ठप्प ठमेल !

ठप्प ठमेल !

काठमाडौं : सामान्य अवस्था हुन्थ्यो भने यो समय ठमेलमा पर्यटक खचाखच हुन्थे। पर्यटकको सत्कारमा व्यावसायीलाई भ्याइनभ्याई हुन्थ्यो। 
 

पदयात्रा तथा हिमाल आरोहणको सबैभन्दा उपयुक्त मानिने यो सिजन (सेप्टेम्बर, अक्टोवर र नोभेम्बर)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिनित्रे पर्यटक ठमेल आउने गर्थे।  

तर, अहिले ठमेल ठप्पजस्तै अवस्थामा छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण पर्यटनमा मुख्य सिजनका रूपमा रहेको यो समयमा ठमेलको पर्यटकीय गतिविधि बन्द भएको हो। 

लकडाउन तथा निषेधाज्ञा अन्य क्षेत्र खुल्दै गए पनि ठमेलमा न आन्तरिक पर्यटनको चहलपहल छ न त विदेशी पर्यटकको। विदेशी पर्यटक मात्रको भरमा चल्ने ठमेलमा व्यापार व्यवसाय ठप्प भएपछि केही व्यापारी पसल बेच्ने मनस्थितिमा छन्। ती व्यापारीले पसल बिक्रीका लागि सटरमा ‘टु–लेट’ लेखिएको सूचना टाँसेका छन्। जबकी त्यहाँ कुनै समय सटर भाडामा समेत पाउनै मुस्किल हुन्थ्यो। 

ठमेलमा दिनको मात्रै होइन, रातको चहलपहल पनि देखिँदैन। राति ९ बजेदेखि पसल बन्द गर्ने निर्देशनका कारण ठमेल रात्रिकालीन व्यवसाय ठप्पजस्तै अवस्थामा छ। 

निषेधाज्ञा खुलेसँगै यहाँका पसल खुलेका छन्। तर, व्यवसाय ठप्प छ। व्यावसायीलाई एकातिर व्यापार नहुनुको चिन्ता छ भने अर्कोतर्फ पर्यटनको भविष्य के हुने हो भन्ने अन्योल। 

लामो समयदेखि पानारोमा ट्रेकिङ सप सञ्चालक गर्दै आएका टंक जिसी व्यापार नहुँदा समस्यामा परेको बताउँछन्। ‘बिहान बेलुका पसल खोलेर हावा खुवाउने काम मात्रै छ। धेरै व्यावसायी पलायन भएका छन्। केही पसल छाड्ने क्रममा छन्। खै अब कतिसम्म टिकिन्छ,’ उनी निरास हुँदै भन्छन्। 

७ सयभन्दा बढीले छाडे

कोरोना महामारीका कारण कति व्यावसायी पलायन भए भन्ने  स्पष्ट तथ्यांक छैन। तर, घरधनी र व्यावसायीबीच भाडा समायोजन लगायतका विषयमा समन्वय गर्दै आएको ठमेल पर्यटन विकास परिषद्ले तयार पारेको तथ्यांक अनुसार दसैं अघिसम्म ७ सयभन्दा बढी टुर ट्राभल्स, ट्रेकिङ कम्पनी, ट्रेकिङ सप लगायतका व्यावसायीले ठमेल छाडेका छन्। 

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको असर सबैभन्दा बढी असर पर्यटक क्षेत्रमा परेको मानिन्छ। पर्यटनले पुरानै लय लिने अनिश्चितता कारण व्यावसाय सञ्चालनमा ल्याएका व्यापारी पनि पलायनको स्थितिमा पुगेका छन्। कतिपयले वैकल्पिक व्यवसायमा समेत हात हालिसकेका छन्। 

के होला ६ खर्बभन्दा बढीको लगानी ?

मुख्यतः पर्यटन व्यवसायलाई लक्षित गरी ठमेलमा ६ खर्बभन्दा बढीको पूर्वाधारमा  लगानी छ। मुख्य ठमेल क्षेत्रमा चारतारे, तीनतारे लगायतका १६७  होटल, १८ सयको हाराहारीमा ट्राभल, ट्रेक तथा कार्गो अफिस, दुई सयभन्दा बढी रेस्टुरेण्ट एण्ड बार, नाइट क्लब, पब, दोहोरी र साना रेस्टुरेण्ट रहेको परिषद्को तथ्यांक छ।

त्यस्तै, ह्याण्डिक्राफ्ट, कार्पेट तथा अन्य साना पसल गरी दुई हजारको संख्यामा पसलहरू छन्। सरकराले घोषणा गरेको ‘भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरेर लगानी गर्ने क्रमले तीव्रता पाएको थियो। तर, भ्रमण वर्ष कोरोना महामारीका कारण स्थगित गरिएसँगै लगानी जोखिममा परेको छ।

जोखिममा ३० लाखको रोजगारी 

ठमेलमा ६५ सय व्यावसायीले विभिन्न प्रकारका व्यावसाय सञ्चालन गर्दै आएको तथ्यांक छ। यसबाट प्रत्यक्षरूपमा ९० हजार र अप्रत्यक्षरूपमा ३० लाखले रोजगारी पाउने गरेको तथ्यांकले देखाउँछ। 

उसो त नेपालको पर्यटकीय गतिविधि ठमेलबाट सुरु भएर देशभर फैलने गर्छ। यसले पर्यटनमा आश्रित लाखौं पर्यटन मजदुरको भविष्य के हुन्छ भन्ने चिन्ता यसले जन्माएको छ। 

‘सरकारले चासो दिएन’

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष तथा हिमालयन थान्का हाउसका सञ्चालक राजुमान डंगोल कोभिडका कारण चौविसै घण्टा चल्ने ठमेल अहिले मसानघाट जस्तो भएको बताउँछन्। यस्तो अवस्थामा पर्यटन क्षेत्रलाई जोगाउन सरकारले उपयुक्त कदम चाल्न नसकेको उनको आरोप छ। 

सरकारले सावधानीसहित एराइभल, विजनेस र पर्यटन लगायतका भिसा खुला गरेर पर्यटन आउने वातावरण बनाउनुपर्ने उनी बताउँछन्। ‘पर्यटक आउन तयार छन्। अहिलेकै अवस्थामा पनि सुरक्षा सावधानी अपनाएर रातको समयमा १२ बजेसम्म ठमेललाई खुला राख्न दिनुपर्छ,’ उनी भन्छन्।

ठमेलका स्थानीयसमेत रहेका डंगोल व्यावसायी पलायन भएका नभइ स्थानान्तरण भएको जिकिर गर्छन्। पहिलो तलामा रहेर व्यावसाय गर्ने ट्रेकिङ, टुर लगायतका व्यावसायीहरू ठमेल छाडेर घरबाटै व्यावसाय गर्न थालेका उनको भनाइ छ।

मारमा होटल र रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसायको पहिचान बनाएको ठमेलका होटल व्यावसायी र रात्रिकालीन व्यवसाय गर्दै आएकाहरू मारमा परेका छन्। व्यापार नहुँदा महँगो भाडा तिर्न समस्या पर्दै आएको उनीहरू बताउँछन्। 

डान्स बार, क्लब तथा विभिन्न प्रकारका रात्रिकालीन व्यवसायलाई सरकारले अझै खोल्ने अनुमति दिएको छैन। व्यापारको अनिश्चितताका कारण ती व्यावसायी मारमा परेका छन्। 

ठमेलको पकनाजोलमा डिलाइट होटलका सञ्चालक जनक पाण्डे पनि पर्यटन क्षेत्र पुरानै अवस्थामा आउने समय लाग्ने भएकाले पलायनको अवस्था आएको बताउँछन्। ‘पर्यटक नआउँदा भाडा मात्र तिरेर टिक्ने अवस्था छैन,’ पाण्डे भन्छन्।

‘पर्ख र हेर’को स्थिति

परिषद्का उपाध्यक्ष तथा भविश्वर शर्मा व्यावसायी पलायन हुने क्रम नरोकिएको बताउँछन। लकडाउनपछि घरधनी र व्यावसायीबीच पहिलो चरणमा भाडा समायोजनका विषयमा सहमति भए पनि व्यवसायको अनिश्चितताका कारण भाडा तिर्न नसक्ने अवस्था आएको उनी बताउँछन्।

‘पहिलो चरणमा घरभाडा छुटको विषयमा सहमति जुटेको थियो। तर, व्यावसायीहरू त्यो भाडा पनि तिर्न नसक्ने स्थितिमा पुगेका छन,’ उनी भन्छन्, ‘अधिकांश स्थानमा ‘टु–लेट’का सूचना टाँसिएका छन्। दसैंपछि घर गएका व्यावसायी फर्किएका छैनन्। उनीहरु पनि पर्ख र हेरको स्थितिमा छन्।’ 

कात्तिक २३, २०७७ आइतबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।