‘तिहारमा बाल्यकालका देउसी भैलो खेल्ने साथीको सम्झना आउँछ’ 

‘तिहारमा बाल्यकालका देउसी भैलो खेल्ने साथीको सम्झना आउँछ’ 

चलचित्र ‘स्वर’बाट कलिवुडमा डेब्यु गरेकी नायिका केकी अधिकारीले ‘भाग सानी भाग’, ‘लभ सासा’, ‘घामपानी’, ‘राज्जा रानी’, ‘कोहलपुर एक्सप्रेस’लगायत दुई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन्। ‘कोहलपुर एक्सप्रेस’ भने उनले नै निर्माण गरेकी हुन्। 

उनले पछिल्लो समय रियालिटी सो ‘कमेडी च्याम्पियन’ निर्माण गरेकी थिइन्। कोरोना संक्रमणको महामारीबीच अहिले उनी नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छन्। 

अभिनयसँगै निर्माण थालेकी केकीले यो तिहार कसरी मनाउँदै छिन् ? तिहारको अनुभव कस्तो छ ? यिनै विषयमा उनीसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानी। 

कोरोना संक्रमणको महामारीको बेला छ, कसरी समय बिताइरहनुभएको छ ? 

सधैंको जस्तो व्यस्त त छैन। एउटा नयाँ फिल्मको वर्कसप चलिरहेको छ। अहिले त्यतैतिर व्यस्त रहेको छु। कहिलेकाहीँ म्युजिक भिडियोमा काम गरिरहेको छु। 

तिहार आइसक्यो, तयारी कस्तो गर्दै हुनुहुन्छ ? 

तिहारको तयारी भइरहेको छ। आवश्यक सरसामान किनिरहेको छु। अहिले एउटा चलचित्रको वर्कसप पनि चलिरहेको छ। यसमा व्यस्त भएर तिहारको केही सामान किन्न पाएको छैन। भोलितिर किन्ने मुडमा छु। 

तपाईंकोमा भाइटीका लगाउने माहोल कस्तो हुन्छ ? 

पोहार सालसम्म बुबाबाहेक म, भाइ र आमा मावली गएर टीका लगाउने गथ्र्यौं। मावलीमा सबैसँग भेला भएर टीका लगाउँदा बैग्लै मज्जा लाग्थ्यो। यो साल कतै नजाने योजना छ। यसपाली घरमा नै भाइटीका लगाउने तयारीमा छौं। मेरो एउटा मात्रै भाइ हो। उसैलाई टीका लगाएर यो सालको भाइटीका मनाउँछु। 

भनेपछि सुरक्षा अपनाएर भाइटीका लगाउँदै हुनुहुन्छ ? 

कोरोनाको महामारी छ। सुरक्षित त हुनुपर्यो नि, हैन र ? कोरोना महामारी हटेको खण्डमा अर्को साल सबै मिलेर पहिलाजस्तो टीका लगाउने सल्लाह भइरहेको छ। मेरो घरको भाइबाहेक अरु पनि भाइटीका लगाउने हुनुहुन्छ। 

तपाईंलाई दसैंभन्दा त तिहार असाध्यै मन पर्छ है ? तिहारबारे खुब कुरा गर्नुहुन्थ्यो नि ? 

दुवैको आ–आफ्नै विशेषता छ। दसैंमा पशु हिंसा हुने भएकाले त्यति मन नपरेको हो, अरु त सबै मन पर्छ। हामी नेपालीहरूको महान चाड पनि हो। 

तिहारचाहिँ असाध्यै मन पर्छ। तिहारमा पशुबलि दिने चलन हुँदैन। उनीहरूको पूजा गरिन्छ। घर सरसफाइ गरेर झिलिमिली बत्ती बालेको देख्दा संंसारै उज्यालो भएको महसुस हुन्छ। 

देउसी भैलो नि ? 

देउसी–भैलो मन नपर्ने सायदै कम मान्छे होलान्। मलाई नेपाली चाडपर्व एकदमै मन पर्छ। चाडपर्वमा तिहार असाध्यै मन पर्छ। 
सानो छँदा तिहारमा देउसी–भैलो खेल्न जाँदा कोही भट्याउने, कोही गीत गाउने गथ्र्याैं। त्यसले मनमा बेग्लै आनन्द हुन्थ्यो। 
अहिलेचाहिँ अरु खेलेको हेर्न रमाइलो लाग्छ। 

बाल्यकालमा तिहारको रमझमको कतिको सम्झना आउँछ ? 

सबैभन्दा धेरै यादगार हुने नै बाल्यकालको रहेछ। त्यो बेलामा खेलिने देउसी–भैलो, त्यसबाट कमाएको पैसा बाँड्दा, कसले के किन्ने भन्ने हुन्थ्यो। तिहार आउँदा देउसी–भैलो खेल्ने साथीको सम्झना आउँछ।  

अहिले तिहारमा साथी बटुलेर देउसी खेल्न जाउँ जस्तो लाग्दैन ? 

पहिला र अहिलेमा अलिक फरक हुने रहेछ। त्योबेला फुर्सदिलो थिए, अहिले व्यस्त भइयो। पहिला आफू देउसी खेलेको मन पथ्र्याे भने अहिले अरुले देउसी खेलेको मनपर्छ। 

अब तिहारभन्दा प्रसंग, लकडाउनमा के–के कसरी समय बिताउनुभयो ? 

चलचित्रसम्बन्धी देश तथा विदेशका केही किताब पढें। अन्तर्राष्ट्रिय चलचित्रहरू हेरें। आफूलाई ‘एक्टिभ’ बनाउनेतिर लागे। घरमा बसिरहँदा डिप्रेसनमा जाने सम्भावना हुन्छ, त्यसकारण आफूलाई विभिन्न कुरामा ‘एक्टिभ’ गराइराखें। लकडाउनमा योगा गरें। साथै आफूलाई फिट गराएँ। 

लकडाउनको समयमा केही सिक्नुभयो कि ? 

अँ, सिके नि । मलाई खान पकाउन त्यति राम्रो आउँदैन थियो। लकडाउनमा सबै काम ठप्प भएकाले आमासँग मिलेर मिठो खानेकुरा पकाउन सिकें। आमाले सिक्नुभएको परिकार सिक्ने मौका मिल्यो। 

शरीरलाई कसरी ‘मेन्टेन’ गर्नुभयो ?  

खाने कुरा त म खासै बार्दिनँ। फेरि खाने भनेर जे भेट्यो त्यो खाने भन्ने होइन। खाइरहेको हुन्छु। बिहान बेलुका योगा तथा ध्यान गरेर शरीर फिट राख्ने कोशिश गरें। अहिले पनि खानपानमा सचेत नै छु। 

चलचित्र निर्माण नहुँदा आर्थिकमा कतिको असर परेको छ ? 

धेरै नै छ नि। काम नभएपछि आर्थिक हुने कुरा भएन। आर्थिक नभएपछि हरेक कुरा रोकिने भइहाल्यो। कोरोना महामारीमा मलाई मात्रै होइन, हरेकलाई आर्थिक असर परेको छ। चलचित्र चलायमान हुँदा आर्थिकमा खासै समस्या हुँदैनथ्यो। अहिले त सिनेमा क्षेत्र पनि ठप्पजस्तै छ। चलचित्र बनेका छैनन्। बनेका पनि सीमित छन्। यसले गर्दा चलचित्र क्षेत्रमै निकै असर परेको छ। 

यो अवस्थामा दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरूको अवस्था कस्तो होला भन्ने सोचिरहेको छु। 

चलचित्र निर्माण तथा प्रदर्शन नहुँदा दर्शकसँग टाढिएजस्तो लाग्दैन ? 

एकदमै लाग्छ। सधैं दर्शकसँग बोलिरहने। कार्यक्रममा दौडिरहने, साथीभाइसँग हाइ–हेल्यो नै रोकिएपछि त दिमागले नै काम गर्न छोड्लाजस्तो भयो। कतिपय दर्शकसँग हामी खुलेर बोलेका हुँदैनथ्यौं। अहिले आएर बोल्नुपर्ने रहेछ जस्तो लागिरहेको छ।

कात्तिक ३०, २०७७ आइतबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।