तिहारमा बज्ने सदावहार गीतहरू (भिडियोसहित)
काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा यससम्बन्धी गीत बजारमा आएका छन्। तर, गाउँ सहरमा पुरानै गीत घन्किने गरेका छन्।
देउसी–भैलोसम्बन्धी गीतमा पनि पुरानाकै दबदबा छ। तिहारसम्बन्धी केही सदावाहार गीतहरू यस्ता छन्।
‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन...’
जब यो गीत रेडियो टेलिभिजनबाट बज्न सुरु हुन्छ। हरेकको मनमा तिहार लागेको अनुुभूति हुन्छ। फिल्म ‘स्वर्ग’मा समावेश भएको यो गीत अहिले पनि उत्तिकै चर्चित छ। शम्भु प्रधानले निर्देशन गरेको यस फिल्ममा नीर शाह, गौरी मल्ललगायतका कलाकारले अभिनय गरेका छन्। गीतलाई यादव खरेलले लेखेका हुन्।
०००
‘दियो बाली साँझको
फूल सजाई पूजाको...’
दसैं तिहारको समयमा घर गाउँमा नाचिने गीत हो यो। हरेक वर्षको तिहारमा बज्ने अर्को सदाबहार गीत हो यो। फिल्म ‘चिनो’मा समेटिएको यो गीतलाई तिहारको समयमा धेरैजसोले सुन्ने गरेका छन्। तुलसी घिमिरेको निर्देशनमा बनेको यो फिल्म २०४८ सालमा प्रदर्शनमा आएको थियो। यो गीतलाई भारतीय गायिका आशा भोसलेले गाएकी थिइन्। गीतको शब्द घिमिरेले नै लेखेका छन् भने संगीत रञ्जित गजमेरको छ।
०००
‘ए हजुर यसपालीको
तिहारै रमाइलो...’
स्व. श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘कोहिनुर’मा समावेश रहेको हो यो। फिल्म प्रदर्शनमा आएसँगै यो गीत निकै लोकप्रिय हो।
फिल्ममा अभिनेत्री स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको अभिनय छ। अहिलेका लोकप्रिय गायक प्रमोद खरेल र अञ्जु पन्तले गाएको गीतको शब्द सुन्दर श्रेष्ठको छ। यस गीतको संगीत शम्भुजीत बाँस्कोटाले गरेका छन्।
०००
‘निधारमा लर्काएर सप्तरंगी टीका,
हिँडिरहू सधैं तिमी शिखरको बाटो...’
फिल्म ‘विजयपराजय’मा समावेश यस गीत अहिले पनि उत्तिकै मात्रामा तिहारमा बज्ने गर्छ। फिल्मभन्दा पनि दर्शकले अत्यन्तै रुचाइएको गीत हो यो। राजेन्द्र सलभले निर्देशन गरेको फिल्मको गीतलाई कवि तथा गीतकार दिनेश अधिकारीले लेखेका हुन्। शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा हेमलताको स्वर छ।
०००
‘वर्षमा दिनैमा लै लै...’
दसैं तिहारको समयमा अत्यधिक रुचाइएको गीत हो यो। गायक सुगम पोखरेलको स्वरमा रहेको यो गीत दसैंको र तिहारमा अत्यधिक बज्ने गरेको पाइन्छ। गीतलाई रवि श्रेष्ठले लेखेका हुन् भने संगीत गायक स्वयंले नै भरेका छन्।
कात्तिक ३०, २०७७ आइतबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।