विन्टर डाइरिया : जोखिममा बालबालिकाको ज्यान
काठमाडौं : जाडो मौसममा बालबालिकामा हुने झाडापखालाले ज्यानै जानसक्नेतर्फ चिकित्सक सजग गराउँछन्।
विशेषगरी ‘रोटा’ भाइरसको संक्रमणका कारण जाडो मौसममा झाडापखाला हुने काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्। डा. पुनले भने, ‘समयमा नै उपचार नपाए यो भाइरसले ज्यानै नलैजाला भन्न सकिन्न।’
चिकित्सकको मत अनुसार रोटा भाइरसकै कारणले मृत्यु नहुने भए पनि यसबाट उत्पन्न स्वास्थ्य समस्याले ज्यान जान सक्छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. गेहनाथ बराल पनि यो भाइरसका कारण बेलैमा उपचार नपाउँदा मृत्युको जोखिम हुने बताउँछन्। उनले भने, ‘रोटा भाइरस भएर मात्रै त मृत्यु हुँदैन। झाडापखाला हुँदा शरीरमा पानी पुग्दैन। सपोर्टिभ ट्रिटमेन्ट नहुँदा मृत्यु हुनसक्छ।’
त्यसो त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे पनि हेल्चेक्रेयाइँ गरेको खण्डमा यो भाइरसका कारण ज्यानै जानसक्नेतर्फ सजग गराउँछन्। डा. पाण्डे पनि रोटा भाइरसकै कारणले मृत्यु हुने नभई यसबाट निम्तने जटिलताका कारण ज्यान जान सक्ने बताउँछन्।
के हो ‘विन्टर डाइरिया’ ?
जाडोमा हुने झाडापखालालाई ‘विन्टर डाइरिया’ का नामले चिनिन्छ। यस्तो झाडापखालालाई ‘कोल्ड डाइरिया’समेत भनिन्छ। डा. पुन मुख्यगरी जाडो मौसममा विश्वभर नै रोटा भाइरसले गर्दा झाडापखाला बढ्ने बताउँछन्।
चिकित्सकका अनुसार रोटा भाइरसका विभिन्न समूहका हुन्छन्। ‘समूह ‘ए’ रोटा भाइरसको संक्रमणका कारण विशेषगरी बालबालिकाहरूलाई झाडापखाला हुन्छ,’ डा. पुनले भने, ‘समूह ‘बी’ले वयस्क व्यक्तिमा झाडापखाला हुन्छ।’
समूह ‘बी’लाई वयस्क रोटा भाइरस पनि भनिने गरेको चिकित्सक बताउँछन्। समूह ‘ए’ रोटा भाइरस वयस्क व्यक्तिमा समेत हुने भए पनि असर भने कम देखिन्छ।
डा. बराल पनि वयस्क व्यक्तिको तुलनामा बालबालिकालाई नै बढी रोटा भाइरसले सताउने बताउँछन्। उनले भने, ‘जाडो मौसममा यो भाइरस सक्रिय हुने भएकाले बालबालिकालाई झाडापखालाले बढी सताउँछ।’
चिकित्सकका अनुसार सामान्यतः ब्याक्टेरिया, प्रोटोजोवा नभएको अवस्थामा रोटा भाइरसका कारण झाडापखाला हुन्छ। कुनै रोगको जटिलता निम्तिएर पनि झाडापखाला हुन्छ। झाडापखाला हुने कारणको मात्रै कुरा गर्दा ब्याक्टेरियल, प्रोटोजोल र भाइरलका कारण झाडापखाला हुन्छ। ‘जाडोमा भाइरल डाइरिया बढी हुन्छ,’ डा. बरालले भने, ‘गर्मीमा ब्याक्टेयिरयल र प्रोटोजोल बढी हुन्छ।’
बच्चालाई जोखिम
रोटा भाइरसको संक्रमणका कारण विशेषगरी पाँच वर्ष मुनिका बालबालिकामा मृत्युको जोखिम हुन्छ। डा. बराल बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यो भाइरसले बढी सताउने बताउँछन्।
तर, बालबालिकको उमेर बढ्दै जाँदा रोगप्रतिरोधात्मक क्षमता पनि बढ्छ। जति वयस्क हुँदै गयो त्यति नै रोटा भाइरसका कारण उत्पन्न हुने झाडापखाला पनि कम हुँदै जाने डा. पुनले बताए। चिकित्सकका अनुसार बालबालिका (बच्चा)मा पहिलो पटक रोटा भाइरसको संक्रमण हुँदा कडा हुन्छ। त्यसैले साना बच्चालाई यो भाइरसले बढी सताउँछ। त्यसैले झाडापखाला दोहोरिँदै जाँदा असर पनि कम हुँदै जाने चिकित्सकको मत छ।
डा. पुन एसियाली मुलुकमा भएका अनुसन्धानलाई आधार मान्दा पाँच वर्ष मुनिका बालबालिकामा जाडो मौसममा हुने झाडापखालाको मुख्य कारण रोटा भाइरस भएको पाइएको बताउँछन्। उनले भने, ‘पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको झाडापखालाले मृत्यु हुने कारणमध्येमा रोटा भाइरस प्रमुख कारण हो।’
जाडो मौसममा झाडापखाला भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना भएका पाँच वर्षभन्दा कम उमेरका बालिबालिकामध्ये ५० प्रतिशत बालबालिकामा रोटा भाइरसकै कारण झाडापखाला भएको पाइएको चिकित्सक बताउँछन्।
त्यसो त नेपालमा जाडो मौसममा झाडापखाला भइ उपचारका लागि अस्पताल पुग्ने पाँच वर्षमुनिका बालबालिकामध्ये करिव ३३ प्रतिशतमा रोटा भाइरसको संक्रमण देखिएकोे डा. पुनले बताए। उनले भने,‘सन् २०१० तिर मैले गरेको एक अनुसन्धानले नेपालमा रोटा भाइरसको संक्रमण भएको पत्ता लागेको थियो।’
खेलौनाबाट सर्छ
रोटा भाइरस सामान्यतः दिसाको माध्यमबाट सरेर अर्को व्यक्तिमा संक्रमण हुन्छ। संक्रमित बालबालिकाले दिसा लागेको हातले कुनै खाद्यपदार्थ तथा वस्तु छोएको हुन सक्छ। संक्रमितले छोएको त्यस्तो वस्तु तथा खाद्यपदार्थ अर्को व्यक्तिले छोएको हातले खाँदा भाइरस सर्ने जोखिम हुने चिकित्सक बताउँछन्। संक्रमित व्यक्तिले छोएको भाँडाकुँडामा खाँदा पनि भाइरस संक्रमणको जोखिम हुने भएकाले भाँडाकुँडा राम्रोसँग सफा गरेर मात्रै खाना डा. पुनको सुझाव छ।
संक्रमित बालबालिकाले खेल्ने खेलौनाका माध्यमबाट समेत रोटा भाइरस सर्ने भएकाले विद्यालय जाने बालबालिकालाई विशेष ख्याल गर्नुपर्ने डा. बरालको सुझाव छ। संक्रमित बालबालिकाले दिसा छोएकै हातले खेलौना खेल्न सक्छन्, जसले खेलौनामा भाइरस टाँसिन्छ।
अर्को बालबालिकाले त्यस्ता भाइसस टाँसिएका खेलौना समाउने तथा मुखमा हाल्दा भाइरस सर्ने जोखिम उच्च हुने भएकाले विद्यालय जाने साना बालबालिकाको हेरचाहमा निकै सचेत हुनुपर्नेतर्फ डा. पुन पनि सजग गराउँछन्। संक्रमित बालबालिका एकै ठाउँमा खेल्दा पनि संक्रमणको जोखिम हुने भएकाले झाडापखाला लागेका र नलागेका बालबालिकालाई एकै ठाउँमा नखेलाउनु उचित हुने चिकित्सकको सुझाव छ।
यो भाइरस हावाबाट समेत सर्न सक्छ। यो भाइरस सक्रिय भएको अवस्थामा हावाबाटसमेत व्यक्तिमा सरेर झाडापखालाको जोखिम हुनेतर्फ डा. पुन सचेत गराउँछन्।
यस्ता छन् लक्षण
रोटा भाइरसको संक्रमण भएको अवस्थामा तारन्तार झाडापखाला हुने तथा बान्ता हुने जस्ता लक्षण देखिन्छन्। पानीजस्तो पातलो झाडापखाला हुने डा. पाण्डे बताउँछन्। विशेषगरी बालबालिकामा यस्तो समस्या हुँदा शरीरमा पानीको मात्रा कम हुन्छ। शरीरमा पानीको मात्रा कम हुँदा शारीरिक अंगले काम नगर्ने स्थिति उत्पन्न हुन्छ, जसले मृत्युसमेत हुनसक्नेतर्फ चिकित्सक सजग गराउँछन्। चिकित्सकीय भाषामा शरीरमा पानीको मात्रा कम हुने अवस्थालाई ‘सिभियर डिहाइड्रेसन’ भनिन्छ।
स्वास्थ्य संस्थासम्मको पहुँचबाट टाढा हुने बालबालिका झाडापखालाका कारण मृत्युको जोखिममा बढी हुने भएकाले यस्तो समस्या भए समयमै उपचार गर्न चिकित्सकको सुझाव छ।
न्यानो कपडा र स्तनपानमा जोड
बालबालिकालाई चिसोबाट जोगाउनु नै रोटा भाइरसबाट बच्ने मुख्य उपाय भएको चिकित्सकको मत छ। चिसोका कारण भाइरस सक्रिय भएर झाडापखाला हुने भएकाले बालबालिकालाई चिसोबाट जोगाउनुपर्नेतर्फ डा. बराल जोड दिन्छन्।
यो भाइरसबाट बच्नका लागि विशेषगरी साना बालबालिकालाई न्यानो कपडा लगाइदिने, चिसोमा नराख्न उनको सुझाव छ। प्रदूषित खानपानका कारण समेत यो भाइरसको जोखिम हुने भएकाले खान सफा र स्वस्थकर हुनुपर्छ।
आमाले स्तनपान गराउँदा यो भाइरस लाग्ने जोखिम पनि कम हुने डा. पाण्डे बताउँछन्। उनले भने, ‘आर्टिफिसियल फिडिङ गर्दा समस्या बढ्छ।’
आमाको दुध खुवाउँदा बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढ्छ। त्यसैले कृत्रिम रूपमा तयार गरिएको बट्टामा हालेर दुध खुवाउनुको सट्टा स्वयं आमाले नै स्तनपान गराउनु नै लाभदायक हुने डा. पाण्डेको सुझाव छ।
छैन विशेष उपचार
चिकित्सकका अनुसार यो भाइरस संक्रमण भएको अवस्थामा विशेष उपचार छैन। तर, लक्षण अनुसारको उपचार गरिन्छ।
पानी पिउन नसेकेको अवस्थामा स्लाइन पानी पनि दिइन्छ। झाडापखाला भएको अवस्थामा शरीरमा पानीको मात्रा कम हुने भएकाले जीवनजल सेवन गर्न चिकित्सक सुझाउँछन्। त्यसैगरी ज्वरो आएको खण्डमा ‘प्यारा सिटामोल’ प्रयोग गरिन्छ। डा. बरालले भने, ‘डाइरिया भए जीवनजल दिइन्छ। ज्वरो आए ‘प्यारा सिटामोल’ दिइन्छ। स्लाइनको पनि प्रयोग गर्न सकिन्छ।’
शरीरमा पानीको मात्रा कम भएको अवस्थामा मृत्युको जोखिम हुने भएकाले प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउन चिकित्सकको सुझाव छ। झाडापखाला भएको अवस्थामा बच्चाले इच्छाएको स्वस्थकर खानपानमा जोड दिनुपर्छ। खाना तथा वातावरणीय प्रदूषणबाट जोगाउनुपर्छ । डा. पुन रोटा भाइरसका कारण संक्रमण हुँदा करिव एक साता झाडापखालाजस्तो समस्याले सताउने उनी बताउँछन्।
खोप पो लाउने की !
रोटा भाइरसबाट बच्न तथा मृत्यु कम गर्नका लागि खोप प्रयोग गर्न सकिने चिकित्सक बताउँछन्। रोटा भाइरसविरुद्ध लड्नका लागि नेपालमा समेत खोप (भ्याक्सि) भित्रिएको छ। निर्देशक डा. पाण्डेका अनुसार गत वर्षबाट नेपालमा खोप भित्रिएको हो। ‘नेपालमा खोप भित्रिसकेको छ,’ डा. पाण्डेले भने, ‘सबै क्षेत्रमा खोप विस्तार हुने क्रममा छ।’
पाँच वर्षभन्दा कम उमेरका बालबालिमा रोटा भाइरसविरुद्धको खोप दिए यो भाइरसबाट बच्न सकिने डा. पुन बताउँछन्। ‘रोटा भाइरस विरुद्धको खोप लगाउँदा यो भाइरसविरुद्ध लड्ने क्षमताको विकास हुन्छ,’ डा. पुनले भने, ‘खोप लिएको अवस्थामा बालबालिकामा संक्रमण भइहाल्यो भने पनि कडारूपमा भाइरस प्रस्तुत हुँदैन।’ यसबाट झाडापखाला तथा बान्ताको जोखिमबाट बच्न सकिन्छ।
कात्तिक २४, २०७७ सोमबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।