कफीको न्यूनतम मूल्य निर्धारण 

कफीको न्यूनतम मूल्य निर्धारण 
तस्बिर : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौं : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ।

मंसिर १ गतेबाट लागू हुने गरी कफीको न्यूनतम मूल्य तोकेको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार फ्रेस चेरी कफी प्रतिकेजीको मूल्य ग्रेड ‘ए’ ९० र ‘बी’ ग्रेडको ८० रूपैंयाँ तोकिएको छ। 

फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्ट कफी  प्रतिकेजीको मूल्य ग्रेड ‘ए’को ४५० र ‘बी’को ३९७ रूपैयाँ तोकिएको छ। 
११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट ग्रेड ‘ए’ कफी भनिन्छ। 

ड्राइ चेरी कफी प्रतिकेजीको मूल्य ग्रेड ‘ए’को  १४८ र ‘बी’को ९५ रूपैयाँ तोकिएको छ। फ्रेस चेरीबाट उत्पदन भएको ड्राई चेरीलाई ‘ए’ ग्रेड मानिन्छ। 

प्रांगारिक पद्धति अपनाएर उत्पादन गरिएको, पानीमा राख्दा डुब्ने, ठिक पाकेको केलाएर छानिएको कफीलाई ‘ए’ ग्रेड भनिन्छ। ‘ए’ ग्रेडमा नपरेकोलाई ‘बी’ ग्रेड भनिन्छ।  नेपालमा सबैभन्दा बढी पार्चमेन्ट कफी महँगो छ भने सबैभन्दा सस्तो फ्रेस चेरी छ।  

कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम मूल्य तोकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले बताए। 

‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ नारालाई मध्यनजर गर्दै बोर्डले यस वर्ष चक्लाबन्दीमा कफी विस्तार कार्यक्रहरूलाई प्रमुखरूपमा लिएको उनले बताए। 

‘कफी उत्पादन बढाउन सम्भावित केही जिल्ला तथा स्थानीय तहहरूसँग बोर्डले योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिने छ,’ उनले भने, ‘आगामी दिनहरूमा कफी विस्तार कार्यक्रमलाई प्रदेश  स्थानीय तहहरूको नियमित कार्यक्रमको रूपमा कार्यान्वयन गर्न बोर्डले अग्रणी भूमिका खेल्ने छ।’

विभिन्न वर्षहरूमा तोकिएको कफीको न्यूनतम सहमत मूल्य

स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

हरेक वर्ष कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको उत्पादन, आयात निर्यातको तथ्यांक सार्वजनिक गर्दै आएको छ। 

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण वैज्ञानिक ढंगबाट नयाँ तथ्यांक सार्वजनिक गर्ने भएकाले यस वर्ष तथ्यांक सार्वजनिक गरेको छैन।  

गत आर्थिक वर्षमा ११ करोड ८८ लाख रूपैयाँ बराबरको २६६ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ५ करोड ७७ करोड रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन मात्रै कफी निर्यात भएको छ। 

नेपाली बजारमा कफीको माग उच्च वृद्धि हुँदा उत्पादन बढ्न नसकेपछि कफीको आयात बढेको र निर्यात घटेको हो। 

नेपालको कफी नेपालमै खपत हुने भएकाले निर्यातमा कमी आएको प्रवक्ता दीपक खनालले बताए। ‘यसको गुणस्तर राम्रो छ। आन्तरिक खपत पनि बढेको छ,’ उनले भने, ‘यो तथ्यांकलाई अलि बैज्ञानिक बनाउनको लागि अलि केही समय काम गर्ने र अनि मात्र तथ्यांक सार्वजनिक गर्नेछ।’ 

कफी आयात र निर्यात विवरण

स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
 

मंसिर ३, २०७७ बुधबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।