नेकपा कर्णाली विवाद सचिवालय बैठकले टुंग्याउने आशा
सुर्खेत ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार (आज) बस्ने सचिवालय बैठकले कर्णालीको पार्टी विवाद मिलाउने आश गरेका छन्।
सचिवालयले कर्णालीको विवादसहित पार्टीपंक्तीमा देखिएका विवादहरु समाधान गर्ने विश्वास लिएको कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले बताएका छन्। कर्णालीको विवाद कस्तो हुने भन्ने आज वस्ने सचिवालयको वैठकले जनाउने उनको भनाइ छ।
उनका अनुसार पाटीमा देखिएको सबै समस्याका बारेमा नयाँ स्तरबाट छलफल भएको, पार्टी विभाजनमा नजाने तर प्याकेजमै समाधान हुने छ। नेपाल पक्षका सांसद चन्द्रबहादुर शाहीले कर्णालीको विवाद केन्द्रीय नेतृत्वले समाधान गर्ने भएकाले प्रदेशमा विवाद नरहेको जनाए।
उनले कर्णालीको विवाद केन्द्रीय सचिवालयको निर्णयको प्रतिक्षामा रहेको बताए। असोज अन्तिमसाता पार्टी संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीकै बहुमत सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि तंरगित बनेको कर्णाली नेकपाको राजनीतिक विवाद काठमाडौंसम्म आएर त्यत्तिकै फर्किएको थियो।
प्रधानमन्त्री एव अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष गुटमा विभाजित कर्णाली नेकपा अहिले पार्टीको केन्द्रीय विवादकै एउटा एजेण्डा बन्न पुगेको हो।
नेपाल पक्षका तीन जना सांसदलाई मन्त्री बनाउने सहमतिमा दाहाल र नेपाल पक्ष एक भएपछि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव असफल भयो। तर, सहमती अनुसार मन्त्रीमण्डल गठन हुन सकेको छैन।
प्रदेशसभाका ३२ सांसद मध्ये अहिले ओली पक्षमा यमलाल कँडेलसहित ११ जना छन् र नेपाल, दाहाल पक्षका १९ जना सांसद एक आपसमा विभाजित छन्।
कात्तिक २८, २०७७ शुक्रबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।