ओरालो लाग्दै त्रिविको उत्तीर्ण दर

ओरालो लाग्दै त्रिविको उत्तीर्ण दर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका कलेजको विद्यार्थी उत्तीर्ण दर घट्दै गइरहेको पाइएको छ।

त्रिविअन्तर्गतका आंगिक, सामुदायिक र निजी शैक्षिक संस्थामा विद्यार्थी उत्तीर्ण दर दुई वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको पाइएको हो। 

०.३२ प्रतिशत घट्नु सामान्य देखिए पनि विद्यार्थी संख्या र सरकारले उच्च शिक्षाको गुणस्तर सुधारका लागि गरेको अर्बाैंको लगानी अनुसार उपलब्धि चित्तबुझ्दो भने होइन।

सरकारले उच्च शिक्षाको लगानी १३ अर्ब २४ करोड ७७ लाखबाट बढाएर गत वर्ष १८ अर्ब २१ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको विश्व विद्यालय अनुदान आयोगले जनाएको छ। 

विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले सार्वजनिक गरेको शिक्षा व्यवस्थापन सूचना प्रणाली (एएमआइएस)मा शैक्षिक वर्ष २०७५/०७६ को तुलनामा गत वर्ष ०.३२ प्रतिशत घटेर २७.६३ प्रतिशतमा झरेको उल्लेख छ। 

सरकारले नेपालको उच्च शिक्षामा लगानी बढाउँदै लगे पनि शैक्षिक गुणस्तर कायम गर्न नसक्दा उत्तीर्ण दर घट्दै गइरहेको हो। 

त्रिविअन्तर्गतका आंगिक, सामुदायिक र निजी कलेजको तुलनाुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पिएएचएस) र बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (बिपिकेआइएचएस) को भने उत्तीर्ण दर उच्च रहेको देखिएको छ। पिएएचएसको उत्तीर्ण दर १०० प्रतिशत छ भने बिपिकेआइएचएसको ९७.४ प्रतिशत छ। 

त्रिविअन्तर्गत सञ्चालनमा रहेका विभिन्न संस्थाको विषयगतरूपमा उत्तीर्ण दर हेर्दा सबैभन्दा बढी विज्ञान र प्रविधिको छ। यस्तै, सबैभन्दा कम उत्तीर्ण दर शिक्षा संकायमा रहेको आयोगको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार विज्ञान र प्रविधि संकायमा ४०.४८, मानविकी तथा सामाजिक संकायमा ३७.३८, व्यवस्थापन संकायमा २६.८१, कानुन संकायमा २३.६८ र शिक्षा संकायमा २०.०५ प्रतिशत उत्तीर्ण दर रहेको देखिन्छ। 

प्रतिवेदन अनुसार अघिल्लो आवमा नेपालमा उच्च शिक्षाका लागि भर्ना भएका ४ लाख २३ हजार ९९६ विद्यार्थीमध्ये त्रिविमा ३ लाख ३५ हजार भर्ना भएका छन्। बाँकी अन्य विश्वविद्यालयमा पढ्न गएका हुन्। 

प्रादेशिकरूपमा प्रदेश २ मा बढी

प्रादेशिकरूपमा त्रिविअन्तर्गतका कलेजको उत्तीर्ण दर हेर्दा सबैभन्दा बढी प्रदेश २ मा छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा छ। 
प्रादेशिकरूपमा प्रदेश २ मा ३३.१३, बाग्मती (प्रदेश ३)मा ३०.८८, कर्णालीमा २९.०८, प्रदेश १ मा २७.७३, लुम्बिनी (प्रदेश ५)मा २३ र गण्डकीमा १९.२६ प्रतिशत छ। 

देशभरको सामुदायिक कलेजको उत्तीर्ण दर भने २४.६१ प्रतिशत रहेको देखिन्छ। यसैगरी, आंगिक कलेजको २२.८१ र निजीको उत्तीर्ण दर ३२.५१ प्रतिशत रहेको देखिन्छ।

निजी कलेजको गुणस्तर खस्कदै

आम अभिभावकले आंगिक र सामुदायिक कलेजको गुणस्तरको तुलना गर्दा निजी कलेज नै राम्रो हुन्छ भन्ने मान्यता राखेको देखिए पनि त्रिवि अन्तर्गतका निजी कलेजको अवस्था दयनिय रहेको अध्ययनले देखाएको छ। आयोगले बर्सेनि सार्वजनिक गर्ने इएमआइएसमा त्रिविअन्तर्गत सम्बन्धन लिएका निजी कलेजको उत्तीर्ण दर अपेक्षाकृतरूपमा राम्रो देखिएको छैन। 

प्रतिवेदनमा त्रिविअन्तर्गतका आंगिक क्याम्पस र निजी कलेजको उत्तीर्ण दर लगभग समान छ। 

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिप प्रा. डा. देवराज अधिकारीले आयोगको २६ औं वार्षिकोत्सवमा उच्चशिक्षाको गुणस्तर सुधारमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै गुणस्तर सुधारमा ध्यान दिनु पर्ने बेला आएको बताए।

निजी र आंगिकको उत्तीर्ण दर समान

सञ्चालनका हिसाबले फरक फरक प्रकृतिका तीन संस्थाहरूमध्ये निजी र आंगिक कलेजको उत्तीर्ण दर सामुदायिक कलेजको तुलनामा राम्रो रहेको देखिन्छ। 

अघिल्लो वर्ष देशभरका निजी कलेजको उत्तीर्ण दर २४.९९ र आंगिक क्याम्पसको २३.३८ प्रतिशत थियो। त्रिवि अन्तर्गतका सामुदायिक कलेजको उत्तीर्ण दर १९.८४ प्रतिशतमात्र देखिएको छ।

अन्य विश्वविद्यालय र प्रतिष्ठानको तुलनामा पछिल्लो तीन वर्षमा त्रिविअन्तर्गतका सामुदायिक, निजी र आंगिक शैक्षिक संस्थामा विद्यार्थी भर्ना दर उच्च नै रहेको देखिन्छ। शैक्षिक सत्र २०७५/०७६ मा त्रिवि अन्तर्गतका उच्च शैक्षिक संस्थामा भर्ना दर भने बढेको छ।

सो अवधिमा भर्ना ७९.०४ प्रतिशत अर्थात विद्यार्थीको संख्या ३ लाख ३५ हजार १२६ छ। यो संख्यालाई भर्ना दर भनिए पनि परीक्षा आवेदन फाराम भरेको आधारमा संख्या निर्धारण गरिएको हो। 

२०७५/०७६ मा त्रिविअन्तर्गत विभिन्न संकाय र कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थामध्ये ५०० सय सामुदायिक, ६० आंगिक र ५८० निजी उच्च शैक्षिक संस्था रहेको युजिसीले जनाएको छ। 

आयोगका सदस्य सचिव प्रा. डा. अधिकारीले नेपालको उच्च शिक्षाको विकासका क्रममा बहुविश्वविद्यालय अवधारणापछि स्थापना गरिएको आयोगले नेपालमा स्थापित विश्वविद्यालयहरूको सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम समुचित तवरले वितरण गरी विश्वविद्यालयको शैक्षिकस्तर निर्धारण गरि गुणस्तरयुक्त शिक्षा प्रदान गन प्रोत्साहन दिने गरे पनि सोचे अनुसार उपलब्धि नभएको संकेत गरे। 

आयोगले नेपालमा विश्वविद्यालय स्थापनाको लागि सरकारकालाई परामर्श दिने लगायतका कार्यहरू गर्दै आईरहे पनि गुणस्तर सुधारमा भने अपेक्षित सुधार गर्न सकेको छैन। ‘उच्च शिक्षाको क्षेत्रमा थुप्रै समस्याहरू छन्, फेरि निराश हुनु पर्ने अवस्था पनि छैन,’ उनले भने। 

नेपालको उच्च शिक्षाको गुणस्तरमा केही कमजोरी पक्षहरू रहेको विषय संकेत गर्दै सुधारका कामहरू पनि भएको उनले बताए। 

‘बाहिरबाट हेर्दा जुनरूपमा सहज देखिन्छ, बुझिन्छ, पदीय जिम्मेवारीमा रहेर काम गर्दा उच्च शिक्षामा देखिएको समस्याहरू समाधान गर्न त्यति नै कठिन रहेको महसुस गरेको छु,’ सदस्य सचिव डा. अधिकारीले भने। 

उनका अनुसार त्रिविको शैक्षिक गुणस्तरलगायत समस्या धेरै र कठिन रहेको बुझ्न सकिन्छ।
 

कात्तिक २५, २०७७ मंगलबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।