सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार गरिँदै
सुर्खेत : कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार गर्न लागिएको छ। संघीय र प्रदेश सरकारको संयुक्त लगानीमा बन्न लागेको विमानस्थलको काम यो आर्थिक वर्षबाट बन्ने भएको हो।
संघीय र प्रदेश सरकारको संयुक्त लगानीमा विमानस्थल विस्तार गर्नेसम्बन्धी सम्झौता गत असोज १५ मा भइसकेकाले यो वर्षबाटै काम थालनी हुने सुर्खेत नागरिक उड्यन कार्यालयका प्रमुख उमेश पन्थीले जानकारी दिए। उनका अनुसार सरकारले चासो दिएमा यो वर्षबाटै विस्तार गरिने क्षेत्रको नक्सा सार्वजनिक गरि मुआब्जा वितरणको काम अघि बढाउन सकिने छ।
‘कर्णाली सरकार र संघीय सरकारको समेत चासो भयो भने सर्भेको काम पहिला हुन्छ,’ कार्यालय प्रमुख पन्थीले भने, ‘यो वर्ष यति क्षेत्रफल जनताको जग्गा अधिग्रहण गर्ने भन्ने निक्र्याेल भएर काम अघि बढ्न सक्छ।’
२०२२ सालमा निर्माण भएको विमानस्थल सुरुमा एक हजार ४० मिटर लम्बाईको थियो। ६ वर्षअघि दुई सय मिटर धावनमार्ग विस्तार गरी १२ सय ५५ मिटर पुर्याइयो। तर, पनि ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन्। जसका कारण फेरि धावनमार्ग विस्तारका लागि नेपाल सरकार र कर्णाली सरकारको संयुक्त लगानीमा स्तरोन्नति गरि सुविधा सम्पन्न बनाउने सम्झौता गरिएको हो।
संघ र प्रदेश सरकारले गत असोज १५ गते गरेको सम्झौता अनुसार धावनमार्ग न्यूनतम एक हजार पाँच सय मिटरसम्म पुर्याउने सम्झौता पत्रमा उल्लेख छ। पहिले काठमाडौंबाट इन्जिनियरको टोली आउने र सर्भे हुने कार्यालय प्रमुख पन्थीले बताए। उनका अनुसार सर्भे भइ जग्गा अधिग्रहणका लागि स्थानीयसँग छलफल हुने र मुआब्जा निर्धारण समिति बनाएर काम सुरु हुनेछ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सो समिति बन्न सक्ने र त्यसमा राजनीतिक दलका प्रतिनिधि, नगरपालिका, नापी कार्यालय, नागरिक उड्यन प्राधिकरण कार्यालय, सम्बन्धित वडा कार्यालय समेतको सहभागिता हुने उनले जनाए।
विमानस्थलका लागि हाल रहेको एक हजार दुई सय ५५ मिटरको दूरीमा उत्तरतिर ४६० मिटर, दक्षिणमा २ सय मिटरसम्म र चौडाई १६० मिटर बनाइ विस्तार गरिने छ।
कार्यालय प्रमुख पन्थीका अनुसार अहिलेको विमानस्थलको चौडाई सयदेखि १५० मिटरसम्म रहेको छ। त्यस्तै, पश्चिमतर्पm ५ बिगाह क्षेत्रफल जग्गा अधिग्रहण गरी विमानस्थल टर्मिनल बनाइने उनको भनाई छ। यसका लागि स्थानको टुंगो लागिसकेको छैन। उनले भने, ‘विमानस्थल रनवेदेखि पूर्व पश्चिमको भाग करिब ६० देखि १५० मिटर चौडाई चाहिनुपर्ने हो। तर, पूर्वमा ४० र पश्चिममा ४० मिटर मात्रै रहेको छ।’
स्थानीय बासिन्दाको जमिन र अमर ज्योति नमुना माध्यामिक विद्यालय समेत अधिग्रहणमा पर्ने भएकाले त्यसको न्यायोचित मुआब्जा वितरणबारे कार्यालय प्रमुख पन्थीले सोका लागि पनि मुआब्जा निर्धारण समितिले छलफल गरि टुंगो लगाउने बताए। यहाँको सरकारको पहलमा जनतालाई न्याय हुने गरी उपत्यकाको अन्य क्षेत्रमा जग्गा उपलव्ध गराउन सके राम्रो हुने उनको भनाई थियो। अहिले प्रारम्भिक नक्साको काम काठमाडौंमा भएको कार्यालय प्रमुख पन्थीले बताए।
विमानस्थल विस्तारलाई तीव्रता दिने सम्बन्धमा यहाँको सरकार र सरोकारवालाले नै चासो दिनुपर्ने उनको तर्क छ। यो वर्ष मुआब्जा वितरणको लागि काम सुरु गर्न सकिए अर्को आर्थिक वर्षको बजेटबाट काम सुरु हुनसक्ने उनको भनाई थियो।
धावनमार्ग न्यूनतम एक हजार पाँच सय मिटरसम्म पुर्याउनका लागि संघीय सरकारले ५१ करोड बजेट छुट्याएको सुर्खेत नागरिक उड्डयन प्राधिकरणका प्रमुख पन्थीले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारले ५० करोड रूपैयाँ छुट्याएको सुन्नमा आएको छ। तर, आधिकारिक सूचना आएको छैन।’
उनका अनुसार दैनिकरूपमा बुद्ध एयरको सुर्खेत काडमाडौं उडान अवतरण हुने गरेको छ। यस्तै, सातामा एक पटक सुर्खेत जुम्ला र सुर्खेत बाजुरा उडान अवतरण हुने गरेको छ। यसैगरी, बिहीबार सुर्खेत हुम्लाको उडान तालिका छ।
उनले भने, ‘हुम्ला, जुम्ला र बाजुरामा ४÷५ जनाको हाराहारीमा यात्रु हुने गर्छन् भने काठमाडौंमा १०÷१२ जनाको दरले जाने गरिरहेका छन्।’
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उचित र न्यायिक मुआब्जाका लागि नगरपालिका डटेर लाग्ने बताए। ‘बिगाह, कट्ठा वा स्क्वाएर फुट जे कुरा आए पनि जनताको उचित पुनर्बासका लागि चलेको रेटमा एकमुष्ठरूपमा सरकारले मुआब्जा रकम दिनुपर्छ। हामी यसका लागि पटक–पटक हुने बैठकमा कुरा उठाउँछौं,’ नगरप्रमुख सुवेदीले भने।
‘विमानस्थलको रनवे विस्तार गर्नु एकदमै राम्रो हो। कम्तीमा पन्ध्र सय मिटर भए भने ठूला जहाज आउन सक्छन्,’ सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने, ‘६÷७ वटा एटिआर सेभेन्टी टु का जहाज कम्पनीहरूले दैनिक काठमाडौं सुर्खेत, एक÷दुई वटा फ्लाइट गर्यो भने कर्णालीका नागरिकलाई निकै राहत हुन्छ।’
निजी क्षेत्रले यसअघि पटकपटक विमानस्थलको विकल्प खोज्नुपर्ने सुझाउँदै आएको छ। विमानस्थल साँघुरो भएकै कारण यहाँका नागरिकले सास्ती खेप्दै आएपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्नेतर्फ लाग्न सर्वसाधारणको माग छ।
‘विमानस्थल स्तरोन्नति गरेर रात्रिकालीन होस् वा प्रतिकूल मौसम, जस्तोसुकै परिस्थितिमा जहाज उडान र अवतरण गर्ने हुन जरुरी छ,’ उद्योग वाणिज्य संघका महासचिव कँडेलले भने, ‘भएको विमानस्थललाई एक्सप्लान गर्दै सञ्चालनमा ल्याउने र भोलिका दिनमा योभन्दा ठूलो विमानस्थलको खोजी गरिनुपर्छ।’
उनी थप्छन्, ‘अहिले तत्कालको लागि सुर्खेत विमानस्थलको माग भनेको जुनसुकै अवस्थामा पनि उडान र अवतरण गराउन सक्नु हो। कम भिजिविलिटीमा पनि अप्रेसन गराउन र राति पनि अपग्रेड गराउनको लागि यो विमानस्थलको विकास गरिनुपर्छ।’
कात्तिक २८, २०७७ शुक्रबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।