खुलामञ्चमा भोकले अत्तालिएको पेट

खुलामञ्चमा भोकले अत्तालिएको पेट

५८ वसन्त काटिसकेका उनलाई झ्वाट्ट हेर्दा लाग्छ, ‘उनले ६५ वसन्त काटिसकेका छन्।’ 

दारी झुस्स छन्। उनका गाला मनग्गे मुजा परिसकेका छन्। निकै मैला देखिने दुई वटा सर्ट, स्विटर, सुरुवाल, थोत्रा चप्पल र उनी (उलन)को रातो टोपी लगाएका न्यौपाने घाम छिप्पिँदै गए पनि हल्का कामिरहेका थिए। उनको आँखामा चिप्रा देखिन्थे। 

निरास मुद्रामा देखिने उनी दायाँबायाँ आँखा डुलाइरहेका थिए। 

न्यौपाने बिहानै खुलामञ्चमा त्यसै पुगेको भने होइनन्। अघिल्लो दिन बेलुकादेखिको भोको पेट भर्नु थियो उनलाई। विभिन्न समूहले खुलामञ्चमा असहाय तथा खाना खुवाउन नपाउनेहरूलाई निःशुल्क खाना खुवाउँदै आएका थिए। न्यौपाने पनि चैतको १७ गतेदेखि खुलामञ्चमा तिनै सहयोगीहरूले दिएको खाना खाँदै आएका थिए। 

तर, उनले बुधबार खाना खान पाउने छाँट देखेनन्। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खान निषेध गरेसँगै बुधबार उनले खुलामञ्चमा खाना खान नपाउने करिव पक्का भइसकेको थियो। न्यौपानेले नियाउरो मुद्रामा मलिन स्वरमा उकेरासँग भने, ‘आज त भोकै परिएला जस्तो छ।’ 

तर, उनमा खाना खान पाइहालिन्छ की भन्ने झिनो आशा मरेको थिएन। 

५८ वर्षीय न्यौपानेका आँखा भने कसैले खाना पो ल्याउँदै छ की भनेर तन्किरहेका थिए। 

काभ्रेको पाँचखाल स्थायी घर भएका उनी असन क्षेत्रमा भारी बोक्ने काम गर्थे। न्यौपानेले सुनाए, ‘कोरोनाले गर्दा कामै पाइएन।’

त्यसपछि उनी खुलामञ्चमा दाताले दिएको खाना खान जान थालेका हुन्। उनी श्रीमतीको मृत्यु भइसकेकाले गाउँ पनि गएनछन्। छोरा भए पनि उनी काम गर्दैनन् रे। असन क्षेत्रमा बस्ने उनले लकडाउनपछि भने घरभाडा तिर्न नसकेको बताए। 

पछिल्लो समय बसपार्कका रूपमा परिणत भएको खुलामञ्चमा छिर्ने गाडीको बेगबाट छलिँदै भातको आशामा बस्न उनलाई मनग्यै सकस देखिन्थ्यो। बसपार्कमा गाडीको ओहोरदोहोर र भीडभाड बाक्लै थियो। 

न्यौपानेसँग कुरा गरिरहँदा उनका आँखा भने दायाँबायाँ तन्किरहेका थिए। उनीसँग कुरा गर्दागर्दै काठमाडौं महानगरपालिकाको ‘निसान’ गाडी खुलामञ्चमा छिर्याे। महानगर प्रहरीको ठूलो आवाज आयो, ‘भात खान जानेहरू गाडीमा चढौं । लुलु... छिटो गरौं...।’ 

त्यसपछि भोकले आत्तिरहेका उनी हत्तनपत्त हुन्मुनिँदै महानगरपालिकाको गाडीमा चढे। गाडीको छेउमा अडेस लागे। खाना खाने मानिसलाई लिएर गाडी थापाथलीस्थित प्रसूति गृह पछाडिको खोलाको किनारको खाली जग्गातिर हुँइकियो।

बुधबार भने महानगरपालिकाले न्यौपाने जस्ता खानाको अभाव बेहोरिरहेका व्यक्तिहरूका लागि खाना खान यो ठाउँ छनोट गरेको रहेछ। 

खुलामञ्चमा देखिएको फोहोर तथा गन्ध नाकले नसहने अवस्थामा पुगिसकेको थियो। माक्स खोलेर थुकें। अनि म पनि महानगरपालिकाले व्यवस्था गरेको खाना खाने ठाउँ (प्रसूति गृहको पछाडि) तर्फ लागें।

खाना खाने ठाउँमा पुग्दा घडीको घण्टा काँटाले बिहानको करिव ११ हानिसकेको थियो। न्यौपानेले खाना खाइसकेछन्। 

यसो हेरें, ‘उनको अनुहार उज्यालो देखियो। 

अनुमान काटें, ‘बाजेको पेट भरिएछ ।’

सोधें, ‘खाना खानुभयो ?’

न्यौपानेले अनुहार उज्यालो लगाएर मुस्कुराउँदै जवाफ फर्काए, ‘खाएँ ।’ 

उनले काम नचलुञ्जेल र खाना खुवाउञ्जेल हिँड्दै आफू खाना खान आउने बताए।        बुधबार न्यौपानेजस्तै करिव १५० हाराहारी व्यक्तिले त्यहाँ खाना खाए। हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भने, ‘खुलामञ्चमा झण्डै तीन सय जनाले खाना खानुहुन्थ्यो। खानाखान निक्कै जना छुट्नु भयो ।’ 

उनले जबसम्म व्यक्ति रोजगार हुँदैनन् तबसम्म भोको पेटमा तातो भात खुवाउने कार्यक्रमलाई निरन्तरता दिने बनाए। अध्यक्ष पन्तले महानगरपालिकाको समन्वयमा नै खाना खुवाउने वैकल्पिक ठाउँको छनोट भएको जानकारी दिए। 

त्यसो त सरकारले सहयोग गरे अर्को ६ महिनासम्म पनि काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउन सकिने हाम्रो सानो प्रयास नेपालका राष्ट्रिय संयोजक पुकार बमले जानकारी दिए। तर, सरकारले जिम्मेवार भएर असहाय तथा निमुखा व्यक्तिको व्यवस्थापन गर्नु पर्ने बमले बताए। उनले बसपार्कको पछाडि खुलामञ्चको ठाउँ खाना खुवाउनका लागि मागेको भए पनि त्यो ठाउँ महानगरले नदिएको बताए। बमले भने, ‘थापाथलीसम्म आउन वृद्ध, असक्त र केटाकेटीलाई समस्या हुन्छ।’ 
 
काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि खाना खुवाउने सवै समूहसँगको समन्वयमा नै महानगरपालिका खाना खाने वैकल्पिक ठाउँको व्यवस्था गरेको बताए। ‘क्रमशः खाना खाने यो ठाउँलाई व्यवस्थित बनाउँदै लगिन्छ,’ सापकोटाले भने, ‘खाना खानेहरूलाई खुलामञ्चबाट लखेटेको हैन। व्यवस्थित गरेको हो।’ 

बुधबारबाट खाना खुवाउन थालिएको ठाउँ खुल्ला ठाउँ हो। झोरघारी रहेको सो ठाउँ सफा गर्न थालिएको छ। बसपार्कमा दुर्घटना, रोगको संक्रमणलगायतका जोखिम रहेकाले वैकल्पिक ठाउँको व्यवस्थापनका लागि महानगर लागि परेको नगर प्रहरी प्रमुख सापकोटाले जानकारी दिए। यसअघि नै महानगरपालिकाले पार्टी प्यालेसमा खाना खुवाउन निर्देशन दिइसकेको थियो। तर, पार्टी प्यालेस नै नपाइएको खाना खुवाउने अभियान्ताको तर्क छ।

महानगरपालिकाले आज मात्रै नयाँ ठाउँ देखाउनका लागि गाडीमा हालेर निःशुल्क खाना खानेहरूलाई थापाथलीस्थित नयाँ ठाउँ लगेको हो। तर, भोलिबाट नलाने महानगरले जनाएको छ। 

कर्म गरेर खान चाहनेका लागि महानगरपालिकाले ३२ वटा नै वडामार्फत काम गरेर पारिश्रमिक समेत पाउने गरि व्यवस्था गरेको कुरा सापकोटाले स्मरण गराए। साफसफाई, पेन्टिङ लगायतका काम लगाइने महानगरले जानकारी दिएको छ। 

हाम्रो टिम नेपाल, हाम्रो सानो प्रयास नेपाल, गोसिप नेपाल, हण्ड्रेड गु्रप जस्ता समूहले खुलामञ्मा खाना खुवाइरहेका छन्।

०००

फेरि खुलामञ्चकै प्रसंग कोट्याउन मन लाग्यो। खुलामञ्च यस्तो ठाउँ हो,–‘जहाँ नेताहरूले सयौं व्यक्तिहरू भेला गरेर गर्जन सहितका भाषण ठोक्थे। जनताको नाम भजाएर आफ्नो कुर्सीको बास्सा पल्टाउँथे।

अहिलेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खुलामञ्चमा पुगेर पहिलो पटक सार्वजनिकरूपमा देखा परेका थिए। उनले त्यही ठाउँको मञ्चबाट भाषण बर्साउँदै आशाको पोको बाँडेका थिए। सर्वहाराको लागि लडेको भनिएको पार्टी आज सत्तामा छ। तर, खुलामञ्चमा आज पनि कसैले एक छाक दिन्छ की भन्दै भौतारिनु पर्ने कस्तो बिडम्बना, प्रश्न अवश्य तेर्सिन्छ।

प्रधानमन्त्री ‘कोही भोकै बस्नु पर्दैन’ भनेर भाषण दिन छाड्दैनन्। तर, भोकाका लागि भोजन गर्ने वातावरण बनाउन नसक्नु अवश्य विडम्बना हो। सत्ताधारी नेकपाले मुलुकमा विकासको कायापलट नै ल्याउने भन्दै चुनाव जितेर सत्तामा पुग्यो। आजसम्म पनि त्यही नेताले भाषण गर्ने खुलामञ्चमा पेट भर्नका लागि हात थाप्नु पर्ने अवस्थाले खुलामञ्चले नेतालाई गिज्याएन र !

मंसिर ३, २०७७ बुधबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।