ परमेश्वरी हो। छठ परमेश्वरी को हुन् र सूर्यसँग यिनको के सम्बन्ध छ भन्नेबारे कुनै ठोस स्पष्ट तथा मजबुत आधार कतैबाट प्रष्ट देखिँदैन। 

सूर्य पूजाको चलन

सूर्य पुराण अनुसार सबैभन्दा पहिला अत्रि मुनिका पत्नी अन्नसुईयाले षष्ठी व्रत गरेका थिए। फलतः उनले अटल सौभाग्य तथा पति प्रेम पाएका थिए। 

महाभारतमा उल्लेख गरिए अनुसार पाण्डवहरूलाई राज्य निकाला गरिएको थियो। उनीहरू द्रौपदीसहित अज्ञात बास रहेका थिए। त्यतिबेला नै गुप्त बास सफल होस् तथा राजपाठ पनि फर्कियोस् भने कामना गर्दै सूर्यको आराधना द्रौपदीले गरेका थिए। परिणामस्वरूप उनीहरूको राजपाट फर्किएको चर्चा पाइन्छ।

कृतिका वृष राशीमा ६ वटा नक्षत्रहरूको समूह छ। कार्तिकेय षष्ठी तिथिसँग सम्बन्धित छ। कार्तिकेका पत्नी हुन्– षष्ठीका देवी, जसलाई प्रकृतिको छठम् अंश ब्रम्हाका मानस कन्या देवसेना भनिन्छ। 

हिन्दु धर्मग्रन्थ अनुसार स्वयम्भु मुनिका पुत्र प्रियव्रतका पत्नी मालिनीलाई पुत्र प्राप्ति हुँदैनथ्यो। कश्यप ऋषिको सल्लाह अनुसार पुत्रयेष्टि यज्ञ उनले गरे। यसपछि मृत पुत्रको प्राप्ति भएको थियो। यस दुःखद घडीमा एक अद्भुत देवीको दर्शन भएको थियो, जो स्कन्द प्रिया स्कन्दका पत्नी थिए, जो प्रकृतिको छठम् अंशबाट उत्पन्न भएकोले षष्ठी कहलिए। त्यसपछाडि उनको पुत्र जीवित भएको थियो। चमन ऋषिका पत्नी सुकन्या (राजा शर्यातक पुत्री) यो कठोर ब्रतको अनुष्ठानको माध्यमले आफ्ना आँखा गुमाएका पतिलाई दृष्टि सम्पन्न बनाएका थिए। यिनलाई यो ब्रत गर्नलाई पुष्करनी नदीको किनारमा एक नाग कन्याले भनेका थिए। यस्तै, कृष्ण पुत्र साम्ब र मैयुर सूर्य उपासनाबाट श्राप मुक्त भएका थिए। भनिन्छ, अकबरले पनि सूर्य पूजा गरेका थिए।

सूर्यको सम्बन्ध

सूर्यबाट सबै जीवलाई समान लाभ प्राप्ति हुन्छ। सूर्य मानिसका आराध्य देवता हुन्। सूर्य पहिलो देवता तथा सबैका लागि पूजनीय हुन्। सूर्य दीर्घदर्शी, मानव जीवनका स्रोत, प्रकाश आशक्तिका प्रतीक एवं प्रत्यक्षरूपमा प्राकृतिक शक्तिको प्रतिनिधित्व गर्ने प्राचीनकालदेखिकै आराध्यादेवता हुन्। सूर्य बल, यश, चक्षु, आत्मा र मन हुन्। हिन्दु धर्मग्रन्थ अनुसार सात वटा घोडा र एउटा पांग्रा भएको रथको सवारी यिनले गर्छन्। यिनको किरणबाट सात वटा रंग निस्किन्छ। पञ्चदेवतामध्ये सूर्यको पहिलो पूजा हुन्छ। वैज्ञानिक दृष्टिकोणले समेत सूर्य सबभन्दा ऊर्जावान् पिण्ड हो। 
छठ पर्वमा प्रयोग गरिने सामाग्रीहरु

यस पर्वमा बाँसका कप्टेराबाट डुम समुदायबाट बनाइएका छिठा, चंगेरा, कोनिया, कनसुप्ती, डगरा, सुप, डगरी, कुमहार जातिबाट निर्माण गरिएका कोशिया, कुरुवार, दीयोहात्ती कन्तरी, गम्हरी, धान, ठकुवा, भुसुवा, खजुरीया, खाजा, मुंगवा, मिठाई, स्याउ, सुन्तला, केरा, नारियल, बोगटी, झुपझुपा भएका उखु, बेसार, मुला, पान सुपारी, अद्रक पात, सिन्दुर, घ्यू, बद्धी, दुध आदि पूजा सामग्री तथा प्रसादीहरू प्रयोग गरिन्छ।

फलहरुमा नारिवल, मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, सुतथी, ऊखु लगायतका झुप्पा झुप्पा फल्ने फलहरु चढाउँदा सूर्य देवता प्रशन्न हुने जन विश्वास छ। ठकुआमा तन्त्रिक चिन्ह अंकित हुन्छ। हाम्रा प्रायशः पर्व कृषि उपजमा आधारित भएकाले हाम्रै घर आँगन, खेतवारीमा हुने फल्ने फलफुलको तथा अन्नको प्रयोग गरिन्थ्यो। झुप्पाबाला फलफुल अर्थात् बेसार, ऊखु, मुला आदि प्रसादका रुपमा चढाइन्छ। तर, हिजोआज जमाना महँगिएको छ। तैपनि छठ जस्तो पर्व भएका हुनाले भीख मागेर भए पनि छठ गर्नै पर्ने प्रचलन अहिले पनि कायम छ। 

सामाजिक सौहार्दता

कुनै खास जाति, वर्ग, धर्म, सम्प्रदाय, गरिब वा धनीलाई होइन। यसलाई प्रकृति पुजाको संज्ञा दिँदै साहित्यकार धीरेन्द्र प्रेमर्षि भन्छन्–मिथिलामा छुवाछुतको भावना भए पनि छठ नै एउटा यस्तो पर्व हो, जसमा एउटै जलाशयमा समाजका हरेक जाति, धर्मका मानिसले सूर्यलाई पूजा गर्नु सामाजिक सद्भाव र समन्वयको उत्कृष्ट उदाहारण हो। उनी अगाडि थप्छन्, ‘छठ पर्वले त्यो स्वर्ण युगको आभाष दिलाउँछ। जतिवेला एउटै धर्म थियो। र, त्यो दिव्यशक्तिको रूपमा प्रकृति पूजा नै थियो।

यो पर्व मनाउनका लागि कुनै जाति बन्धन आवश्यक छैन। त्यसैले केही संख्यामा मुस्लमान र पर्वते मुलका मानिसहरू तराई–मधेशसहित राजधानी काठमाडौंमासमेत हर्षोल्लासपूर्वक छठ पर्व मनाउँदै आएका छन्।
मानिसलाई सबैभन्दा बढी पानीबाट नै छुवाछुतको भावना जागृत हुन्छ। त्यसमा पनि माटाका भाडोबाट अझै हुन्छ। तर, यस पर्वमा प्रयोग गरिने बाँसका सामग्रीहरू कथित तल्लो जाति भनिएका डोम जातिबाट नै किनमेल गरिन्छ। यस्तै, यसमा प्रयोग गरिने अन्य सामग्रीहरू माली, बरइ, कुमहार र कोइरीहरू जातिहरूबाट किनमेल गर्ने चलन रहेको छ। यस सम्बन्धमा एउटा गीत छ–

छोेटी मोटी डोमिन बेटीक भुईयाँ लोटय केस, 
सुपबा लऽ अनिहे हे डोमिन बेटी अघ्र्यके बेर

व्रतीले यस पर्वको लाभ आफै मात्र नलिएर सम्पूर्ण परिवार समाज र आफन्तलाई पनि दिने गर्छन्, जसको पुन्यको भागि सबै हुने जनविश्वास छ। 

यसरी जनकपुरधाम मात्रै होइन, मुलुककै पर्यटकीय नगरीको रूपमा विकास एवं प्रवद्र्धन गर्नको लागि छठ पर्व पनि एउटा उपयुक्त सांस्कृतिक धरोहर हुन सक्छ। यसमा कसैको दुई मत नहोला।

मंसिर ४, २०७७ बिहीबार ०६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।