मोटरसाइकल बेचेर पोशाक अभियान

मोटरसाइकल बेचेर पोशाक अभियान
तस्बिरहरू : राजानन्द माण्डव्य।

काठमाडौं : ११ वर्षअघि विभिन्न इन्स्च्यिुटमा कम्प्युटर तालिम सिकाउँदै गर्दा काभ्रेका राजकुमार बजगाईले आफू देशको पोशाक दिवशको अभियान चलाउनु भन्ने सोचेका थिएनन्। 

त्यसैबीच काभ्रेमा सोमयज्ञ भयो। यज्ञमा उनी पनि सामेल भए। ‘यज्ञमा सामेल भएपछि ममा अध्यात्मको चस्का पस्यो,’ उनी भन्छन्। 

धार्मिक प्रवृत्तिका उनी त्यसपछि केही वर्ष वनारसमा रहेर धर्मकर्ममा समर्पित भए। त्यहाँ करिब तीन बसेपछि उनी वृद्ध तथा अपांगता भएकाका लागि नेपालमा आश्रम खोल्ने उद्देश्यसहित नेपाल फर्किए। र, असहायका लागि सहयोगार्थ ‘श्रद्धावान नेपाल’ नामक संस्था गठन गरे। त्यतिञ्जेलसम्म उनी ‘स्वामी राजानन्द माण्डव्य’ भइसकेका थिए।

स्वदेश फर्किएलगत्तै उनले गाउँकी एक बालिका आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेको थाहा पाए। माण्डवले ती बालिका लाई आर्थिक सहयोग गर्ने सोच बनाए। तर, रकम कसरी जुटाउने भन्ने उनलाई पिर पर्याे। उनलाई जुक्ति निकाले– सांस्कृतिक कार्यक्रम गर्ने।

‘साथीभाइको सहयोगमा सांस्कृतिक कार्यक्रम गरेर रकम उठाउने सल्लाह भयो,’ उनले भने। 

२०७० पुस १७ गते अंग्रेजी नयाँ वर्ष सन् २०१४ को अवसर पारेर उनीहरूले सांस्कृतिक कार्यक्रम गर्ने योजना बनाए। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षमा कार्यक्रम गर्ने चलन बढेको छ। ‘उक्त दिन कार्यक्रम गर्दा रकम धेरै उठ्ला भन्ने हाम्रो अनुमान थियो,’ उनले भने। 

क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग जुटाउन माण्डव्यले काभ्रेका स्तानीय साथीभाइलाई समेटेर आयोजक समूह तयार पारे। ‘मौलिकता समेट्दै हामीले खैजडी भजनदेखि चल्तीका कलाकारको प्रस्तुतिसम्मको चाजोपाजो मिलायौं। तर, विडम्बना क्यान्सर पीडित बालिकालाई बचाउने अभियान सफल हुन सकेन। कार्यक्रम गर्ने तीन दिनअघि नै ती बालिकाको मृत्यु भयो,’ उनले भने। 

ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेकोमा माण्डव्यलाई मनमा सधैं चिसो पसिरहन्छ। ‘जे प्रयोजनको लागि कार्यक्रम गर्दै थियौं त्यसको औचित्य नभएपछि तोकिएको दिनमा कार्यक्रम गर्ने कि नगर्ने हामी अन्योलमा पर्याैं,’ उनले भने। 

त्यसको केही समयअघि डा. बाबुराम भट्टराईको सरकारले राष्ट्रको औपचारिक पोशाकको खारेजी गरि सबै पोशाकलाई राष्ट्रिय पोशाक भएको घोषणा गरेका थिए। साथीभाइको सल्लाहले उनले देशमा औपचारिक पोशाकको आवश्यकता ठानेर सांस्कृतिक कार्यक्रमबाट अभियान सञ्चालन गर्ने सोच बनाए। ‘देशभित्रका सबै पोशाक राष्ट्रिय पोशाक भएको थियो। हामीले सबै पोशाकको सम्मान गर्दै देशको औपचारिक पोशाकको माग गर्दै ‘पोशाक दिवस’ मनाउने सोच्यौ।’ 

त्यसपछि माण्डव्यले २०७० पुस १७ गते पहिलो नेपाली पोशाक दिवसका रूपमा मनाउने अभियानको थालनी गरे। ‘पोशाकको माध्यमले राष्ट्रियतालाई कस्ने उद्देश्य बन्यो। पछि त्यसलाई मिडियाले ‘राष्ट्रिय पोशाक दिवस’को नाम दियो,’ माण्डव्य थप्छन्, ‘न्युज २४ का प्रेम बानियाँले ‘जय स्वाभिमान’ नामक टेलिभिजन कार्यक्रममा ‘राष्ट्रिय पोशाकको माग गर्दै युवाहरू सडकमा’ भन्ने खालको विशेष रिपोर्ट प्रशारण गरे। 

काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय पोशाक घोषणाको माग गर्दै सडकमा उत्रिएका युवाहरू। 

त्यसलगत्तै नेपाली पोशाक दिवसलाई जनमानसले राष्ट्रिय पोशाक दिवसको रूपमा अंगिकार गर्न थाले र नेपाली पोशाक दिवस राष्ट्रिय पोशाक दिवसमा रूपान्तरित भयो। 

‘जनमानसको विश्वासले हामीले लगातार कार्यक्रम गर्याैं,’ उनले भने। तर, उनलाई  धेरैले राष्ट्रवाद देखाएर डलर छाप्ने खोजेको आरोप लगाए। 

निःस्वार्थ भावनाले देशको औपचारिक पोशाकको माग गरेको बताउने माण्डव्य आफू साधारण किसान भएको बताउँछन्। ‘आर्थिकरूपमा सम्पन्न मान्छे होइन म,’ माण्डव्य थप्छन्, ‘कार्यक्रमको खर्च जुटाउन भाइले दिएको मोटरसाइकल बेचेको छु। किसान हुँ, दालभात खान अभियान गरेर पैसा कमाउने दिन अहिलेसम्म आएको पनि छैन। र, नआओस् पनि।’ 

उनले साथीभाइ र सहकारीबाट ऋण लिएर नेपाली पोशाक दिवस जसोतसो सम्पन्न त गरे। तर, भनेको बेला पैसा तिर्न सकेनन्। ‘म किसान हुँ। धान, आलु बेचेर पैसा तिर्छु भन्ने सोचेको थिएँ। तर, सम्भव भएन।’ त्यसपछि भाइले दिएको उपहार बेच्नुपरेको उनी सुनाउँछन्। 
आफ्नो अभियानका लागि भाइले गरेको आर्थिक, नैतिक, भौतिक सहयोग भुल्न नसकिने माण्डव्य बताउँछन्। 

केही वर्ष निरन्तर कार्यक्रम गरेपछि माण्डव्यको ऋण थपिँदै गयो। ‘कार्यक्रमका लागि मोटरसाइकलसँगै श्रीमतीको गहना बेचें,’ उनी सुनाउँछन्। 

बेच्न बाँकी केही नभएपछि माण्डव्यले सम्पत्ति बेचेर र साथीभाइको सहयोगमा कार्यक्रम गर्न नसकिने निश्कर्षमा पुगें। त्यसपछि उनी दाताको खोजीमा भौतारिन थाले। ‘सहयोग गर्छु भनेर धेरैले झुक्ककाए। तिनकै कारण आजसम्म यो अभियानमा दृढ भएर लाग्न आत्मबल आइरहन्छ,’ उनी भन्छन्।

उनले कार्यक्रम थालेको पहिलो वर्ष काभ्रेमा, दोस्रो वर्ष वसन्तपुरमा र तेस्रो बर्ष भृकुटीमण्डपमा जसोतसो कार्यक्रम गरेको सुनाउँछन्। त्यसपछि दाताको सहयोगमा कार्यक्रम गर्याैं। उनले चौथो वर्ष प्रज्ञामा र पाँचौं सभागृहमा कार्यक्रम गरे। ‘त्यसपछि हामीले खुला ठाउँमा कार्यक्रम गर्याैं,’ उनले भने। 

‘एक पटक श्रीमती ओछ्यान परिछिन्। कार्यक्रमको दुई दिनअघि उनी सिकिस्त छिन् भनेर फोन आयो,’ माण्डव्यले सम्झिए, ‘देश बचाउने अभियानमा छु भनेर मैले श्रीमतीको फोन काटेको छु।’ 

प्रस्तावित पाँचौं राष्ट्रिय पोशाक दिवस विशेष समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग गफिँदै अभियन्ता राजानन्द माण्डव्य। 

राष्ट्रिय पोशाक अभियानले जनमानसमा गहिरो प्रभाव पारिरहँदा माण्डव्यलाई झण्डाको गलत प्रयोग भइरहेको लाग्न थाल्यो। 

‘अभियानमा धेरै व्यक्ति तथा संस्थाले विस्तारै साथ दिन थाल्नु भयो। राजनीति  प्रभावबाट जोगाउँदै सबैसँग सम्बन्ध बिस्तार गर्याैं। मिडियाले पनि सहयोग गरे,’ उनी थप्छन्, ‘सबै राजनीतिज्ञ तथा विशिष्ठ व्यक्तिहरूले औपचारिक पोशाकको आवश्यकता ठानेर नैतिक तथा अन्य सहयोग गरे। तर, ठुला भनिएकाहरूले नै झण्डाको गलत प्रयोग गरेको देख्दा मन अमिलो भयो।’ 

झण्डाको महत्त्व बुझाउन पुस १ गते ‘राष्ट्रिय झण्डा दिवस’को रूपमा दुई वर्षदेखि मनाउन थालेको उनी बताउँछन्। संयुक्त राष्ट्रसंघमा नेपालको झण्डा आधिकारिक रूपमा दर्ता भएको दिन डिसेम्बर १६, १९६२ अर्थात १ पुस २०१९ का दिनलाई आधार मानेर झण्डा दिवस मनाउन थालेको माण्डव्यले बताए।  

पोशाकजस्तै झण्डा पनि देशको अपरिहार्य महत्त्वका वस्तु भएकाले ‘राष्ट्रिय झण्डा दिवस’ मनाएको उनी सुनाउँछन्। ‘झण्डाबारे सरकारले तोकिदिएको आचारसंहिताको पालना गरि हाम्रो झण्डाको धार्मिक, अंकगणितीय तथा ऐतिहासिक महत्त्व बुझउनु झण्डा दिवसको मुख्य उद्देश्य हो,’ उनी भन्छन्। 

यी अभियान स्वार्थ केन्द्रित नभएकाले सबै नेपाली अभियन्ता हुन् भन्ने माण्डव्यलाई लाग्छ। उनलाई धेरैले भन्ने गर्थे– कमाउने बेला देश भनेर जिन्दगी खेर फाल्यो। अभियानको लोकप्रियताले ती मान्छेलाई जवाफ दिएको उनी सुनाउँछन्। 

अभियानमा मौलिक संस्कृतिको प्रवर्द्धनसमेत गराउँदै आएका माण्डव्यको सबै भाषाभाषीको मौलिक भेषभूषा संरक्षण गर्न संग्रहालय बनाउने सपना छ। ‘तर, त्यसको लागि राज्यको सहयोग कुरेको छु,’ माण्डव्य भन्छन्। 

‘हिजोको दिनमा अभियानलाई हेला गर्नेहरू नै अहिले तारिफ गर्छन्,’ उनी भन्छन्। तर, माण्डव्यलाई कसैसँग गुनासो छैन। बरु उनी पोशाकको अभियानमा जोडिएका  हरेकप्रति अनुग्रहित छन्। 

परिवारका सदस्यमध्ये भाइको सहयोग निकै रहेको उनी सुनाउँछन्। ‘यदि मेरो भाइले सहयोग नगरेको भए आज म दुबई वा कतारमा हुन्थें होला,’ उनी भावुक हुँदै भन्छन्। 

‘राज्यले कुनै दिन देशको औपचारिक पोशाकको व्यवस्था गर्ला। तर, जनताले औपचारिक पोशाक खोजिसकेका छन्,’ उनी भन्छन्। 
सरकारले पोशाक तथा भेषभूषा आयोग गठन गरोस् भन्ने उनको माग छ। 

माण्डव्यले हाल राष्ट्रिय पोशकको मागसहित २९ भन्दा बढी जिल्लामा पोशाक संरक्षणका लागि जिल्ला कार्यसमिति गठन गरिसकेका छन्। साथै हाल राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका माध्यमले राष्ट्रिय धरोहरहरुको संरक्षण गर्ने अभियानमा समेत उनी सक्रिय छ्न्।

‘मैले देशको औपचारिक पोशाकको माग गरेको हुँ। मैले हाम्रो मौलिकता जोगाऊ भनेको हुँ। हरेक नेपालीलाई अपनत्व हुने बहुसंख्यकले रुचाएको पोशाकलाई औपचारिक पोशाक बनाऊ भनेको हुँ,’ उनी भन्छन्। 

मंसिर २, २०७७ मंगलबार ०६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।