तिहारको मुख्य दिन : भाइटीका
आज नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मनाइँदै छ। आज बिहान सूर्योदय कालमा प्रतिपदा तिथि र ९ बजेर १२ मिनेटपछि द्वितीया तिथि हुने भएकाले गोवर्द्धनपूजा पनि आजै परेको छ।
त्यसैले बिहान गोवर्द्धन पूजा गरी ९ः१२ बजेपछि मात्र भाइटीका लगाइने छ। आजैदेखि नेवार समुदायमा प्रचलित नेपाल संवत् ११४१ को आरम्भ हुन्छ।
गोवर्द्धन पूजाको परम्परा
गोवर्द्धन वृन्दावनको नजिकमा रहेको पर्वतको नाम हो। प्रशस्त घाँसपात पाइने र यहाँको घाँस पौष्टिकताले युक्त भएको हुनाले यसको नाम गोवद्र्धन रहेको हो।
भागवतको कथाअनुसार द्वापरयुगमा व्रजवासीहरू वर्षा सकिएपछि वर्षाका देवता मानेर इन्द्रको पूजा गर्थे। यसै क्रममा गोकुलभरि इन्द्रको पूजाका लागि धुमधाम तयारी हुन थाल्यो। यो देखेर कृष्णले पिता नन्दसँग केका लागि तयारी गरेको भनेर सोधे। नन्दले इन्द्रको पूजा गर्ने तयारी गरेको भन्ने जवाफ दिए।
इन्द्रको घमण्ड चूर्ण गर्ने सोचेर कृष्णले इन्द्रको पूजा गर्नुभन्दा हामीले गाई चराउने गोवद्र्धन पर्वत हाम्रा लागि बढी उपयोगी छ, यसबाट हाम्रा गाईले घाँस पाएका छन्, हामीले दैनिक उपभोगका लागि घाँस, दाउरा आदि पनि त्यहीँबाट पाएका छौँ, त्यसैले गोवद्र्धनको पूजा गरौं, इन्द्रको पूजा गर्नुपर्दैन भन्ने प्रस्ताव राखे। कृष्णको प्रस्ताव सबैलाई चित्त बुझ्यो। सबैले गोवद्र्धनको पूजा गरे।
सधैं आफ्नो पूजा हुने बेला गोकुलवासीले पूजा नगरेको देखेर इन्द्र रिसले चूर भए। उनले गोकुललाई जलमग्न पारेर प्रलय गर्न मेघलाई आज्ञा दिए। सात दिनसम्म गोकुलमा मुसलधारे वर्षा भयो।
यता गोकुल जलमग्न हुन लागेको देखेर गोकुलवासी त्राहि त्राहि भए। कृष्णले गोवद्र्धन पर्वत हातमा उठाएर छाताजस्तो बनाए र गोकुललाई ओत दिए। त्यसपछि वर्षाले गोकुलमा कुनै असर परेन।
साताभरि वर्षा गर्दा पनि गोकुलमा कुनै असर नपरेको र कृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलको रक्षा गरेको थाहा पाएर इन्द्र लज्जित भए। उनले श्रीकृष्णसामु आएर क्षमा याचना गरे। कृष्णले गोवर्द्धनलाई पहिलेकै स्थानमा राखे। यहीँदेखि गोवर्द्धनको पूजा गर्ने परम्परा बस्यो। कार्तिक शुक्ल प्रतिपदाका दिन गोकुलमा गोवर्द्धन पर्वतको र गोकुलभन्दा बाहिर गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गोबरको पर्वत बनाएर पूजा गर्न थालियो।
भाइटीका
कार्तिक शुक्लपक्षको द्वितीया यमद्वितीया हो। यसलाई भ्रातृद्वितीया पनि भनिन्छ। यसैलाई नेपालमा भाइटीकाका रूपमा मनाइन्छ। महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि ग्रन्थमा यमद्वितीयाको चर्चा पाइन्छ।
पौराणिक आख्यानअनुसार मृत्युका देवता यमराज यमपञ्चकका अवसरमा बहिनी यमुनालाई भेट्न उनका घर गए। यमुनाले प्रेमपूर्वक दाजुको स्वागत सत्कार गरिन्, भोजन गराइन्। बहिनीसँग प्रसन्न भएका यमराजले अबदेखि प्रत्येक वर्ष यमद्वितीयाका दिन जसले दिदीबहिनीका घरमा भोजन गर्छन् र दिदीबहिनीलाई दक्षिणा आदि दिन्छन् ती दुवै दाजुबहिनी अथवा दिदीभाइले आयु, आरोग्य र कीर्ति प्राप्त गर्नेछन् भन्ने वरदान दिए। यहीँदेखि भाइटीकाको परम्परा बसेको हो।
भाइटीकाका दिन दाजुभाइहरू दिदीबहिनीका घरमा गएर भोजन गर्नुपर्ने हो तापनि आफ्नो अनुकूलतामा दिदीबहिनी दाजुभाइका घर जाने अथवा दाजुभाइ दिदीबहिनीका घर जाने गरेर भेटघाट गर्ने, टीका लगाउने, उपहार र दक्षिणा दिने गरिन्छ। सहोदर दिदीबहिनी नहुनेहरूले नजिकका दिदीबहिनीसँग पनि टीका लगाउँछन्। काठमाडौंमा दिदीबहिनी नहुनेहरू रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको दर्शन गर्छन्। यो मन्दिर भाइटीकाका दिन मात्र खोल्ने चलन छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर अहिले पुनःनिर्माण भएर उद्घाटनसमेत भइसकेको छ।
गोवर्द्धन पूजा र भाइटीकाका धार्मिक कृत्य
आज बिहानका नित्यकर्म सकेर गोवद्र्धनपूजा गरिन्छ। गाईका गोबरले गोवद्र्धन पर्वतको प्रतीक बनाएर त्यसमा पूmल, माला इत्यादिले सजाइन्छ र उपलब्ध पूजा–सामग्रीले त्यसको पूजा गरिन्छ। गोवद्र्धन पूजा गर्दा यो मन्त्र भनिन्छ–
गोवर्द्धन धराधार गोकुलत्राणकारक ।
कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव ।।
गोवर्द्धन पूजा गरेपछि गाई र गोरुको पनि पूजा गरिन्छ। कतै कतै गोवर्द्धन पूजा र गाईपूजा एकै दिन गर्ने चलन छ भने कसैले अघिल्लो दिन गाईको पूजा गरी आजको दिन गोवर्द्धन र गोरुको पूजा गर्छन्। गोवर्द्धन पूजा गरेपछि गाई–गोरुको पनि पूजा गर्नू भन्ने शास्त्रीय विधान भएकाले अघिल्लो दिन गाईपूजा गर्नेले पनि गोवर्द्धन पूजा गरेपछि गाई–गोरुको पूजा गर्नुपर्छ।
तिहारको मुख्य कृत्य भाइटीका हो। भाइटीका लगाउँदा टीका लगाउने ठाउँमै अथवा लक्ष्मीपूजा गरेको ठाउँमा टीका लगाउने र लगाइदिने दुवैले दीप, कलश, गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज, यमुना, चित्रगुप्त र यमराजका सहयोगीहरूको पनि पूजा गर्नुपर्छ। अष्टचिरञ्जीवी मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, अश्वत्थामा र परशुराम हुन्। यिनीहरूलाई तिनैका नाम उच्चारण गरेर पूजा गर्न सकिन्छ। यमराजको प्रार्थना यसरी गरिन्छ–
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
पाहि मां किंकरैः साद्र्धं सूर्यपुत्र नमोऽस्तु ते ।।
यमुनाको प्रार्थना यसरी गरिन्छ—
यमस्वसुर्नमस्तेऽस्तु यमुने लोकपूजिते ।
वरदा भव मे नित्यं सूर्यपुत्रि नमोऽस्तु ते ।।
यसरी आवाहित देवदेवीको पूजा–अर्चना गरेपछि अघ्र्य दिनुपर्छ। त्यसपछि बल्ल भाइटीकाको काम सुरु हुन्छ।
भाइटीका लगाउँदा टीका लगाउने दाजुभाइ चन्द्रमा सम्मुख वा दाहिने हुने गरी बस्नुपर्छ। टीका लगाउनुअघि दिदीबहिनीले तेलले वरिपरि छेकेर दाजुभाइको पूजा गर्ने चलन छ। पूजा–सामग्रीले दाजुभाइलाई पूजा गरेर टीका लगाइदिइन्छ। बहिनीले दाइलाई टीका लगाएर भोजन दिँदा भन्ने मन्त्र यो हो–
भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
दिदीले भाइलाई टीका लगाइदिने हो भने यो मन्त्र भनिन्छ—
भ्रातस्तवाग्रजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर प्रार्थना गर्नुपर्छ। त्यसबेला भन्ने मन्त्र हो—
त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती ।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।
टीका लगाएपछि गच्छेअनुसार दक्षिणा र उपहार पनि दिइन्छ। दिदीबहिनीले ‘मेरा दाजुभाइका शत्रु नाश होऊन्’ भन्दै ढोकामा ओखर फोर्ने चलन छ।
भाइटीका लगाएपछि आवाहन गरेर पूजा गरिएका देवीदेवतालाई अघ्र्य दिएर विसर्जन गर्नुपर्छ।
भाइटीकाको शुभसाइत
यस वर्ष आज २०७७ मंसिर १ गते सोमवार भाइटीका परेको छ। आज बिहान ९ः१२ बजेसम्म प्रतिपदा र त्यसपछि द्वितीया भएकाले प्रतिपदाको अवधिमा गोवद्र्धनपूजा र द्वितीयाको अवधिमा भाइटीका गर्नुपर्छ। हिमाल पञ्चांग अनुसार बिहान ९ः०८ बजेदेखि शुभ बेला सुरु हुन्छ। त्यसैले ९ः१२ देखि १०ः२८ बजेसम्म भाइटीका लगाउन सकिन्छ भने ११ः२७ देखि १२ः१० सम्म अभिजित् मुहूर्त रहन्छ। अभिजित् मुहूर्त टीकाका लागि उत्तम समय हो।
पञ्चांग निर्णायक समितिले ११ः३७ बजे टीकाको उत्तम साइत भएको सूचना सार्वजनिक गरेको छ। यो अभिजित् मुहूर्तअन्तर्गतकै शुभ साइत हो। आज चन्द्रमा वृश्चिक राशिमा रहेका छन्। त्यसैले टीका लगाउने व्यक्ति उत्तर वा पश्चिम फर्केर लगाउनुपर्छ।
दसैं, तिहारजस्ता ठुला चाडपर्वमा कहिलेकाहीँ यसकारणले वा त्यसकारणले टीका लगाउनुहुँदैन भन्ने हल्ला चल्छन्। परम्पराविरोधीहरूले यस्ता निराधार हल्ला चलाएको देखिन्छ। पञ्चांग निर्णायक समितिबाट स्वीकृत पञ्चांगमा टीका लगाउन नमिल्ने दिनमा टीका उल्लेख गरिएको हुँदैन, शास्त्रले जे व्यवस्था गरेको छ, त्यसै अनुसार लेखिएको हुन्छ। कथं कदाचित् त्यस्तो रहेछ भने पनि विद्वत् परिषद्ले शास्त्रसम्मत निर्णय सार्वजनिक गर्दछ। त्यसैले सूचनाको आधिकारिकताका लागि पञ्चांग निर्णायक समिति र त्यसबाट स्वीकृत पञ्चांगको उपयोग गर्नु उचित हुन्छ।
मंसिर १, २०७७ सोमबार ००:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।