कृषिमा बढ्दै छ यान्त्रिकीकरण
भैरहवा : रूपन्देहीमा पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोग बढ्दै गएको छ।
यहाँका किसानहरूले यान्त्रिक औजारहरूको प्रयोग गरेर खेतिपाती गर्न भित्र्याउन थालेका छन्। औजार खरिदमा पाइने अनुदान र उत्पादन लागत कम हुने भएपछि यान्त्रिकीकरणमा किसानहरूले जोड दिएका हुन्।
चार वर्षअघि जिल्लामा पहिलो पटक मेसिनबाट धान रोप्ने प्रविधि भित्रिएको थियो। तिलोत्तमा नगरपालिका-१९, मुडियारीको आदर्श कृषक समूहले धानको बीउ छर्ने र धानको बीउ रोप्ने मेसिन भित्र्याएका थिए। त्यसयता कृषिमा यान्त्रिकीकरण झनै बढ्दै गएको छ।
समूहले धानको ब्याड राख्ने र बीउ रोप्ने यान्त्रिक मेसिनबाट रोपाइँ प्रदर्शनको आयोजना गरेर नै धान रोप्ने मेसिनको उद्घाटन गरेका थिए। जिल्लामा पहिलो पटक प्रदर्शन गरिएको धान रोप्ने मेसिन हेर्न जिल्लाभरिबाट अगुवा किसान त्यहाँ पुगेका थिए। त्यसको प्रभावले साविकको जोगडा गाविसमा रहेको चिराइतो कृषि सहकारी संस्थाले पनि सोही वर्ष धान रोप्ने मेसिन भित्र्यायो।
कृषि मजदुर नपाइने र उत्पादन लागत बढी लाग्ने चिन्ताले पिरोलिएका किसानलाई यो प्रविधिले निकै उत्साहित बनाएको छ। ‘काम गर्ने खेतला नपाएर ठूलो समस्या भएको थियो, अहिले मेसिनले काम हुन थालेपछि समस्या टरेको छ,’ सूर्यपुराका अगुवा किसान नारदमुनी यादवले भने, ‘खेती गर्न र भित्र्याउन पनि अहिले अधिकांश किसानले मेसिनरी प्रयोग गर्छन्।’
यान्त्रिकीकरणको प्रयोगले उत्पादन लागत र उत्पादनमा पनि राम्रो हुने बुझेपछि किसानहरू यान्त्रिक औजारको प्रयोग बढाएका हुन्। जिल्लामा अहिले हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेस्टर, धान, गहुँ, तोरी तथा मसुरो चुट्ने थ्रेसर मेसिन, धान तथा गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग भइरहेको छ।
कृषि विज्ञहरूका अनुसार मेसिनबाट बीउ राख्दा र रोप्दा यसले उत्पादन लागत २५ प्रतिशत घटाउँछ। उत्पादन २० देखि ३० प्रतिशतले बढाउँछ। कृषि मजदुर नपाइने र बढी उत्पादन लागत लाग्ने चिन्ताले खेती गर्न नसकेका किसानलाई प्रविधिको प्रयोगले निकै सहजता प्रदान गरेको छ।
परम्परागत तरिकाले १ बिघा क्षेत्रफलमा धान रोप्दा सामान्यतया ४० केजीसम्म बीउ लाग्ने गर्छ। मेसिनले धानको बीउ छर्दा र रोप्दा भने जम्मा १८ केजी लाग्ने भएकाले पनि किसानलाई फाइदा हुने बरिष्ठ कृषि अधिकृत रामप्रसाद पाण्डेले बताए। यान्त्रिक औजारको प्रयोगले सहजता प्रदान गरेपछि खेतला नपाएर हैरान बनेका किसानहरू दंग छन्। त्यस्तै सिँचाइका लागि बोरिङ, पम्मसेट, मोटरको प्रयोग भइरहेको छ।
एकातिर कृषि पेसालाई नाफामूलक बनाउन यान्त्रिकीकरणको अभ्यास भइरहँदा बढ्दो खेतीयोग्य जमिनको खण्डीकरणले किसानहरू चिन्तित छन्। देशमा हुने उत्पादन अपुग हुँदा परनिर्भरता बढ्दो छ।
कृषि विज्ञका अनुसार मुलुकमा बढ्दो परनिर्भरता कम गर्न कृषिमा यान्त्रिकीकरण अपरिहार्य छ। खेतीयोग्य जमिनलाई व्यवस्थित गर्न २०६९ सालमा भूउपयोग नीति बनेको छ। तर, कार्यान्वयन नहुँदा खेतियोग्य उर्वर भूमि नासिँदै गएको छ।
देशलाई आत्मनिर्भर बनाउन, पोषण र खाद्य तत्त्वको ग्यारेण्टी गर्न चक्लाबन्दी खेती, जसमा आधुनिक कृषि औजारहरूको प्रयोग भए, परनिर्भरता हट्ने पाण्डे बताउँछन्। नेपाली कृषि क्षेत्रमा आधुनिक कृषि प्रणाली र यान्त्रिकीकरण नभएसम्म उत्पादन लागत घटाउन पनि नसकिने उनको भनाइ छ।
तर, कृषि उत्पादनका लागि प्रयोग गर्ने साना तथा मझौला खालका कृषि यन्त्रहरू पनि किसानहरूको पहुंँचमा पुग्न सकेको छ कि छैन भन्नेमा सरोकारवालाले खासै ध्यान दिइएको पाइँदैन। यसैको नाममा आएका अनुदान केवल व्यापारीहरूको पञ्जाबाट उम्कन नसक्ने गुनासाहरू बेलाबेलामा आउने गरेका छन्।
व्यवसायीले किसानहरूलाई चर्को मूल्य असुल्ने गरेका कारण पनि किसानहरू आफ्नो उत्पादन बृद्धि गर्न वा लागत मूल्य घटाउनका लागि सहज हुने कृषि यन्त्र प्रयोग गर्न उत्प्रेरित हुन सकिरहेका छैनन्।
त्यसकारण कृषि विकास मन्त्रालय र सरोकारवाला निकायले कृषि उत्पादनको लागत मूल्य कम गराउन कृषि यान्त्रिकीकरणमा सहज र सरल पहुँच वृद्धि गर्नुको विकल्प नभएको विज्ञको भनाइ छ। अन्यथा कृषि यान्त्रिकीकरण नारामा मात्र सीमित हुने कृषि विश्लेषकको भनाइ छ।
रूपन्देहीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा कृषि खेती हुँदै आएको छ। बढ्दो प्लटिङ र बसाइँसराईले खेतीयोग्य जमिन बर्सेनि मासिँदै छ। खेतीयोग्य जमिन मासिँदै जाँदा परनिर्भरता समेत बढेको छ।
मंसिर ३, २०७७ बुधबार ०६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।