गर्भवती महिला र मधुमेहको समस्या
हामीले खाएको खाना पेट (आमाशय)मा पुगेपछि बिस्तारै पाचन हुन थाल्छ र ग्लुकोजमा परिणत हुन्छ। यही ग्लुकोज आन्द्राबाट सोसिएर रगतमार्फत शरीरको विभिन्न कोषमा पुग्छ। ग्लुकोजलाई कोषमा पुर्याउन प्यान्क्रियाजबाट उत्पादित हुने इन्सुलिनले सहयोग गर्छ। कोषले ग्लुकोजलाई शक्तिमा परिणत गर्छ।
तुलनात्मकरुपमा इन्सुलिनको कमी हुँदा वा ठ्याप्पै उत्पादन नहुँदा वा कोष तहमा इन्सुलिनको काममा अवरोध हुँदा यसको परिणाम स्वरुप रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई नै मधुमेह भनिन्छ। त्यसैले यो एक प्रकारको जीर्ण खालको मेटाबोलिक समस्या हो। मधुमेह प्रभावित व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रिया समेत प्रभावित हुन्छ। यसरी मधुमेह समस्याले प्रभावित हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिन सक्दैन। यसले गर्दा कोषले पर्याप्त शक्ति प्राप्त गर्दैन भने रगतमा पनि चिनीको मात्रा बढ्न जान्छ। रगतमा निश्चित मात्रामा चिनी हुन्छ। यदि यो मात्रा नाघ्यो भने पिसाबमा पनि ग्लुकोज देखिन थाल्छ। यसैले पनि पहिले पहिले मानिसले खुल्ला ठाउँमा पिसाब गर्दा कमिला भन्केको आधारमा गुलियो रोग (मधुमेह) लागेको शंका गरिन्थ्यो।
मधुमेहले शरीरको हरेक अंगलाई असर पुर्याउँछ। लामो समय देखिको मधुमेहले आँखालाई बढ्ता असर गर्छ। मोतिबिन्दु चाँडै हुनु, आँखाको पर्दा (रेटिना)मा समस्या आउनु र अन्धोपना हुनु यस्तै केही उदाहरण हुन्। यसले मुटु र रक्तनलीमा असर गरि हृदयाघात, रक्तचाप र मुटु दुख्ने समस्या निम्त्याउन सक्छ। मधुमेहले गर्दा मिर्गाैलाको कार्य क्षमतालाई असर गरि बढी मात्रामा प्रोटिनको खेर गराउँछ। यसैकारण शरीर सुन्निने हुन सक्छ। बिस्तारै मिर्गाैलालाई काम नलाग्ने गराउँछ। मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरि स्मरणशक्ति, संवेदनाको कमी हुने, रिंगटा लाग्ने, पक्षघात हुने जोखिम हुन्छ।
गर्भवती महिलामा मधुमेहको समस्या
जंक फुड, फास्ट फुड, चिल्लो खाना, गुलियो ड्रिंक्स लगायतका खानपिनमा आएको परिवर्तनले विशेषतः दक्षिण एसिया क्षेत्रमा मधुमेहका बिरामीको संख्या बढ्दो छ। यसमा नेपाल पनि अछुतो छैन। देश अनुसार गर्भवती महिलाहरूमध्ये करिब १ देखि १० प्रतिशतमा मधुमेहको समस्या देखिएको छ। नेपालमा यसबारे खासै अध्ययन भएको छैन।
गर्भवती महिलामा देखिने मधुमेमध्ये ९० प्रतिशत गर्भावस्थाको कारणले हुन्छ। गर्भवती महिलामा मधुमेह भएकीमध्ये ५० प्रतिशत महिलाहरू ५ देखि २० वर्षको अवधिपछि पूर्ण रूपमा मधुमेहको समस्याले आक्रान्त हुन्छन्।
सामान्यतया १८० मिलिग्राम प्रतिमिलिलिटरसम्म रगतमा चिनीको मात्रा हुँदा पिसाबमा चिनी देखिँदैन। तर, गर्भावस्थामा भने यति मात्रा हुँदा पनि पिसाबमा चिनी देखिन सक्छ। त्यसैले पनि गर्भवती महिलामध्ये ५ देखि ५० प्रतिशतमा नियमित जाँचको क्रममा वा अकस्मात् पिसाब जाँच्ने क्रममा चिनी भेटिन्छ। पिसाब छान्ने क्रिया बढ्ने र मिर्गाैलाभित्रको स–साना नलीले चिनी सोसेर फिर्ता लिने क्रियामा गडबडी हुने हुनाले गर्भवती बेलामा मृगौलाको चिनी थेग्ने क्षमता घट्छ, जुन गर्भावस्थाको दोस्रो त्रैमासिकमा बढ्ता देखिन्छ। गर्भावस्थाको कारणले हुने यस्तो खालको मधुमेह सुत्केरीपछि आफै ठिक हुन्छ। त्यसैले लामो समयसम्म औषधोपचार चाहिँदैन।
बिहान उठेपछि सुरुको पिसाब फ्याँकेपछिको दोस्रो पटकको पिसाबमा चिनी छ, छैन जाँच्नुपर्छ। यसमा चिनी भेटिनु राम्रो होइन। यसरी पिसाबमा चिनी भेटिए वा २० हप्ता अगावै पिसाबमा चिनी देखिए मधुमेह भएको हो कि निक्र्याेल गर्न ग्लुकोज खाएर गर्भवती महिलाको शरीरले चिनी पचाउन सक्ने क्षमता जाँच्नुपर्छ।
परिवारमा कसैलाई चिनी रोग छ, पहिले ४ किलोभन्दा बढी तौलको बच्चा पाएको थियो, पटकपटक गर्भ तुहिएको, पहिले कुनै बच्चा बिना कारण खेर गएको थियो भने पनि यदि खाली पेटमा रगत जाँच्दा ९५ मिलिग्राम प्रतिशतभन्दा बढी चिनी देखिएको खण्डमा ७५ (विश्व स्वास्थ्य संगठनका अनुसार) वा १०० ग्राम ग्लुकोज खाएर रगत जाँच्नु पर्छ। यदि रगतमा १४० मिलिग्राम प्रतिशतभन्दा बढी भयो भने मधुमेह भएको शंका गर्नु पर्छ। यदि भोको पेटमा रगत जाँच्दा १२५ मिलिग्राम प्रतिशतभन्दा बढी देखियो भने पनि चिनी (कार्बाेहाइड्रेट) पचाउन नसक्ने समस्या (मधुमेह) को शंका गर्नु पर्छ।
गर्भावस्थामा मधुमेह हुने समस्या गर्भवतीका कारणले वा पहिले देखि मधुमेह भइरहेको (तर पत्ता नलागेको) कारणले हुन सक्छ। यी दुई भिन्नाभिन्नै कारण अनुसार गर्भावस्थामा यसको व्यवस्थापन पनि फरक–फरक तरिकाले गरिन्छ।
गर्भवतीको कारणले हुने मधुमेह
गर्भवती बेलामा पहिलोपटक कार्बाेहाइड्रेट पचाउन सक्ने क्षमतामा गडबडी देखिन्छ। फलतः रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी देखिन्छ। यस्तो समस्या गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकमा देखा पर्छ, जुन सुत्केरीपछि सामान्य अवस्थामा फर्किन्छ ।
गर्भवतीको कारण मधुमेह हुन सक्ने महिला
माइती परिवारमा कसैलाई मधुमेह भएको, पहिला ४ किलो वा बढी तौलको बच्चा पाएको, पहिला बिना कारण महिना पुगेको बच्चा खेर गएको, गर्भावस्थामा शिशु वरिपरि पानीको मात्रा निकै बढी भएको, गर्भावस्थामा पटक पटक सेतो पानी बग्ने समस्या भएको, गर्भावस्थामा पिसाबमा चिनी निरन्तर गइरहेको, गर्भवती महिलाको उमेर ३० भन्दा बढी भएकी र मोटोपना भएकी महिलालाई गर्भवतीको कारणले हुने मधुमेह हुन सक्छ।
यसरी गर्भवतीका कारणले पनि अकस्मात रूपमा मधुमेह देखा पर्न सक्ने हुनाले कतिपय चिकित्सकले सबैजसो गर्भवतीको रगतमा चिनी जाँच्नु पर्छ भन्छन् भने कसैलेचाहिँ जोखिम हुनेलाई मात्र जाँच्नु पर्छ भन्ने गरेका छन्। तर पनि गर्भवती महिलामा रहेको जोखिम तत्वलाई विचार गरी कम, मध्यम र उच्च जोखिममा वर्गीकरण गर्ने गरेको छ।
गर्भवतीको कारणले हुने मधुमेहले पुर्याउन सक्ने खतरा यस प्रकार छन्। महिना पुग्नै लाग्दा अकस्मात् गर्भे शिशुको मृत्यु हुन सक्छ। गर्भे शिशु निकै ठूलो हुन सक्छ। गर्भे शिशु वरिपरिको पानी बढी हुन सक्छ। सुत्केरी दौरान स्त्री जननेन्द्रिय (बच्चा आउने बाटो) मा चोट पुग्न सक्छ। करिब ५० प्रतिशत महिलामा पछिको गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्छ।
गर्भवतीका कारणले हुने मधुमेहको व्यवस्थापन गर्दा पटक–पटक गर्भ जाँच गर्नुका साथै खाना परहेज र शारीरिक व्यायाममा पनि ध्यान दिइनु जरुरी छ। यदि खाली पेटमा रगत जाँच्दा १०५ मिलिग्राम प्रतिशतभन्दा बढी वा खाना खाएको २ घण्टापछि रगत जाँच्दा १३० मिलिग्राम प्रतिशतभन्दा बढी चिनीको मात्रा पाइयो भने खाना परहेज गरेर मात्र नपुग्न सक्छ।
ऐरोबिक अभ्यास, हल्का हिँडडुलले रगतमा ग्लुकोजको मात्रा घटाउन मद्दत गर्छ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामा यदि ग्लुकोज राम्रोसँग नियन्त्रणमा छ भने बच्चा पाउने मितिसम्म कुर्न मिल्छ। तर, बच्चा ठूलो छ वा गर्भे शिशुमा कुनै जटिलता छ भने गर्भावस्थाको ३८ हप्तातिरै सुत्केरी गराउनु पर्छ। यस्ता खाले महिलामा केही वर्षको अन्तरालमा पूर्णरूपमा मधुमेह देखापर्न सक्ने हुनाले निरन्तररूपमा फलोअप चाहिन्छ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामध्ये खाली पेटमा चिनीको मात्रा धेरै भएकामा पछि दोस्रो प्रकारको मधुमेह हुने तथा मुटु एवं रक्तनलीसम्बन्धी समस्या उत्पन्न हुन सक्छ।
पूर्णतः मधुमेह भएकी गर्भवती महिला
मधुमेहका लक्षण चिन्ह भएकी र अकस्मात् रगतमा २०० मिलिग्राम प्रतिशत भन्दा बढी चिनीको मात्रा देखिएकी महिलालाई पहिल्यै देखि मधुमेह भएको हुनसक्छ। यस्तो अवस्थामा गर्भ जाँचको क्रममा पहिलो चोटी यो गर्भावस्थामा पत्ता लागेको हुन सक्छ।
भोक तिर्खा बढी लाग्नु, रातिको समयमा समेत पटक–पटक पिसाब लाग्नु, शरीर चिलाउनु, आँखा धमिलो देखिनु, थकाई लाग्नु, कमजोरी महसुस हुनु, हात खुट्टा झमझमाउनु आदि मधुमेहका लक्षण हुन्। यसैगरी, घाउचोट लाग्दा निको हुन समय लाग्नु, शारीरिक तौलमा कमी आउनु, विवाहित दम्पतिमा निःसन्तानको समस्या हुनु पनि मधुमेहका लक्षण चिन्ह हुन सक्छ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा भएन भने गर्भे शिशुको मृत्यु हुने, गर्भे शिशु राम्ररी बढ्न नसक्ने, गर्भवती महिलामा कम्पन छुट्ने समस्या हुनसक्ने, रगतमा किटोन नामक हानीकारक पदार्थ बढ्न सक्ने हुन सक्छ।
गर्भावस्थाको असर मधुमेहमा
ह्युम्यान प्लासेन्टल ल्याक्टोजेन, इस्ट्रोजेन, प्रोजेस्टेरोन, कर्टिसोल नामका रासायानिक तत्त्वको सामूहिक प्रभावले इन्सुलिनको काममा अवरोध खडा गरी चिनी नियन्त्रणमा राख्न गाह्रो हुन्छ। गर्भे शिशुको साथी सालले इन्सुलिन बढ्ता टुक्राइदिन्छ। गर्भावस्थाको अवधिसँगै इन्सुलिनको आवश्यकता पनि बढ्दै जान्छ।
पिसाबबाट बढ्ता चिनी खेर जान सक्ने हुनाले रगतको जाँचबाट मात्र चिनीको वास्तविक मात्रा थाहा हुन्छ। वाकवाकी, संक्रमण तथा सुत्केरी व्यथाले रगतमा अधिक चिनीका कारण हुनसक्ने जटिलता हुन सक्छ। रक्तनलीमा असर पुयाई आँखाको पर्दा, मिर्गौला, मुटुको रक्तनली तथा नशामा पनि बढ्ता खराब निम्त्याउँछ।
मधुमेहले गर्भावस्थामा पुर्याउन सक्ने असर
मधुमेहले गर्भावस्थाका तीनै चरणमा असर गर्न सक्छ। गर्भावस्थामा गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भवती महिलामा कम्पन छुट्न सक्ने, गर्भे शिशु वरिपरि पानी बढी हुने, गर्भवती महिलामा छटपटी बढ्ने, आँखाको पर्दा र मिर्गौलामा असर पुग्छ।
सुत्केरी व्यथाको दौरान व्यथा लामो हुने, शिशुको टाउको जन्मे पनि काँध अड्किन सक्ने, फोरसेप वा भ्याकुम उपकरणको मद्दतले सुत्केरी गराउनु पर्ने, स्त्री जननेन्द्रियमा बच्चा आउने बाटोमा चोट पुग्न सक्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुनसक्ने हुन्छ। सुत्केरीपश्चात संक्रमण बढ्ने तथा स्तनपानमा समस्या आउन सक्छ।
नवजात शिशुमा असर
गर्भवती महिलामा भएको मधुमेहको कारण नवजात शिशुमा पनि नकारात्मक असर पर्न सक्छ। गर्भमा छँदै आकार ठूलो हुने, स्नायु प्रणाली, मुटु, मिर्गौला, खाद्यनली सम्बन्धी जन्मजात विकलाङ्ग हुन सक्ने, बिना कारण मृत्यु हुन सक्छ ।
जन्मपश्चात शिशुको रगतमा चिनीको मात्रा घट्ने, क्याल्सियम र म्याग्नेसियमको मात्रा पनि घटने, श्वास प्रश्वास समस्या आउने, रगत बाक्लो हुने, जन्डिसको मात्रा बढी हुने, मुटुको आकार बढ्ने हुन्छ। नवजात शिशुको रगतमा चिनी नपुगेर, श्वासप्रश्वासको समस्या भएर, रगत बाक्लो भएर अनि जन्डिसको समस्याले मृत्यु हुने दर २–३ गुणाले बढ्छ।
मधुमेह भएकी गर्भवती महिला
गर्भावस्थाको दौरान दैनिक ३० देखि ३५ किलो क्यालोरी प्रतिकिलोग्राम शारीरिक तौल आवश्यकता पर्छ। सामान्य तौल भएकी गर्भवती महिलालाई २००० देखि २५०० किलो क्यालोरी प्रतिदिन र मोटोपना भएकीलाई १२०० देखि १८०० किलो क्यालोरी प्रतिदिन आवश्यकता पर्छ, जसमध्ये कार्बोहाइड्रेट ५० प्रतिशत, प्रोटिन २० प्रतिशत र चिल्लो पदार्थ २५ देखि ३० प्रतिशत हुनु पर्छ। खानामा रेशादार बढी हुनु पर्छ। आवश्यक खानाको २५ प्रतिशत बिहानको खानामा हुनु पर्छ भने दिउँसो र रातीको खानामा ३०–३० प्रतिशत हुनु पर्छ।
मधुमेहले प्रभावित गर्भवती महिलाले एकैपटक धेरै खानुभन्दा पटक–पटक खानु श्रेयस्कर हुन्छ।
१८०० किलो क्यालोरी डाइट चार्ट
बिहानको खाजा
चिनी नभएको बिस्कुट ५-६ वटा
वा
पाउरोटी ३ टुक्रा
अण्डा १ वटा
चिनी नभएको चिया १ गिलास
बिहानको खाना
भात २ गिलास पाकेको
दाल वा गेडागुडी १ कचौरा
हरियो सागपात १ कचौरा पाकेको
अरु तरकारी आधा कचौरा पाकेको
खाजा
चिउरा वा रोटी २ वटा
तरकारी आधा कचौरा पाकेको
चिनी नभएको दुध १ गिलास
फलफूल १ वटा (१०० ग्राम)
रातिको खाना
रोटी ३ वटा
वा
मकै वा गहुँको च्याँख्ला डेढ गिलास पाकेको
अरु तरकारी आधा कचौरा पाकेको
हरियो सागसब्जी १ कचौरा पाकेको
मासु ५/६ टुक्रा (हप्तामा २ पटक)
साधारण चिया गिलासले नाप्ने (१२५ ग्राम अट्ने)
०००
पटक–पटक चिनीको मात्रा जाँच्नु पर्छ। गर्भे शिशुको अवस्था थाहा पाउन अन्य समयमा भन्दा बढी पटक अल्ट्रासाउण्ड गराउनु पर्छ। मधुमेह भएकी गर्भवती महिलाको गर्भे शिशुको तुलनात्मकरूपमा फोक्सो पाको (बलियो) भएको हुँदैन। हमेशा यसको ख्याल राख्नु पर्छ।
मधुमेहले प्रभावित गर्भवती महिलामा उच्च रक्तचाप वा गर्भे शिशुमा कुनै जटिलता देखिन थालेमा सुत्केरी गराउनतर्पm लाग्नु पर्छ।
मधुमेहले प्रभावित गर्भवती महिलाको उमेर बढी भएमा, धेरै बच्चा पाइसकेको भएमा, पहिलोको गर्भ बिग्रेको भएमा, मधुमेह नियन्त्रणमा राख्न गाह्रो भएमा, कुनै जटिलता आएमा, कम्पन छुटेमा, गर्भे शिशुको वरिपरि पानी बढी भएमा, बच्चाको बसाई उल्टो भएमा, बच्चा निकै ठूलो (४ किलो भन्दा बढीको) भएमा सिजेरियन अपरेसनको जरुरत पर्न सक्छ। समग्रमा करिब ५० प्रतिशत मधुमेहले प्रभावित गर्भवती महिलालाई सुत्केरी बेलामा सिजेरियन अपरेसनको आवश्यकता पर्छ।
सुत्केरी व्यथाको बेलामा आमा र बच्चाको स्वास्थ्यमा निगरानी राख्नु पर्छ किनकि कुनै पनि बेला जटिलता उत्पन्न हुन सक्छ। मधुमेह भएकी गर्भवती महिला सुत्केरी भएपछि स्तनपान गराउने बेलामा ५०० किलो क्यालोरी खाना थप आवश्यक पर्छ। सुत्केरी पश्चात इन्सुलिनको आवश्यकता स्वाट्टै घट्न सक्छ।
बच्चाको स्याहार राम्ररी गर्नु पर्छ। किनकि मधुमेह भएकी गर्भवती महिला सुत्केरी हुँदा शिशु निस्सासिन सक्छ। सुत्केरीपछि कुनै विकलाङ्ग छ, छैन राम्ररी जाँच गर्नु पर्छ। जन्मेको २ घण्टाभित्र नवजात शिशुको रगतमा चिनीको मात्रा जाँच्नु पर्छ। यथाशीघ्र स्तनपान गराउनु पर्छ। यस्तो बच्चालाई भिटामिन ‘के’ दिनु पर्छ। यसरी राम्ररी ध्यान दिएको खण्डमा मधुमेहले प्रभावित गर्भवती महिलाको शिशुको मृत्यु हुने सम्भावना ५ प्रतिशतले घटाउन सकिन्छ।
परिवार नियोजनको हकमा जन्मान्तरको लागि कण्डम वा फेमिडोम जस्ता अस्थायी साधन अपनाउनु पर्छ। पाठेघरमा राखिने कपर टीले पाठेघरको संक्रमण बढाउन सक्छ। तर प्रोजेस्टरोन मात्र भएको चक्की पनि दिन सकिन्छ। सन्तानको रहर पुगिसकेको भए स्थायी बन्ध्याकरण गराउन सल्लाह दिनु पर्छ।
मधुमेह भएकी गर्भवती महिलालाई गर्भाधानपूर्व सल्लाह परामर्श
बुबा मधुमेहबाट प्रभावित छ भने बच्चालाई पनि मधुमेह हुन सक्ने सम्भावना केवल ६ प्रतिशत मात्र छ। तर, दुवै दम्पतिलाई मधुमेह भएमा यो प्रतिशत वृद्धि भएर २० पुग्छ। त्यसैले मधुमेह भएकी महिलाले गर्भाधानपूर्व सल्लाह परामर्श लिन आएमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत पुग्छ। जन्मजात रूपमा देखिने विकलाङ्ग निकै घट्न सक्छ। खानपिन तथा इन्सुलिनको शिक्षा दिन सकिन्छ।
मंसिर २, २०७७ मंगलबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।