लुम्बिनीमा मौलिकता झल्कने विहार बन्दै
भैरहवा : नेपाली परम्परागत तथा बौद्ध मौलिक कला–संस्कृति झल्कने गरी बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट नेपाली विहार बनाइँदैछ। नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाविहार निर्माण गरिरहेको हो।
नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाविहार निर्माण गरिरहेको हो। जनस्तरबाट सहयोग रकम संकलन गरी नेपालीहरुकै लागतमा मौलिक कलासंस्कृति झल्कने गरी लुम्बिनीमा बनिरहेको यो नेपाली विहार पहिलो हो।
‘लुम्बिनीमा दर्जनभन्दा बढी विहार भए पनि सबै विहारमा विदेशी लगानी छ। नेपालीहरूको मात्रै लगानी छैन। अर्कातर्फ ती विहारहरूमा नेपाली मौलिकता झल्कँदैन। विदेशी लगानी रहेपछि उनीहरूले आफ्नै देशको कलासंस्कृति झल्कने गरी विहार बनाएका छन्। त्यसैले हामीले आफ्नै देशको कलासंस्कृति र परम्परा झल्कने विहार बनाइरहेका छौं,’ संस्थाका उपाध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन मानिकरत्न शाक्यले भने।
२०६८ सालमा लुम्बिनी विकास कोषबाट जग्गा प्राप्त भएपछि विहार निर्माण सुरु गरिएको हो।
बुद्ध धर्ममा भिक्षुहरू बस्ने स्थानलाई विहार भनिन्छ। त्यस्तै, किसिमका विहारको प्रारम्भ बुद्धको समयदेखि सुरु भएको थियो। ती विहार विकास हुने क्रममा काठमाडौं उपत्यकासम्म आइपुग्दा विहारको स्वरूप र विहारसँग सम्बन्धित दर्शनमा धेरै परिवर्तन भयो। यहाँ निर्माण भइरहेको विहार नेपाल मण्डलभित्रको परम्परागत बौद्ध विहारहरूको शैलीमा बनिरहेको छ।
‘लुम्बिनी बुद्धको जन्मभूमि, नेपालको आफ्नै थलो हो। तर, यो स्थानमा नेपालकै बौद्ध वास्तुकला झल्कने विहार निर्माण भएको पाइँदैन। त्यसैले यो स्थानमा नेपालकै बौद्ध र वास्तुकला झल्काउने उद्देश्यले विहार निर्माण गरिरहेका छौं,’ उपाध्यक्ष शाक्यले भने।
ललितपुर र भक्तपुरमा लिच्छवीकालदेखि नै यस्ता किसिमका बौद्ध विहारहरूको निर्माण हुँदै आएको छ। यो विहारमा बौद्ध परम्पराअनुसार धातुकला, काष्ठकला, मूर्तिकला, पस्टरकला, स्तिकाकला लगायतको प्रयोग गरिएको छ।
‘यो बज्रधातु मण्डलको परिकल्पना गरी बनाइएको विहार हो। त्यसैले यो विहारलाई बज्रधातु मण्डलको माथि बनाइएको बौद्ध वास्तुकला पनि भन्ने गरिन्छ। ‘विदेशी लगानीमा बनेका विहारमा छुट्टै किसिमको कला प्रयोग गरिएको छ, त्यसको अर्थ फरक होला। तर, यो विहारमा भएका जति पनि कलाकृति छन्, तिनीहरू सबै बौद्ध ग्रन्थ र शास्त्रमा आधारित छन्। यो नेपालको आफ्नै किसिमको वास्तुकला हो। ती कलाहरूले नेपालको आफ्नै पहिचानलाई प्रस्तुत गरेको छ,’ शाक्यले भने।
यो नेपाली विहार बने यहाँ पुगेपछि जो कोहीले बुद्धको जन्मभूमिमा पुगेको महसुस गर्न सक्ने निर्माणाकर्ताको दाबी छ। शाक्य भन्छन्, ‘यहाँ नेपाली मौलिक कला र संस्कृति जीवन्त देख्न सकिन्छ।’
काठ, ढुंगा र विभिन्न धातुलाई कुदेर मनमोहक नेपाली तौरतरिकाको डिजाइन गरी विहार बनाइँदैछ। ढोका र झ्यालको विभिन्न ठाउँमा ससाना बुद्धको मूर्ति चिटिक्क पारेर कुदिएको छ।
दुई तलाको यात्रु निवास निर्माण गरिसकिएको छ। दुई तल्लाको विहारको पहिलो तलामा गजुरा, छाना, क्जाःपाद्यो बुद्धमूर्ति कुदिएर बनाइसकिएको छ। नेपाली इँटा प्रयोग गरी भवन बनाइएको छ। बज्रधातु मण्डल, बज्रधातु चैत्य, शारीपुत्र मौद्गल्याण मूर्ति, पाँच फिटको बज्रसत्व, सहस्रभुज लोकेश्वर, दिपंगर तथागत, महाकाल मूर्ति, ढुंगामा कुदिएको सिंह मूर्ति बनाएर मूल ढोकाअघि र भित्रपट्टि दुई दुई थाना चिटिक्क सिंगारेर राखिएको छ। दोस्रो तलामा झ्याल, ढोका राख्ने र फिनिसिङको काम बाँकी छ।
काष्ठकलाकर्मीहरूले नेपाली कलासंस्कृति अनुसार डिजाइन तयार गरिरहेको बताएका छन्। मूल ढोका र बाहिरी झ्याल नेपाली परम्परा झल्कने गरी बनाइसकिएको काष्ठकलाकर्मी तथा मूर्तिकार अनिल शाक्यले बताए। उनले विहारको प्रांगणमा बज्रधातु चैत्य र क्वाःपाद्यो मूल ढोका र दायाँवायाँ आँखाी झ्याल बनाइएको जनाए। ‘यो विशुद्ध नेपाली मौलिक परम्परामा बनाइएको बिहार हो। यहाँ आउने पर्यटकले छिट्टै हाम्रो परम्परा र कला संस्कृति देख्न सक्नेछन्,’ उनले भने।
विहार निर्माण समितिका कोषाध्यक्ष पंचवीर सिं तुलाधरका अनुसार अहिलेसम्म जनस्तरबाट १२ करोड रूपैयाँ सहयोग प्राप्त गरिएको र उक्त रकम निर्माणमा खर्च गरिएको छ। यस्तै, विहार निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार र कुमारी बैंकबाट पाँच लाख रूपैयाँ सहयोग भएको छ। अहिलेसम्म विहार निर्माणमा कुल १४ करोड ५९ लाखभन्दा बढी रकम खर्च भइसकेको छ। निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याउन करिब २० करोड रूपैयाँ लाग्ने तुलाधरले जानकारी दिए।
नेपाली कलायुक्त काण्ठकला, मूर्तिकला, परम्परा र संस्कृति यो विहार निर्माण सम्पन्नपछि दैनिकरूपमा नेपाली र बौद्ध परम्पराअनुसार पुजापाठ हुने छ। यस्तै, सर्वसाधारण र लुम्बिनी आउने पर्यटकका लागि विहार खुला गरिने छ। लुम्बिनीमा पहिलो पल्ट आफ्नै परम्पराअुसार विहार बनिरहेकाले यसको महिमा थप बढ्नुका साथै आन्तरिक पर्यटकको रोजाइ बन्ने निर्माणकर्ताको विश्वास छ। आगामी तीन वर्षमा विहार निर्माण गरिसक्ने जनाइएको छ।
कात्तिक २३, २०७७ आइतबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।