संकटमा विपन्नलाई खाद्यान्न सहयोग

संकटमा विपन्नलाई खाद्यान्न सहयोग

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गर्यो। लकडाउनपछि आर्थिक अभावका कारण असहाय तथा मजदुरहरूको दैनिक गुजारामा समस्यामा पर्न थाल्यो। 

कोरोना संक्रमणको जोखिमका कारण त्यतिबेला सहयोग गर्न चाहनेहरू पनि अगाडि सर्न सक्ने अवस्था थिएन। तर, महाराजगन्जको कृष्णधारा मार्गस्थित साई श्रद्धा परिवारले समस्यामा परेकालाई रासन सहयोग अभियान थाल्यो।

त्यसयता उसले साढे दुई सयभन्दा बढी परिवारलाई घरमै पुगेर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री सहयोग गरिसकेको छ। 

संकटको ‘सारथि’ बन्न उक्त परिवारका विजयकुमार प्रधानले भूमिका खेलेका थिए। उनको समूहले अहिले पनि आर्थिक अभावको समस्यामा परेकालाई खाद्यान्न सहयोग गरिरहेको छ। यस्तै, सडकमा अलपत्र परेकालाई त्रिपालसँगै खाद्यान्न उपलब्ध गराएको र आवश्यक पर्दा उपचार पनि गर्ने गरेको साई परिवारका सहयोगीहरू बताउँछन्।  

समस्यामा परेका वास्तविक परिवारको विवरण संकलन र पहिचान गरी घरमै रासन वितरण गरेको उनीहरू बताउँछन्। 

कोरोनाका त्रासबीच प्रधानले गरेको कामको प्रशंसा गर्दै उनलाई इन्टरनेसनल सोसाइटी अफ साई कन्सस्नेस (आइएसएससिओएन)ले ‘कोरोना वारिएर अनर’ को उपाधिसमेत दिएको छ। कोरोना महामारीको समयमा समुदायमा उदाहरणीय योगदान पुर्याएको भन्दै उनलाई उक्त उपाधि दिइएको आइएसएससिओएनले जनाएको छ।

साई श्रद्धा परिवारले खाद्य सामग्रीसँगै व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिरहेको छ। 

प्रधानले आफ्नै निवासमा शिर्डी साई मन्दिर स्थापना गरेका छन्। उनी लामो समयदेखि अध्यात्म र मानवसेवामा समर्पित हुँदै आएका छन्। ‘सेवालाई निरन्तरता दिन सकुँ,’ प्रधान भन्छन्।  
 

कात्तिक २६, २०७७ बुधबार ०२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।