यमपञ्चकको दोस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा 

यमपञ्चकको दोस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा 

आज भने दिउँसोसम्म चतुर्दशी र राति औँसी परेको हुनाले कुकुर तिहार र लक्ष्मीपूजा आजैका दिन परेको छ। त्यसैले बिहान कुकुर तिहार र साँझ/राति लक्ष्मीपूजा गर्नुपर्छ। 

नरक चतुर्दशी 

पौराणिक आख्यानअनुसार द्वापरयुगमा प्रागज्योतिषपुरमा नरकासुर नामको एउटा राक्षस थियो। उसले आफ्नो शक्तिले अग्नि, वरुण, इन्द्र आदि सबै देवतालाई आफ्नो वशमा पारेको थियो। ऊ कतिसम्म अत्याचारी थियो भने १६ हजार कुमारीहरूलाई अभिभावकबाट खोसेर विवाह गर्ने उद्देश्यले बन्दी बनाएको थियो। उसको अत्याचार बढ्दै गएको देखेर देवता, ऋषिमुनि आदि श्रीकृष्णको शरणमा गए। श्रीकृष्णले नरकासुरको अत्याचारबारे जानकारी पाएपछि त्यसबाट लोकलाई रक्षा गर्ने वचन दिए। 

नरकासुरले महादेवबाट लक्ष्मीलाई सधैं आफ्नो वशमा राख्ने, १६ हजार पत्नी प्राप्त गर्ने र महिलाबाट मात्र मर्ने वरदान पाएको थियो। यो कुरा थाहा पाएका श्रीकृष्णले पत्नी सत्यभामालाई सारथि बनाएर नरकासुरसँग युद्ध गरे र सत्यभामामार्फत त्यस असुरको वध गरे। त्यो दिन कार्तिक कृष्णपक्षको चतुर्दशी थियो। त्यसैले यस दिनलाई नरक चतुर्दशी भन्न थालियो। कृष्णको नाम ‘नरकान्तक’ रहन गयो। 

पद्मपुराणको प्रसंगअनुसार यस दिन प्रातःकालमा तेल घसेर स्नान गर्नाले भगवान् विष्णु प्रसन्न हुनुहुन्छ र यमलोक जानुपर्दैन। 

कुकुर तिहार 

कुकुर सधैं मानिससँगै बस्ने प्राणी हो। कुकुर र मानवको सहअस्तित्व अनादि कालदेखि छ। प्राचीन कालमा मानिसले सिकार गरेर आफ्नो आहार प्राप्त गर्नका लागि, मनोरञ्जनका लागि र सुरक्षाका लागि कुकुर पाल्ने गरेको देखिन्छ। युधिष्ठिरले आफ्नो कुकुरलाई छोडेर एक्लै स्वर्ग जान नमानेको कथाले पनि मानिस र कुकुरको साइनो कति गाढा थियो भन्ने कुरा पुष्टि गर्छ। 

कुकुरलाई भैरवको वाहन मानिन्छ। भैरवको पूजा गर्दा उनको वाहन कुकुरको पनि पूजा गर्नुपर्छ। कुकुरलाई यमराजको पनि प्रिय जनावर मानिन्छ। कुकुरलाई खाना दिनाले अरिष्ट ग्रह शान्त हुने मान्यता पनि रहिआएको छ।

चाणक्यले कुकुरमा ६ वटा विशेष गुण हुने कुरा बताएका छन्। उनका अनुसार  कुकुर धेरै खान सक्ने, तर थोरै खानाले पनि सन्तुष्ट हुने, धेरै निदाउन सक्ने, तर पातलो निद्रा भएको, निदाएका बेला पनि ससाना कुरासमेत थाहा पाउने, स्वामीभक्त र निडर कुकुरका गुण हुन्। यिनै गुणले गर्दा मानिसले कुकुरलाई आफ्नो रक्षकका रूपमा सँगै राख्ने गरेको देखिन्छ। यसको तीव्र सुँघ्ने शक्तिले गर्दा अपराधी पत्ता लगाउनका लागि आज पनि कुकुरलाई प्रयोग गरेको कुरा हामीले देखेकै छौं। 

सनातन धर्मले हाम्रो उपकार गर्ने सबै प्राणीलाई सम्मान र पूजा गर्न सिकाएको छ। कुकुरपूजा पनि यसैको उदाहरण हो। वर्षमा एक दिन आफ्नो बफादार सुरक्षाकर्मी कुकुरको पूजा गरेर जनावरको सम्मान गर्ने संस्कृति नै कुकुर तिहार हो। यमपञ्चकअन्तर्गत दोस्रो दिन अर्थात् चतुर्दशीका दिन कुकुर तिहार हो। 

लक्ष्मीपूजा 

कार्तिक कृष्णपक्षको औंसीको साँझ लक्ष्मीपूजनोत्सव हो। यो तिहारको विशेष दिन हो। यस दिन सुन्दरता र धनधान्यकी देवी लक्ष्मीको पूजा–अर्चना गरिन्छ। दिउँसो चतुर्दशी र रातमा औंसी भएको कार्तिक कृष्ण औंसीलाई लक्ष्मीपूजाको विशेष अवसर मानिएको छ। आजको दिन पनि दिउँसो चतुर्दशी र राति औंसी भएकाले अरू वर्षका लक्ष्मीपूजाभन्दा शास्त्रीय दृष्टिले बढी उत्तम दिन परेको छ। 

कार्तिक कृष्णपक्षको औंसीलाई सुखरात्रि भनिन्छ। असुरहरूबाट भयभीत भएका देवताहरू भगवान् विष्णुबाट अभय प्राप्त गरेर क्षीरसागरको छेउछाउमा सुखपूर्वक शयन गरेका थिए। त्यसैले यस दिनलाई सुखरात्रि भनिएको हो भन्ने पौराणिक वचन छ। भाद्र कृष्णपक्षको अष्टमीको रात (मोहरात्रि), आश्विन शुक्लसप्तमीको रात (कालरात्रि), कार्तिक कृष्ण औँसीको रात (सुखरात्रि) र फागुन कृष्णचतुर्दशीको रात (महाशिवरात्रि) गरी वर्षभरिका चार महत्त्वपूर्ण रात्रिमध्ये सुखरात्रि पनि एक हो। यस दिन लक्ष्मीको पूजा गर्ने विधान छ। 

संसारमा धन–सम्पत्तिको चर्चा जति महत्त्वका साथ गरिन्छ त्यस्तै महत्त्वका साथ वेद, पुराण र तन्त्रग्रन्थमा लक्ष्मीको चर्चा गरिएको छ। शुक्लयजुर्वेदअन्तर्गतको पुरुष सूक्तमा विराट् पुरुषकी शक्तिका रूपमा श्री र लक्ष्मीको महिमागान गरिएको छ। त्यसैले लक्ष्मी वैदिक देवी हुन् भन्ने कुरा स्पष्ट हुन्छ। पुराणहरूमा लक्ष्मीलाई क्षीरसागरकी पुत्री र भगवान् विष्णुकी शक्ति मानिएको छ। 

लक्ष्मी सुनौलो वर्णकी, दिव्य सुन्दरताले युक्त चतुर्भुजा देवी हुन्। यिनका दुई हातमा कमलपुष्प एक हातमा वरमुद्रा र एक हातमा अभयमुद्रा रहेका छन्। यिनलाई कमलपुष्पमा बसेकी, चारतिरबाट सेता हात्तीले सुवर्णकलशले अमृत सेचन गरिएकी, बहुमूल्य रत्नहरू जडेको मुकुट लगाएकी, रेसमी वस्त्र पहिरेकी देवीका रूपमा वर्णन गरिएको छ। यिनको वाहन लाटोकोसेरो र हात्ती मानिएको छ। लक्ष्मीको पूजा–आराधना गर्नाले सबै किसिमका दुःख नाश हुन्छन् र सुन्दरता, सम्मान एवं सम्पत्ति प्राप्त हुन्छन् भन्ने शास्त्रको वचन छ। 

ब्रह्मवैवर्त पुराणको आख्यानअनुसार दुर्वासाको श्रापले इन्द्र आदि देवतागण र मत्र्यलोकवासी लक्ष्मीहीन भए। लक्ष्मी स्वर्गादि लोक छोडेर वैकुण्ठमा गएर महालक्ष्मीमा लीन भएर बसिन्। लक्ष्मीहीन भएर ओठतालु सुकेका इन्द्रादि देवताहरू ब्रह्माजीकहाँ गए, ब्रह्माजीको सुझावअनुसार ब्रह्मालाई अगाडि लगाएर इन्द्रादि देवताहरू भगवान् विष्णुको शरणमा गए। विष्णुले देवताहरूलाई समुद्रमन्थन गर्ने सल्लाह दिए र लक्ष्मीलाई एउटा कलामा समुद्रमा गएर बस्न आज्ञा दिए। देवताहरू दैत्यसँग मिलेर समुद्रमन्थन गरे। लक्ष्मी कलाका रूपमा त्यहीँबाट प्रकट भइन्। उनले विष्णुलाई वरण गरिन्। लक्ष्मीको पूजा गरेर देवलोक र मत्र्यलोकवासीले पनि राज्यलक्ष्मी र वैभवलक्ष्मी प्राप्त गरे। यसै आख्यानसँग जोडेर कार्तिक कृष्णऔंसीमा लक्ष्मी प्रकट भएकी हुनाले त्यस दिन लक्ष्मीपूजा गर्ने परम्परा बसेको भन्ने विश्वास गरिन्छ। 

आज गरिने धार्मिक कृत्य 

नरक चतुर्दशीको बिहान तेल घसेर स्नान गरिन्छ। स्नान गर्ने जलमा डुम्री, वर, आँप, दतिवन पनि मिसाउने गरिन्छ। यसरी स्नान गर्नाले नरकान्तक विष्णु प्रसन्न हुने मान्यता छ। स्नानपछि धर्मराजका चौध नामको स्मरण गरी दक्षिणतिर फर्केर तिल राखेको जलले तर्पण गरिन्छ। तर्पण गर्दा भन्ने मन्त्र यस्तो छ–

यमाय धर्मराजाय मृत्यवे चान्तकाय च।
वैवश्वताय कालाय सर्वभूतक्षयाय च।।
औदुम्बराय दध्नाय नीलाय परमेष्ठिने।
वृकोदराय चित्राय चित्रगुप्ताय वै नमः।।

तर्पण गरेपछि चारसुते बत्ती बालेर नरकासुरलाई लक्षित गरी नदीमा बगाउने वा बाहिर राखिदिने गरिन्छ। यसलाई नर्के फाल्ने भन्ने नेपाली चलन छ। बत्ती बालेर समर्पण गर्ने मन्त्र हो–

दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया।
चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये।।

आजैका दिन बलवृद्धिको कामना गरी चौधथरि सागको तरकारी खाने र सबै पाप नाश होऊन् भनेर मासको पात खाने विधान छ। 

कुकुर तिहार भएकाले आज कुकुरलाई चन्दन, अक्षता, फूल, माला, धूप, दीप, खानेकुरा, पानी आदि दिएर पूजा गरिन्छ। कुकुरलाई भोजन दिने मन्त्र यो हो–

द्वौ श्वानौ श्यामधवलौ वैवश्वतकुलोद्भवौ।
ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा।।

आजै लक्ष्मीपूजा भएकाले साँझ लक्ष्मीको पूजा हुन्छ। लक्ष्मीपूजाको तयारीका लागि फूलमाला र दीपमालाले घरवरिपरि सजाइन्छ। सन्ध्याकालमा चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत आदि पूजा–सामग्री तयार गरी दीप, कलश, गणेशको पूजा गरेर प्रधान देवताका रूपमा मूर्ति, चित्र, सिक्का वा सुपारीमा लक्ष्मीको स्थापना गरिन्छ र उपलब्ध सामग्रीले पूजा गरिन्छ। लक्ष्मीको पूजा गर्दा अरू मन्त्रका अतिरिक्त यो मन्त्र उच्चारण गरिन्छ–

या देवि सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। ॐ लक्ष्म्यै नमः।

लक्ष्मीको पूजा गरेपछि धनका अधिपति कुबेरको पूजा हुन्छ। कुबेरलाई ॐ कुबेराय नमः भनेर पूजा गर्न सकिन्छ। लक्ष्मीपूजा गर्दा रुपैयाँ–पैसा, गरगहना, बही–खाता आदि धनसँग सम्बन्धित वस्तुको पनि पूजा गर्ने चलन छ। पूजासकेपछि श्रीसूक्त, लक्ष्मीस्तोत्र आदि पाठ गरिन्छ।

कात्तिक २९, २०७७ शनिबार ०६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।