७ बुँदे सम्झौतासँगै टुंगियो केयुको अनशन

७ बुँदे सम्झौतासँगै टुंगियो केयुको अनशन

काठमाडौं : काठमाडौं विश्वविद्यालयका अनशनरत विद्यार्थी र व्यवस्थापनबीच बुधबार मध्यराति ७ बुँदे सम्झौता भएको छ।

कार्यदल गठन गरेर अतिरिक्त शुल्कसम्बन्धी मापदण्ड तयार पार्ने लगायतका विषयमा सहमति भएपछि सम्झौता भएको हो। यससँगै विद्र्यार्थीको रिले अनशन टुंगिएको छ। 

बुधबार अनसनरत विद्यार्थी र रजिष्ट्रारको निर्देशन अनुसार गठित काठमाडौ विश्वविद्यालय, विद्यार्थी कल्याण निर्देशनालयबीचको वार्तामा माग सम्बोधनबारे सहमति जुटेको हो।

सम्झौतामा विद्यार्थीहरुले अनलाइन कक्षा हुँदासम्मको समयावधिमा प्रयोगमा नआएका सुविधाको शुल्क मिनाहा गर्ने, ढिला शुल्क तिरेबापत लाग्ने अतिरिक्त शुल्क स्थगन गर्ने, समस्यामा परेका विद्यार्थीका लागि कोभिड वित्तीय सहायता योजना लागु गर्नेसम्बन्धी विस्तृत मापदण्ड निर्धारण गर्ने, कार्यदलमा चार जना विद्यार्थीको प्रतिनिधित्व हुनेलगायत बुँदा छन्। 

सम्झौतापत्रमा विश्वविधालयका तर्फबाट विद्यार्थी कल्याण र्निदेशनालयका निर्देशक प्रा.डा. विमप्रसाद श्रेष्ठ र सहर्निर्देशकहरु डा. श्यामसुन्दर खड्का र डा. दिपेन्द्र हमालले हस्ताक्षर गरेका छन्।

त्यस्तै, विद्यार्थी प्रतिनिधिका रुपमा स्कुल अफ इन्जिनियरिङ्ग प्रतिनिधि शैलेश मिश्र, स्कुल अफ म्यानेजमेन्ट प्रतिनिधि आएशा शाक्य, स्कुल अफ ल प्रतिनिधि अभिनाश पौडेल ,स्कुल अफ साइन्स प्रतिनिधि स्मृति सुवेदी र स्कुल अफ आर्टस प्रतिनिधि गाथा दाहालले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि उकेरासँग कुरा गर्दै बिद्र्यार्थी प्रतिनिधिले सम्झौता पालनामा सहयोग गर्न आह्वान गरे। ‘सम्झौता पालना नभए फेरि मैदानमा आउने छौं,’ स्कुल अफ इन्जिनियरिङ्ग प्रतिनिधि शैलेश मिश्रले भने।

अनलाइन कक्षाबाहेकको अतिरिक्त शुल्क असुल गर्न खोजेको भन्दै विद्र्यार्थीहरुले गत आइतबारदेखि अनशन थालेका थिए। स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्ट संकायका विद्यार्थीले विभिन्न ४ बुँदे माग राख्दै विश्वविद्यालयको प्रशासनिक भवन अगाडि रिले अनशन बस्दै आएका थिए।

उनीहरुले विश्वविद्यालयको सूचना खारेज गर्न माग गर्दै शिक्षण शुल्क मात्र लिनुपर्ने, समस्यामा परेका विद्यार्थीका लागि कोभिड वित्तीय सहायता योजना लागु गर्न तथा महामारीको अवधिभर ढिलो शुल्क बुझाउँदा लाग्ने शुल्क लिन नपाइने माग गर्दै आएका थिए।  

कात्तिक २७, २०७७ बिहीबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।