कोरोना संक्रमितलाई घरमै निःशुल्क अक्सिजन 

कोरोना संक्रमितलाई घरमै निःशुल्क अक्सिजन 
विराटनगर महानगरपालिकामा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमा अक्सिजन सिलिण्डर पुर्याउन गएको टोलीसँगै मेयर भीम पराजुली (बायाँ)।

विराटनगर : कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै जाँदा विराटनगरका अस्पतालहरू संक्रमितले भरिएका छन्। अस्पतालमा भेन्टिलेटर खाली छैनन्। कसैलाई तत्कालै भेन्टिलेटर आवश्यक परे अस्पतालमा उपलब्ध हुने अवस्था छैन। 

भेन्टिलेटर अभावकै कारण धेरै जनाले ज्यानसमेत गुमाइसकेका छन्। संक्रमितका परिवारले भेन्टिलेटरको खोजीमा धेरै दौड धुपमात्रै गर्नुपरेको छैन, नेता र पहुँचवालालाई सोर्ससमेत लगाउनु परिरहेको छ। 

चारैतिरबाट भेन्टिलेटर नभएको गुनासो आइरहेपछि नेपाली कांग्रेस, विराटनगर महानगरसमितिका कार्यवहाक सभापति अरुण न्यौपानेको नेतृत्वको टोलीले घरमै अक्सिजनको सिलिण्डर पुर्याउने अभियान सञ्चालन गर्ने सोच बनायो।

त्यही सोच अनुसार टोलीले विराटनगरमा होम आइसोलसनमा बसेका संक्रमितलाई घरमै अक्सिजनको सिलिण्डर पुर्याउने अभियान थाल्यो।

कोरोना महामारीमा अक्सिजनको अभावले संक्रमितलाई समस्या नआओस् भन्ने उद्देश्यले संक्रमितको घरमै अक्सिजनको सिलिण्डर पुर्याउने अभियान चलाइएको न्यौपानेले बताए। 

न्यौपानेको समूह होम आइसोलेसनमा बसेका संक्रमितलाई अक्सिजनको आवश्यकता परे तत्कालै सिलिण्डर लिएर संक्रमितको घरमै पुग्ने गरेको छ।

हालसम्म कोरोना संक्रमित बिरामीका लागि ४० सिलिण्डर अक्सिजन बिरामीको घरमा पुर्याइसकेको कार्यवहाक नगरसभापति न्यौपानेले जानकारी दिए।

कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा र बिरामीलाई आवश्यक परेको अवस्थामा अक्सिजन सेवा उपलब्ध गराउँदै आएको न्यौपानेले बताए।

‘संक्रमितलाई समस्या भए हाम्रो पहिलो प्रयास अस्पताल नै लैजाने हो,’ उनले भने, ‘अस्पतालमा शैय्या नै नभएको खण्डमा घरमै सिलिण्डर पुर्याइदिने गरेका छौं।’  

अक्सिजन अभावमा संक्रमितका परिवारका सदस्यले अप्रिय घटनाको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ सहयोगी भूमिका निर्वाह गरेको न्यौपानेको भनाई छ। उनले भने, ‘अक्सिजन अभावले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले निःशुल्क अक्सिजन अभियान सञ्चालन गरिएको हो।’ 

उनले अक्सिजन घरमा पुर्याइदिने मात्रै हैन कोरोना संक्रमण भएका परिवारका सदस्यलाई अक्सिजनको प्रयोग गर्नेबारे जानकारीसमेत गराउँदै आएको बताए।

पछिल्लो समय विराटनगरमा संक्रमितको संख्या बढ्दै गर्दा भेन्टिलेटर र अक्सिजन अभावमा उपचारमा समस्या भइरहेको छ। निःशुल्क अक्सिजन अभियानमा  नेपाली कांग्रेस नगर समितिका सबैको सहयोग पाएको न्यौपानेले बताए।

निःशुल्क अक्सिजन अभियानलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेसमेत हौसला प्रदान गरिरहेका छन्। पराजुली न्यौपानेको टिमसँगै संक्रमितको घरमा अक्सिजनको सिलिण्डर लिएर धेरैपटक पुगिसकेका छन्।
 

कात्तिक २५, २०७७ मंगलबार ००:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।