माछापालनको नमुना क्षेत्र बन्दै छपिया
घरैपिच्छे माछापालन थालेका यहाँका किसान यस क्षेत्रलाई नमुना मत्स्य पर्यटन केन्द्र बनाउन लागिपरेका छन्। ३७ वर्षअघिदेखि माछापालन थालिएको छपिया क्षेत्रमा ११ वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो।
यहाँको २२५ हेक्टर क्षेत्रफलको एक हजार पाँच सयभन्दा बढी पोखरीमा माछापालन हुँदै आएको छ। करिब ६ सय व्यावसायिक किसानले वार्षिक एक हजार दुई सय पचास मेट्रिक टन माछा उत्पादन गर्छन्।
छपिया क्षेत्रको माछा पोखरी।
माछा बिक्रीबाट मात्रै किसानले वार्षिक २५ करोड बढीको कारोबार गर्ने जलदेवी मत्स्य उत्पादन सहकारी संस्थाका अध्यक्ष गणेश शाहीले बताए। ‘यहाँका किसानको मुख्य आयस्रोत नै माछापालन हो। माछापालनबाट किसानले घर खर्चमात्रै होइन, आम्दानी गरी बचतसमेत गर्नुहुन्छ,’ उनले भने।
कम मेहनत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरू व्यावसायिक माछापालनमा आकर्षित छन्। सियारी गाउँपालिकामा अवस्थित छपिया क्षेत्रमा माछालाई चाहिने उपर्युक्त माटो र पानीको स्रोत राम्रो छ। त्यसैले यहाँका सबै स्थानीयको आम्दानीको स्रोत भनेकै माछापालनबाट आउने रकम बनेको छ।
अन्य बालीको तुलनामा आम्दानी राम्रो हुने, माछाका लागि पनि अनुकूल वातावरण भएकाले मत्स्यपालनमै रमेको बताउँछन्, छपियाका व्यावसायिक किसान टंकप्रसाद ज्ञवाली।
दयानगरमा ३० वटा माछा फार्म छन्। गाउँमै माछा बजार, जिउँदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन्। माछापालनलाई सहज बनाउन किसानले १५ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी संस्था खोलेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छपिया क्षेत्रमा मत्स्य जोनको कार्यक्रम संचालनमा छ। कार्यक्रमले माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेको मत्स्य जोनका अधिकृत रमेश जैसवाल बताउँछन्।
नयाँ पोखरी निर्माण र पुरानो पोखरीलाई मर्मत सम्हारमा जोन कार्यक्रमले सहयोग गरेको छ। यहाँ उत्पादित माछा स्थानीय बजारसँगै पाल्पा, पोखरा चितवन, काठमाडौं तथा भारतको गोरखपुर लगायतका क्षेत्रमा पुग्ने गरेको छ। किसानहरूले स्वस्थ माछा उपभोक्तामा पुर्याउने उद्देश्यले जिउँदो माछा पनि बेच्न गरेका छन्।
छपिया क्षेत्रमा ६ वटा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन्। छपियाको जिउँदो माछा उपभोक्तामाझ लोकप्रिय बन्दै गएपछि अहिले बुटवल, भैरहवा र अन्य बजारमा ३० बढी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन्।
माछापालनमा सामान्य किसानसँगै उच्चस्तरका व्यवसायीसमेत सहभागी छन्। आठ करोड लगानीसम्मका होमस्टे सहितका माछा पालन केन्द्र र रेस्टुरेन्ट खुलेका छन्।
किन्ने, हेर्ने र माछासँग खेल्ने पर्यटक बढेपछि ५ वर्षयता दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको छपिया फिस भिलेजका सञ्चालक गौरव गौतमले बताए।
‘यहाँ आउने पर्यटकहरूलाई हामीले पोखरीमा घुमाउने, बल्छी खेलाउने, माछाका परिकार खुवाउने र बसोवासको व्यवस्था मिलाउने गरेका छौं,’ उनले भने, ‘सबै पर्यटकहरू हाम्रो सेवा, सत्कारबाट सन्तुष्ट हुँदा व्यवसायमा झन् आनन्द मिल्ने गरेको छ।’
माछाको परिकार।
आम उपभोक्ताहरूले माछाको ग्रेभी, झोल र फ्राइ खाने बानी छ। उपभोक्तामा विभिन्न तरिकाबाट माछा खाने बानी बसाल्न जोन कार्यक्रमले माछाका परिकार बनाउन सिकाउने गरेको छ। छपिया क्षेत्रमा खुलेका होटल तथा रेस्टुरेण्टहरूमा पर्यटकहरू माछाबाट बनेका फिस मःम, फिस टिक्का, फिस बल्भ, फिस चिल्ली, फिस फिंगर लगायतका नयाँ परिकारहरूको स्वाद लिन जाने गरेका छन्।
छपिया क्षेत्रका किसानले बनाएको माछाको सुकुटी।
यहाँ अहिले दर्जन बढी पर्यटकीय होटल खुलेका छन्। पर्यटकलाई सजिलै दयानगर लैजान बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवासँग बजार र सडक सञ्जाल जोडिँदैै छ।
कात्तिक २७, २०७७ बिहीबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।