कोरोनाले बैंकको नाफा खुम्चियो

कोरोनाले बैंकको नाफा खुम्चियो

काठमाडौं : विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपालको बैंकिङ क्षेत्रको मुनाफा खुम्च्याइदिएको छ। कोरोना संक्रमणको त्रासका कारण गत चैत यता आर्थिक गतिविधि सुस्ताउँदा त्यसको प्रभाव बैंकको नाफामा परेको हो।

मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये २६ वटाले चालु आर्थिक वर्ष  २०७७/७८ को प्रथम त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एनसिसी बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन। त्रैमासिक अवधि समाप्त भएको ३५ दिनभित्र बैंक तथा वित्तीय संस्थाले आआफ्नो वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने प्रावधान भए पनि यसपटक कोरोना संक्रमणलाई नै लक्षित गरेर नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने म्याद १५ दिन थपिदिएको छ। 

वित्तीय विवरण सार्वजनिक गरेका २६ वटा बैंकको तथ्यांक विश्लेषण गर्दा वाणिज्य बैंकहरुकोे पहिलो त्रैमासिक अवधिको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३ प्रतिशतले खुम्चिएको छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिक अवधिमा एनसिसीबाहेक अरु वाणिज्य बैंकको कुल मुनाफा १४ अर्ब ९१ करोड ७५ लाख ९१ हजार रूपैयाँ थियो। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने नाफा खुम्चिएर १४ अर्ब २६ करोड ९३ लाख ९४ हजारमा सीमित भएको छ। यसअघिका आर्थिक वर्षहरूमा बैंकहरूले औसतमा १० देखि १५ प्रतिशत हाराहारी नाफा बढाउने गरेका थिए।

कोरोनाका कारण अर्थचक्र प्रभावित भएपछि बैंकहरूको निक्षेप–कर्जा अनुपात बढ्न पुगेको छ। त्रासका बीच भविष्यको आर्थिक सुरक्षाका लागि सर्वसाधारणले आफूसँग भएको रकम बैंकमा निक्षेपका रूपमा जम्मा गरेका छन्। अर्कोतिर कर्जा माग घट्न पुग्दा बैंकले निक्षेपलाई कर्जा लगानीका रूपमा परिचालन गर्न सकेका छैनन्। परिणाममा बैंकले निक्षेपमा तिर्नु पर्ने ब्याज राशि बढ्न पुगेको छ भने कर्जाबाट हुने ब्याज तथा सेवा शुल्कबापतको आम्दानी घट्न पुगेको छ। यही कारण बैंकको नाफा प्रभावित हुन पुगेको हो।

वित्तीय विवरण सार्वजनिक गरेका २६ वटा वाणिज्य बैंकमध्ये नौवटा भने विषम परिस्थितिमा पनि मुनाफा बढाउन सफल भएका छन्। मुनाफा बढाउन सफल बैंकहरुमध्ये एनएमबी बैंक सबैभन्दा अगाडि देखिएको छ। यो बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षका सोही अवधिमा झण्डै एक सय ७० प्रतिशतले मुनाफा बढाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एनएमबी बैंकले ७३ करोड २९ लाख ७० हजार रूपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा रकम २१ करोड १८ लाख ४५ हजार थियो।

नाफा रकम बढाउन सफल बैंकहरूको सूचीमा एनएमबीपछि क्रमशः प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बंगलादेश बैंक देखिएका छन्। प्राइमको मुनाफा ५४, कुमारीको मुनाफा ५०, सिटिजन्सको मुनाफा ४८ र नेपाल बंगलादेशको मुनाफा ४२ प्रतिशतले बढेको छ। मुनाफा बढाउन सफल अन्य बैंकमा ग्लोबल आइएमई, मेगा, प्रभु र एनआइसी एसिया बैंक छन्। ग्लोबल आइएमईको मुनाफा ४१, मेगाको मुनाफा ३९, प्रभुको मुनाफा ३५ र एनआइसी एसिया बैंकको मुनाफा एक प्रतिशतले बढेको छ।

मुनाफा रकम घट्ने १७ वटा बैंकको सूचीमा अधिकांश ठूला र ब्रान्डेड कम्पनी मानिएका तथा वैदेशिक लगानीसमेत रहेका बैंक देखिएका छन्। सबैभन्दा बढी मुनाफा घट्ने बैंकका रूपमा नेपाल एसबिआई बैंक देखिएको छ। यो बैंकको मुनाफा ५४ प्रतिशतले ओरालो लागेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४३ करोड ७२ लाख ३१ हजार रूपैयाँ नाफा कमाएको यस बैंकको चालू आर्थिक वर्षको सोही अवधिमा मुनाफा रकम २० करोड पाँच लाखमा सीमित भएको छ। यस्तै, एभरेस्ट बैंकको मुनाफा ५२, हिमालयन बैंकको मुनाफा ४७, सेन्चुरी कमर्सियल बैंकको मुनाफा ४१ र सिभिल बैंकको मुनाफा ३९ प्रतिशतले ओरालो लागेको छ।

नाफा खस्किने सूचीमा परेका अन्य बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक (३८ प्रतिशत), सानिमा बैंक (३७ प्रतिशत), बैंक अफ काठमान्डू (३७ प्रतिशत), नेपाल इन्भेस्टमेन्ट बैंक (२६ प्रतिशत), लक्ष्मी बैंक (२२ प्रतिशत), सनराइज बैंक (१६ प्रतिशत), नबिल बैंक (९ प्रतिशत), माछापुच्छ«े बैंक (४ प्रतिशत) र सिद्धार्थ बैंक (४ प्रतिशत) छन्। सरकारी लगानीका तीनवटै बैंकको पनि नाफामा गिरावट आएको छ। सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंकको मुनाफा २७, कृषि विकास बैंकको मुनाफा २३ र नेपाल बैंकको मुनाफा पाँच प्रतिशतले खुम्चिएको छ।
 

मंसिर ३, २०७७ बुधबार ०६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।