देवकोटाका कारण यसरी ढलेको थियो मातृकाप्रसादको सरकार
देवकोटाका साहित्यिक कर्मबारे अध्ययन हुँदै आएको पनि छ। मूलतः मानिसहरू देवकोटालाई मानवतावादी कविका रूपमा चित्रण गर्छन्। म भने उनलाई खरो प्रगतिशील कवि भन्छु।
हाम्रो समाजमा देवकोटाको राजनीतिक जीवनबारे त्यति चर्चा सुनिँदैन। वास्तवमा देवकोटा स्रष्टासँगै द्रष्ठा पनि थिए।
देवकोटाले आफ्नो समयमा धेरै काम गरे। उनी कुशल शिक्षक थिए। विशेषतः काठमाडौंका विद्यार्थीले उनीबाट लाभ उठाए। देवकोटाले अंग्रेजीको स्तरीय शिक्षासँगै विद्यार्थीलाई जीवनउपयोगी शिक्षा पनि प्रदान गरे। साथै उनी प्राध्यापकसमेत थिए। त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी र नेपाली विषय पढाउने एक्ला प्राध्यापक उनै थिए।
देवकोटाको समाज–सचेत व्यक्तित्वको पाटोलाई त्यति बाहिर ल्याइएको छैन। उनी प्रजातन्त्रका अभियन्ता हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला। सन् १९८७ को पुस्तकालय काण्डमा देवकोटा दण्डित भए। त्यतिबेलाका पढेलेखेका युवाले पुस्तकालय खोल्न लाग्दा राज्य डरायो। र, सार्वजनिक भलाइका लागि उनले त्यतिबेला सय रूपैयाँ जरिवाना बुझाउनुपर्यो। त्यसपछि देवकोटाको क्रान्तिकारी भावनामा झन् बल पुग्यो। तर, उनी तत्काल केही गर्न सक्ने अवस्थामा थिएनन्। त्यसैबेला चार प्रजातान्त्रिक योद्धाहरूलाई जहानियाँ राणाशासनले क्रुरतापूर्वक हत्या गर्याे। त्यसपछि देवकोटाको क्रान्तिचेतको ज्वालामुखी फुट्न आँटेको थियो। तर, उचित वातावरण पाइरहेका थिएनन्।
त्यसैबेला संगठित भइरहेको नेपाली राष्ट्रिय कांग्रेसका सक्रिय युवाहरू २००३ सालमा देवकोटाको शरणमा पुगे। उनीहरूले आन्दोलनलाई सशक्त बनाउन बौद्धिक वर्ग पनि यसमा होमिनु पर्ने आग्रह गरे। त्यसपछि देवकोटाले त्रिचन्द्र क्याम्पसको प्राध्यापकको जागिर छाडेर भूमिगत भएर बनारसमा बस्न थाले। यसरी नेपाली जनताको मुक्ति आन्दोलनमा देवकोटा होमिएका थिए।
क्रान्तिकारी विचारलाई खोल्ने उचित स्थान नपाइरहेका देवकोटाले प्रवास बसाईपछि आफ्ना कलम र विचारका माध्यमले नेपाली क्रान्तिमा अतुलनीय योगदान दिए। त्यतिबेला संयोग पनि कस्तो रह्यो भने देवकोटा भारत गएको एक महिनामै भारत ब्रिटिस उपनिवेशबाट मुक्त भएर स्वतन्त्र भएको थियो।
भारत उपनिवेशबाट मुक्त भएपछि त्यहाँ संगठित रास्त्रीय काग्रेसले जहानियाँ राणाशासनविरुद्ध आन्दोलनको तयारी गर्यो। त्यहाँ देवकोटाजस्ता कलमवीरभन्दा पनि राइफल म्यानको बढी आवश्यकता थियो। उक्त आन्दोलनमा देवकोटाले पर्दापछाडिबाट नैतिक र बौद्धिक समर्थन गरेका थिए। त्यसबेलाको त्यो महाअभियानमा लागेका महाकविको राजनीनिक आन्दोलनको योगदानको चर्चा परिचर्चाबारे त्यति बहस नहुनु दुःखद कुरा हो।
२००७ सालपछिको संक्रमणकालीन समयमा २००९ र २०११ मा गरि दुई पटक त्यतिबेलाको संसद (सल्लाहकारसभा) मा बौद्धिक व्यक्तिका रूपमा राजा त्रिभुवनबाट चुनिएका थिए देवकोटा। राजा त्रिभुवनसँग महाकविको राम्रो सम्बन्ध थियो।
दुई पटकसम्म सल्लाहकारसभामा चुनिएका देवकोटा २००९ मा सदस्यका रूपमा मात्र थिए भने २०११ मा प्रतिपक्ष दलका नेताको रूपमा चुनिए।
देवकोटाको ज्ञानको दायराको हामीले यहाँ एउटा सन्दर्भ छाड्नुहुन्न। त्यो के भने उनी अंग्रेजी, नेपाली विषयमा मात्र नभइ अर्थशास्त्रको शुुक्ष्म ज्ञातासमेत थिए। उनले बिएसम्म अंग्रेजीसँगै अर्थशास्त्र पनि पढेका थिए।
२०११ मा नेपाली राष्ट्रिय कांग्रेसको सरकार थियो र त्यस मन्त्रीपरिषद्को नेतृत्व मातृकाप्रसाद कोइरालाले गरिरहेका थिए। त्यस सरकारले सल्लाकारसभामा त्यस वर्षको बजेट मातृका सरकारले प्रस्तुत गर्यो। त्यस बजेटको देवकोटाले अर्थशास्त्रीझैं प्रखररूपमा आलोचना गरे, जसको कारण मातृकाप्रसादको सरकार ढल्न पुग्यो।
यदि देवकोटाले सल्लाकारसभामा बजेटबारे त्यति खरो बोलेका हुँदैनथे भने राष्ट्रिय कांग्रेसको त्यो सरकार कायम रहन पनि सक्थ्यो होला।
त्यतिबेला महाकवि देवकोटाले संसदमा विपक्षी दलको नेताको रूपमा खेलेको भूमिकाबारे अभिलेख राखेर त्यसमाथि अध्ययन हुनु जरुरी छ।
२०१४ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुअघि देवकोटाले नेपाली राजनीतिमा वहन गरेको भूमिका ओझेले परेको छ।
२०१२ सालमा राजा त्रिभुवनको देहावसान भयो।
त्यसपछि देवकोटाको जीवन पनि अन्त्य भयो भन्न सकिन्छ। उसो त देवकोटाले राजनीतिलाई शौचालयका रूपमा चित्रण गर्दै भनेका थिए, ‘केही समय राजनीतिको शौचालयमा थिए, अब साहित्यको भोजन गृहमा रम्छु।’ यसबाटै उनको सोचाइ प्रस्ट हुन्छ।
तर, महाकवि देवकोटा राजनीतिमा पनि त्यत्तिकै लोकप्रिय थिए भन्नेमा दुईमत छैन। उनी बेलायती प्रधानमन्त्री तथा साहित्यकार वइन्स्टन चार्गिलजस्तै हुन चाहान्थे। भनौ न हाम्रा महाकवि देवकोटा यो देशको प्रधानमन्त्री हुन चाहान्थे। क्यान्सरले उनलाई दीर्घ आयू दिएन। सायद देवकोटा रहनुभएको भए देशको प्रधानमन्त्री हुने उहाँको सपना साकार हुन्थ्यो कि !
देवकोटाले आफ्नो जीवनकालमा विभिन्न संघसंस्था गठन गरे। पत्रपत्रिका सम्पादन गरे। दार्शनिक सभाहरूको नेतृत्व गरे। अहिलेको प्रज्ञाप्रतिष्ठानको पूर्वाधार महाकवि देवकोटाकै पहलमा खडा भएको हो। त्रिभुवन विश्वविद्यालयको मिसन पनि देवकोटाले नै खडा गरेका हुन्।
वास्तवमा भन्ने हो भने त्यो समयका सबैभन्दा बढी व्यस्त बुद्धिजीवी उनी नै थिए।
(त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं लक्ष्मीप्रसाद देवकोटाका अनुसन्धाता अवस्थीसँग लक्ष्मीपूजाको अवसरमा उकेराकर्मी ईश्वरकुमार मैनालीले गरेको कुराकानीमा आधारित)
कात्तिक २९, २०७७ शनिबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।