यमपञ्चकको तेस्रो दिन : गाई तिहार र म्ह पूजा

यमपञ्चकको तेस्रो दिन : गाई तिहार र म्ह पूजा

यमपञ्चकको तेस्रो दिन आज गाईतिहार र बलिपूजा गर्ने दिन हो। नेवार समुदायमा आजैका दिन म्ह पूजा गर्ने परम्परा छ। सामान्यतया चौथो तिहारको रूपमा गाईतिहार मान्ने चलन भए तापनि यसपल्ट मंसिर १ गते प्रतिपदा तिथि १० मुहूर्तभन्दा कम भएकाले आज यमपञ्चकको तेस्रो दिन नै गाईपूजा र बलिपूजा गरिँदै छ।

गाईको धार्मिक महत्त्व 
मानव सभ्यताको विकासमा गाईको ठुलो महत्त्व छ । गाईबाट प्राप्त हुने दुध, दही, घिउ, गहुँत, गोबर आदि वस्तुबाट प्राचीन कालदेखि नै मानिसले पौष्टिक आहार प्राप्त गर्दै आएको हो। कृषियुग सुरु भएपछि कृषि–उत्पादन वृद्धिका लागि गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो।

गोरुले जोतेर कृषिकर्ममा मानिसलाई ठुलो सहयोग पुग्यो । अरू कुनै खाद्यपदार्थ नभए पनि गाईका दुध, दही, घिउ खाएर मानिस सजिलै बाँच्न सक्छ । गाई जग्गा–जमिनजस्तो अचल वस्तु होइन, आ-आफू जहाँ जाने हो त्यहीँ लैजान सकिने चल वस्तु हो।

त्यसैले प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो। अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो। भैँसी, बाख्रा आदिबाट प्राप्त हुने दुध, दही आदि वस्तुभन्दा गाईबाट प्राप्त हुने ती वस्तु बढी पौष्टिक हुने, गाई छरितो पनि हुने र गाईका सबै कुरा उपयोगी हुने भएकाले मानिसले गाईलाई बढी महत्त्व दिएको देखिन्छ।

गाईलाई संस्कृतमा गौ भनिन्छ । जानु अर्थ भएको गम् धातुबाट गौ शब्द भन्ने भएकाले शब्दकल्पद्रुममा गौ शब्दको यौगिक अर्थ बताउँदै स्वर्ग जाने साधन भएकाले गौ भनिएको भन्ने उल्लेख छ । गाईको बहुउपयोगितालाई दृष्टिगत गरी संस्कृतमा गाईको पर्यायवाची शब्द ‘माता’ भनिएको छ । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो । सम्मानका दृष्टिले पनि गाईलाई देवता मानेर आमालाई जस्तै सम्मान गर्ने संस्कृतिको विकास गरिएको छ ।

वेद, पुराण र धर्मशास्त्रमा गाईको निकै महिमागान भएको छ । संस्कृतको अथाह वाङ््मयमा कुनै न कुनै किसिमले गाईको महत्वबारे चर्चा नगरिएको ग्रन्थ पाउनै गाह्रो छ। वैदिक संहितादेखि नै गाईको महिमाबारे चर्चा भएको पाइन्छ । ऋग्वेदमा ‘गो मे माता ऋषभः पिता’ भनेर गाईलाई आमा र गोरुलाई बुबा भनिएको छ । शुक्लयजुर्वेदको सुरु नै गाईको महिमागान गर्दै भएको छ । अथर्ववेदमा ‘यूयं गावो भेद कृशम्’ इत्यादि मन्त्रमा गाईका दूधले मानिस हृष्टपुष्ट र तेजस्वी हुने कुरा बताइएको छ।

सनातन संस्कृतिले गाईलाई जनावर होइन प्रत्यक्ष देवता मान्दछ। शास्त्रीय कथनअनुसार गाई लक्ष्मी हुन् । गाईका प्रत्येक अंगमा देवताहरूको वास हुन्छ । गाईका सिङका माझमा ब्रह्मा, निधारमा शिव, दुवै कानमा अश्विनिकुमार, आँखामा चन्द्रमा र सूर्य, कोखामा साध्यगण, घाँटीमा पार्वती, पीठमा नक्षत्रगण, जुरोमा आकाश, गोबरमा महालक्ष्मी र अष्ट ऐश्वर्य र स्तनमा समुद्रको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

गाईका दुध, दही, घिउ, गहुँत र गोबरलाई गव्य भनिन्छ। सबै गव्य पवित्र हुन्छन्। पञ्चगव्य खानाले हाम्रो छालादेखि हड्डीसम्म सबैतिर रहेका पाप नाश हुन्छन् भन्ने मान्यता छ। गोबरले लिपेपछि अशुद्ध भूमि पनि शुद्ध हुन्छ।

गहुँत छर्किनाले अपवित्र ठाउँ वा मानिस पवित्र हुन्छ। गाईका दुध–घिउमा पकाएको भोजन मानिसलाई मात्र होइन देवता र पितृका लागि पनि उत्तम भोजन हुन्छ। गाईको दान सबैभन्दा ठुलो दान मानिन्छ। गरुडपुराणमा गाई दान गर्नाले वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने चर्चा आएको छ। भविष्यपुराणमा गाईलाई नमस्कार गर्दा गाईदानको फल मिल्ने बताइएको छ भने विष्णुपुराणमा गाईको प्रदक्षिणा गर्नाले सात द्वीपयुक्त पृथिवीको परिक्रमा गरेको फल मिल्ने कुरा बताइएको छ।

यसरी जन्मदेखि मृत्युसम्मका सबै अपवित्रताबाट शुद्ध गर्ने र मृत्युपश्चात् पनि पारलौकिक सुख दिने प्राणीका रूपमा गाईको महिमागान गरिएको छ। गाईका यिनै विशेषताले गर्दा यसको पूजा गर्ने संस्कृतिको विकास भएको हो। कार्तिक कृष्ण औँसीमा लक्ष्मीपूजा गरिने र गाईलाई पनि लक्ष्मीकै रूप मानिने भएकाले लक्ष्मीपूजासँगै गाईपूजा गरिएको हो।

बलिपूजा

पौराणिक इतिहासअनुसार हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र बलि हुन्। उनी देवताका विरोधी थिए। इन्द्रलाई जितेर उनी देवलोकको राजा बने। देवताहरू आफ्नो अधिकारबाट वञ्चित भएकाले दुःखी भएर विष्णुका शरणमा गए। विष्णुले देवताहरूलाई बलिको अत्याचारबाट त्राण दिने वचन दिए। त्यसैअनुसार विष्णुले कश्यप र अदितिबाट वामन अवतार लिए।

एक समयमा बलि राजाले नर्मदा नदीका किनारमा भृगुकच्छ भन्ने ठाउँमा अश्वमेध यज्ञ गर्दै थिए, वामन त्यही यज्ञमा गए। वामनलाई सुन्दर ब्रह्मचारी देखेर बलि राजाले केही दान दिने इच्छा राखे। वामनले अरू केही नचाहिने तीन पाइला जमिन भए पुग्ने भनेर बलिसँग तीन पाइला जमिन मागे। बलि राजाले संकल्प गरेर जमिन दिए।

तत्काल वामनले आफ्नो रूप विशाल बनाए र एक पाइलाले जमिन र हर्को एक पाइलाले आकाश ढाके। तेस्रो पाइलाका लागि ठाउँ नभएकाले बलिले आफ्नो शिर अर्पण गरे, वामनले त्यही स्वीकार गरे।

बलिराजाको अहंकार चूर्ण गरेपछि वामनले उनलाई चिरञ्जीवी हुने र सावर्णि मनुका पालामा इन्द्र हुने वरदान दिएर सुतललोकमा पठाए।
वामनरूप विष्णु भगवान्कै अनुमतिले प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको यमपञ्चकमा बलि राजा मत्र्यलोकमा आउने उल्लेख छ। यसै आख्यानसँग नेपाली परम्पराको देउसी भैलोलाई पनि जोडिन्छ। जसअनुसार मत्र्यलोकमा आएका बलि राजासँग कुनै सम्पत्ति नभएकाले सहयोगीहरूलाई घरघरमा माग्न पठाउँछन्। तिनै बलि राजाका सहयोगीको अनुकरण गर्ने परम्परामा देउसी भैलो खेल्दा ‘हामी त्यसै आएका होइनौ, बलिराजाले पठाएर’ भनिन्छ भन्ने जनश्रुतिसमेत छ।

यिनै बलि राजाको स्मरण र पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन गरिन्छ।

म्ह पूजा

कार्तिक शुक्लपक्षको प्रतिपदाका दिन नेवार समुदायमा म्ह पूजा गर्ने चलन छ। म्ह भनेको शरीर हो र म्ह पूजा गर्नु भनेको आफ्नै शरीर र त्यसभित्र रहेको आत्माको पूजा गर्नु हो भन्ने मान्यता म्ह पूजाको देखिन्छ।

शरीरमा नै आत्मा अर्थात् चेतनाशक्ति रहन्छ। शरीर नै सबै धर्मको साधन हो। त्यसैले लामो आयुसम्म बाँचेर प्रशस्त पुण्य आर्जन गर्नका लागि शरीरको पूजा र सम्मान गर्नुपर्छ भन्ने मान्यताले यो पर्व मान्ने गरेको देखिन्छ।

आज गरिने धार्मिक कृत्य

गाई तिहारका दिन गाई–गोरुको पूजा गरिने भएकाले बिहान नित्यकर्म सकेर पूजा–सामग्री लिई गाई–गोरुका नजिक गइन्छ। गाईका खुट्टा धोइदिने, सिङमा तेल लगाइदिने, नयाँ दाम्ला फेरिदिने गरेर सम्मान गरिन्छ। यसपछि चन्दन, अक्षता, फूल, माला आदिले पूजा गरिन्छ र मिठा भोजन, नुन, पानी आदि दिइन्छ। यसरी गाईको पूजा गर्दा यो मन्त्र भनिन्छ–

लक्ष्मीर्या लोकपालानां धेनूरूपेण संस्थिता।
घृतं ददाति यज्ञार्थे मम पापं व्यपोहतु।।

गाई तिहारलाई ‘गाईलाई नुन दिने’ भन्ने चलन छ  अरू बेला गाईले नुन खान पाए/नपाएको ख्याल नगरे पनि यस दिन अवश्य नुन दिनुपर्छ भनेर अरू खानेकुराका साथमा विशेष गरी नुन चटाइन्छ। यस दिन गाई हिँड्ने बाटो वारिपारि पारेर तोरण टाँग्ने र त्यसैमुनिबाट गाई हिँडाउने चलन पनि छ।

गाई–गोरुको पूजा हुने भएकाले आज गोरुले जोत्ने वा श्रमको काममा लगाउने गरिँदैन, विश्राम दिइन्छ।

सन्ध्या कालका नित्यकर्म गरेर बलि राजाको पूजा गरिन्छ। बलिको पूजामा पनि उपलब्ध पूजा सामग्रीले पूजा गरी बलिको प्रार्थना गरिन्छ। बलिको प्रार्थना गर्ने मन्त्र यो हो–

बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित ।
इन्द्रशत्रोऽमराराते विष्णुसन्निधिकारक ।।

आजको दिनमा शिव र पार्वती जुवा खेल्दा पार्वतीले जितेकी थिइन् भन्ने प्रसंग ब्रह्मपुराणमा आएको छ । त्यसैले आज जुवा खेल्ने चलन छ र जुवामा जसले जित्छ त्यसका लागि पूरा वर्ष शुभ हुन्छ भन्ने मान्यता छ।

कात्तिक ३०, २०७७ आइतबार ०६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।