दाताको सहयोगले छाक टार्दै विदेशी खेलाडी
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण खेल गतिविधि बन्द भएसँगै नेपालमा बसिरहेका विदेशी खेलाडीहरू आर्थिक मन्दीका कारण बिहान बेलुकाको छाक टार्न मुस्किल अवस्थामा रहेको खबर धरानका मेजेन नाम्दुङराईले सामाजिक सञ्जाल फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’मार्फत थाहा पाए।
त्यो खबर थाहा पाएपछि भोेकका विरुद्ध खरो उत्रिरहेका राईको मन अमिलो भयो। त्यसपछि उनी विदेशी खेलाडीलाई भेट्न ठमेलको नर्सिङ चोक पुुगे। ठमेलस्थित नर्सिङ चोकमा १२ जना विदेशी खेलाडी एक छाकको भरमा बस्दै गरेको देखेर राई भावुक भए।
‘पहिलेदेखि केही विदेशी खेलाडी साथीहरू चिनजान थियोे। उनीहरूसँग कुरा गर्दै जाँदा २८ जना साथीहरू एक छाकको भरमा दिन कटाउँदै छन् भन्ने थाहा पाएँ,’ राई थप्छन्, ‘हाम्रा दाजुभाइ दिदिबहिनी विदेशमा अफ्ठेरोमा परेको देख्दा, सुन्दा हामी भक्कानिन्छौं। ती विदेशी खेलाडीको पनि त परिवार हाम्रोजस्तै रोइरहेका होलान् भन्ने लाग्यो। र, मैले कम्तिमा ६ महिनासम्म दाल, चामल, नुन, तेलको व्यवस्थापन गर्ने जिम्मा लिएको हुँ।’
राई कोरोना महामारीका कारण रोजीरोटी गुमाएका निम्न वर्गका व्यक्तिहरूलाई निःशुल्क खाना खुवाउने अभियानमा विभिन्न संस्था तथा टिमसँग सहकार्य गरिरहेका थिए। ‘विभिन्न टिमका साथीभाइहरू निकै दुःख गरेर खटिरहनुभएको थियो। म पनि उहाँहरूसँगै सहकार्य गर्दै थिएँ। साथीभाइलाई बोझ नथपौ भन्ने मनमा आयो। ती विदेशी खेलाडीलाई बाँच्नको लागि मात्र चाहिने सामग्री जुटाउन सक्छु भन्ने लाग्यो,’ उनी भन्छन्।
त्यसपछि राईले आफै २८ विदेशी खेलाडीलाई खानाको जिम्मा लिए। ‘सामाजिक सञ्जालमा मेरो विजनेस एकाउन्टको राम्रो छाप छ। मैले त्यसको प्रयोग गरेर विदेशी खेलाडी देश नफर्कुन्जेललाई भान्साको आधारभुत आवश्यकता पूरा गर्न सक्छु भनेर आँट गरेको हुँ,’ उनी सुनाउँछन्।
‘गसिप नेपाल’ नामक अनलाइन बिजनेस एकाउन्टमा सहयोगको अपिल गर्दै २८ खेलाडीको बिहान बेलुकाको छाक टार्न अहिलेसम्म सफल भइरहेका उनी कोरोनाकालमा कोही भोको बस्नु नपरोस भन्ने आफ्नो मनसाय रहेको बताउँछन्। ‘कोही भोको बस्न नपरोस् भन्ने मनसायले मात्र म स्वयंसेवक भएर काम गर्दैछु,’ उनले भने।
भौतिक संरचनाको विकास तथा अन्य देश बनाउने कार्य गरेर सामाजिक अभियन्ता बन्ने सोचाइ नरहेको बताउने राई पछिलो साढे दुई महिनादेखि २८ जना विदेशी खेलाडीको भान्साका सारथि बनेका छन्।
‘मैले उनीहरूको ठाउँमा आफूलाई राखेर हेरें। कुनै बेला म आफै विदेशिने सोचाईमा थिएँ। भाग्यले भिसा लागेन र आज यस्तो परिस्थितिमा भोक मार्ने काम गर्न पाउँदै छु,’ उनी भन्छन्।
धरानमा जन्मिएका राई कुनै बेला आफै विदेशिने तयारीमा थिए। विदेशिने सपना साकार नभएकोमा उनी निकै खुसी छन्। तर, त्यतिबेला उनी दुःखी थिए। ‘भिसा लागेन, यहाँ बसेर के गर्ने भन्ने नै थाहा थिएन। म त बडो अन्यालमा पो थिए त।’
त्यसपछि बिना कुनै योजना राईले नेपालमा नै बसेर केही गर्ने अठोट कसे। तर गर्ने के ? अझै उनी प्रष्ट भने थिएनन्। ‘विदेश जान खोजेको थिएँ, त्यो मिलेन। विस्तारै, यही पो केही गर्नु पर्छ कि भन्ने सोच आउन थाल्यो।’ राई थप्छन्, ‘राजनीतिक परिवारको मान्छे म, सामाजिक काममा रुचि पहिल्यैदेखि थियो।’
‘सन् २००८ तिर विदेशिने लहर नेपालमा धेरै थियो, आज पनि छ। नेपालमा नै बसेर राम्रो गर्ने मान्छेहरूको कथा खोजी गर्दा, विदेशिन्छु भन्ने युवाको सोचाई फेर्न सकिन्छ कि भन्ने सोचें,’ उनी सुनाउँछन्। त्यसपछि राई समाजमा सफलताको कथा खोज्दै हिँड्न थाले।
देशका कुनाकाप्चा चहार्दै सफलताको कथा खोज्नु त्यसपछि उनको दिनचर्याजस्तै बन्यो।
‘सफलताको कथा खोज्दा खोज्दै सामाजिक कार्यमा भिज्न थालेछु,’ राई भन्छन्, ‘सफलताको कथा देखाउन मैले सामाजिक सञ्जालहरूको प्रयोग गरे। आज पनि म त्यसको प्रयोगले दुःखीसम्म दातालाई पुर्याउने मध्यस्थकर्ता भएको छु।’
राई युट्युबरसमेत हुन्।
आफूलाई सामाजिक अभियन्ता भन्न नरुचाउने राई विदेशी खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छन्। ‘नेपालका क्लबहरूको पनि राम्रो आर्थिक अवस्था छैन, हाम्रा स्थानीय खेलाडीहरूको पनि अवस्था नाजुक छ,’ खेलाडी तथा क्लबलाई दोष दिइरहनुमा त्यति तुक नभएको बताउने राई भन्छन्, ‘ए डिभिजन लिग खेल्ने बाहेकका खेलाडीलाई खेलाडी नै मान्दैनन्। बि डिभिजन, सि डिभिजन खेल्ने हाम्रा खेलाडीको पनि हालत यी विदेशी खेलाडीको भन्दा कमजोर छ। तर, उनीहरू देशमा छ्न्, जसोतसो बाँच्न सक्छन्।’
देशमा रहेर समस्या भोग्न विवस खेलाडीहरू भएको ठाउँमा विदेशी खेलाडीको आधारभुत आवश्यकतामा धेरैको ध्याान नजाने भएको कारण आफूले बाँच्नको लागि आवश्यक आधारभुत रासनको व्यवस्थापनको जिम्मा लिएको बताउने राई गुनासो पोख्दै भन्छन्, ‘त्यहीमाथि यी त झन् विदेशी खेलाडी, यिनलाई कसले हेर्छ र? राज्यको ताल त्यही हो, एन्फालाई घोटला गर्दैमा फुर्सद छैन।’
न्युनतम ४५ हजारदेखि अधिकतम १ लाख २५ हजार रूपैयाँसम्म मासिक आम्दानी गर्ने विदेशी खेलाडीहरू अलि मोजमस्तीमा बढि झुकाव राख्ने भएको कारण पनि अहिले आर्थिक समस्या भोग्नु परिरहेको हो भन्ने राईको बुझाई छ। विदेशी खेलाडीलाई घर फर्कन आर्थिक तथा नैतिक सहयोग गर्दै आएका राई भन्छन्, ‘तीन जनालाई हामीले सहयोग गरेर उनीहरूको देश पठायौं। अब केही दिनमा केही खेलाडी देश फर्कदैछन्।’
कमाउन आएका खेलाडीहरू खाली हात देश नफकिऊन भनेर राई सबैलाई स–सानो उपहारले बिदाई गर्ने गरेको बताउँछन्।
‘हामी पो देशमा छौं, कमसेकम भोलि नेपाल सम्झिँदा नराम्रो नलागोस् न उनीहरूलाई पनि।’ अपिÞ्रmकी मुलुकका खेलाडीको वर्चश्व रहेको नेपाली फुटबल क्लबले अफ्ठेरो अवस्थामा विदेशी खेलाडीको महत्त्वलाई बिर्सन खोज्नु राम्रो पक्ष नभएको राई बताउँछन्।
‘हिजै मात्र हामीले क्यामरुनका खेलाडी ड्याडी वाम्बाको लागि ८७ हजार रूपैयाँ सहयोग जुटायौँ,’ उनी थप्छन्, ‘विदेशीको कोही छैन भनेर हामी सहयोग गर्छौं। तर, उनीहरू आफ्नो स्वार्थ पूरा हुनेबित्तिकै फेरिन्छन्,’ विदेशीलाई जति अपनत्व दिए पनि आफ्नोजस्तो कहिल्यै नहुने राईको अनुभव छ।
त्यस्तै, विदेशी खेलाडीहरू भने अब सहयोगको आश गर्न छाडेको बताउँछन्। क्यामरुनका ड्याडी वाम्बा जावलाखेल क्लबबाट व्यावसायिक फुटवल खेल्छन्। ‘मैले निकै पटक नेपालका विदेशी खेलाडी संयोजक सुगन तन्डुकारलाई आफ्नो समस्या बताएको छु,’ उनले भने।
उनले चिनेजानेका सबैलाई सहयोगको लागि अपिल गरेको समेत बताउँछन्। ‘म घर फर्कन चाहान्छु। तर, मसँग फर्कन पैसा छैन। नोभेम्बर १० मा मेरो फ्लाइट छ। तर, मसँग उड्नका लागि आवश्यक पैसा थिएन। तर, मिजेन दाइले मात्र जुटाइदिनु भयो।’
उनी विभिन्न मिडियामा आर्थिक सहयोगका लागि अपिल गर्दा पनि कसैको सहयोग नपाएको गुनासो सुनाउँछन्।
यस्तै समस्या सबै बिदेशी खेलाडीको रहेको मनाङका फोलोरेन्ट कोरा बताउँछन्। ‘हामीले आवद्व क्लबदेखि फुटबलसम्बन्धी सबै सरकारी संस्थाहरूमा समस्या सुनायौं,’ उनी भन्छन्।
तर, कसैले सहयोग नगरेको उनी बताउँछन्। ‘हामी भोको हुँदा मिजेन दाइले भान्साको सामान दिए। र अर्को एक संस्थाले कहिलेकाही चिकेन खानको लागि सहयोग गरेको छ। त्योबाहेक हामीलाई कसैको कुनै सहयोग छैन,’ उनले भने।
एन्फा र क्लबले सहकार्य गरेर घर फर्किने वातावरण बनाओस भन्ने आश सबै विदेशी खेलाडीको रहेको बताउँदै कोरा भन्छन्, ‘नेपाल हाम्रो कर्मभूमि हो। हामीलाई पनि यो देशको माया छ। तर, हामीलाई दुःखमा कसैले सहयोग गरेनन्।’
‘घरधनीले हरेक दिन भाडा माग्दै आउँछन्। हामीसँग भएको पैसा सकियो। आफ्नो देशबाट पैसा मगाएर बस्न सक्ने अवस्था पनि छैन,’ सरस्वती क्लबमा आवद्व क्यामरुनका ब्राटेल्मी इक्युम विदेशी खेलाडीको सामूहिक पीडा सुनाउँछन्।
‘नेपालमा बस्न र खान मात्र सहज वातावरण हुदा पनि विदेशी खेलाडीलाई धेरै सहज हुने थियो,’ सामाजिक अभियन्ता राई भन्छन्, ‘हाम्रै देशका क्रिकेट खेलाडीलाई पनि दाल, चामल दिँदै आएका छौं। आफ्नै खेलाडीलाइ त नहेर्ने राज्य संयन्त्रको आश गरेर विदेशी खेलाडीलाई यही बस भन्न पनि गाह्रो छ।’
हिमालयन शेर्पाका स्टोफन समी खान बस्नको मात्र सुविधा भए विदेशी खेलाडीहरूलाई नेपालमा रहन समस्या नहुने बताउँछन्। ‘हामीसँग अरु काम गर्न सीप छैन, नेपालीले रोजगारी गुमाइरहँदा हामीले रोजगारी पाउने सम्भावना हुन्न,’ उनी थप्छन्, ‘घर फर्काउन सम्बन्धित निकायले पहल गरिदिए विदेशी खेलाडीको उद्दार हुन्थ्यो।’
तर, विदेशी खेलाडीका नेपाल संयोजक सुगन तण्डुकार विदेशी खेलाडीहरूले भनेजस्तो खानै नपाएर भोकै बस्नु पर्ने अवस्था नभएको बताउँछन्। ‘हामीले लिग खेल्न ल्याएकाहरूलाई पठाएका छौं। पठाउँछौं पनि,’ उनी थप्छन्, ‘११ जना विदेशी खेलाडी फर्किन बाँकी छन् ! सबै खेलाडीको जिम्मा लिन एन्फाले नि सक्दैन र क्लबले पनि।’
लकडाउनपछि एन्फाले घर फर्किन चाहनेलाई फर्काउन खोज्दा ६ खेलाडी मात्र फर्किन चाहेका कारण अहिले उनीहरू समस्यामा परेको तणडुकार बताउँछन्। ‘हामीले लकडाउनपछि सबैलाई सोधेका हौं। हामी आफ्नै सुरले बस्छौं भनेर त्यतिबेला गएनन्। अनि कति घुम्न बसेका छन्। सबैको जिम्मा लिन हामी सक्दैनौं। लिगका लागि आएका र जान बाँकीलाई पठाउन एन्फाले केही उपाय सोच्छ भनेको छ।’
तण्डुकार खेलाडीको आफ्नै रहरले आर्थिक मन्दी भोग्नु परिरहेको बताउँछन्। ‘क्लबसँग कन्ट्याक्टमा भएका विदेशी खेलाडीलाई क्लबले पनि हेरिरहेकै छ। कट्याक सकिएकालाई त क्लबले पनि के गरोस्? त्यसैले, खान नपाएर मर्ने अवस्था आयो भन्नुमा तुक छैन। विभिन्न दाताहरूले सहयोग गरिरहनु भाको छ। एन्फाले पनि दाल चामल लगायत सहयोग गरेकै हो,’ तण्डुकार भन्छन्, ‘फ्री भिसामा रोमान्स गर्दै डिसेम्बरसम्म बस्न पाइन्छ भनेर बसे। अहिले अब भिसा सकिने बेला भो। भिसा थप्न पैसा भएन। खेल गतिविधि बन्द छ। उतिबेला मोजमस्तीमा रम्न घर नफर्की बसे। अनि एकोहोरो हामीलाई दोष दिएर मात्र हुन्छ र?’
कात्तिक २४, २०७७ सोमबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।